भर्खरै :

भक्तपुरको मालपोत र अदालत नक्कली जग्गाधनीको पक्षमा !

भक्तपुर, ८ मंसिर । चाँगुनारायण नपा वडा नं ९, साविक ताथली गाविस ९ अन्तर्गत कित्ता नं ३५८ को क्षेत्रफल १ रोपनी १० आना जग्गा २०२१ सालमा नापी हुँदा भनपा वडा नं १ निवासी लतंकुमार प्रजापतिको नाउँमा जग्गाधनी दर्ता कायम रहेको जग्गा मालपोतका कर्मचारीसँगको मिलेमतोमा चाँगुनारायण नगरपालिका वडा नं ९ साविक ताथली गाविस वडा नं ९ निवासी नाम मिल्ने लतनकुमार साखकर्मीको नाउँमा जग्गाधनी पुर्जा बनाई बेचबिखनसमेत गरेको समाचार छ ।
उक्त जग्गा २०२१ सालभन्दा पहिलेको लगत ८१, ८० र ८३ बाट लतंकुमार प्रजापतिकै नाउँमा भिडेको देखिन्छ भने त्यतिबेला तिरो तिरेको रसिदसमेत लतंकुमार प्रजापतिकै नाउँमा रहेको छ । २०२३ सालमा मालपोतका कर्मचारीसँगको मिलेमतोमा उस्तै नाम भएको लतनकुमार साखकर्मीको नाउँमा पुर्जा बनाइयो । सोझा किसानहरूले एकोहोरो आफ्नो जमिन जोत्दै आए तर अर्काको नाममा जग्गाधनी पुर्जा बनेको थाहा पाएनन् । २०५६ सालमा लतंकुमारका छोराहरूले भिन्न बसेर अंश छुट्याउने क्रममा मात्र सो कुराको जानकारी पाए ।
उक्त जग्गा पुस्तौँपुस्तादेखि लतंकुमार प्रजापतिका परिवारले जोत्दै आएका हुन् भने हालसम्म पनि प्रजापतिकै छोराहरूले जोत्दै आएका छन् । सो जग्गाको फिल्डबुक, अस्थायी निस्सा, अनुसूची १, २, ४ र ७ सबैमा लतंकुमार प्रजापतिकै नाम छ । स्वयम् लतनकुमार साखकर्मीका छोराहरू र स्थानीयले पनि सो जग्गा प्रजापतिकै हो भन्छन् । तर, जग्गा अरूकै नाममा पुगिसक्यो ।
तत्कालीन ताथली गाविसले पनि २०६६ साल ७ महिना १३ गते स्थलगत सरजमिन गरी ‘लतंकुमार प्रजापतिको मृत्युपश्चात् हकदार ५ जना छोराहरूले सो जग्गा जोतकमोत गर्दै आएको हो’ भन्ने व्यहोरा खुल्ने गरी सिफारिस गरेको छ ।
चाँगुनारायण नगरपालिका वडा नं ९ ताथली वडा कार्यालयले पनि लतंकुमारका छोरा रामकृष्ण प्रजापतिले मोही नामसारीको सिफारिस माग गर्दा सो जग्गामा स्थलगत सरजमिन गरी २०७४ कार्तिक ३० गते ‘रामकृष्ण प्रजापतिले नै जोत कमोद गर्दै आएको’ भनी मोही नामसारीको सिफारिस गरेको छ । उक्त सरजमिनमा साँधसँधियार र स्वयम् लतनकुमार साखकर्मीका नाति उत्तम साखकर्मीले समेत ‘सो जग्गा लतंकुमार प्रजापतिका हकदार छोरा रामकृष्ण प्रजापतिले जोती आएको हो’ भनी सरजमिन मुचुल्कामा हस्ताक्षर गरेका छन् ।
सबै कुरा ऐनाजस्तै छर्लङ्ग हुँदाहुँदै पनि २०६१ सालमा उक्त जग्गा लतनकुमार साखकर्मीका छोराहरूले नेपाली काङ्ग्रेसका नेता होमनाथ दाहालका आमा सुधाकुमारी दाहाललाई बेचे । त्यसपछि उनले पनि सो जग्गा ५÷६ जनालाई टुक्रा गरी बेचिन् । त्यसपछि प्रजापतिहरूले दुषित दर्ता, लिखत बदर, जालसाजीलगायत विषयमा भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरे । तर, जिल्ला अदालत भक्तपुरले हदम्याद नाघेको कारण देखाई प्रजापतिहरूलाई हराई दियो । अदालतले सो जग्गा कसले जोतिराखेको छ भन्ने बुझ्ने काम गरेन । जनताले यस्तो अदालतबाट के अपेक्षा गर्ने ? जग्गाको गलत दर्ता गर्ने मालपोतका तत्कालीन कर्मचारी र खास जग्गाधनीलाई हराउने जिल्ला अदालत भक्तपुरका न्यायाधीशहरूमाथि किन कारबाही हुँदैन ?
“प्रजापतिहरूले आफ्नो जग्गा अर्काको नाममा कसरी दर्ता भयो ?” भनी मालपोत कार्यालय भक्तपुरमा खोजबिन गरे तर मालपोतका कर्मचारीहरूले फाइल भेटिएन भन्ने जवाफ दिए । मालपोतका कर्मचारीहरूले पैसा खाएरै उक्त फाइल बेपत्ता पारेको प्रजापतिका परिवार गुनासो गर्छन् । पैसाको लोभमा मालपोतका कर्मचारीहरूले महत्वपूर्ण फाइल गायब बनाउने गरेको कुरा त पुरानै हो ।
लतंकुमार प्रजापति जग्गाधनी रहेको सो जग्गाको मोही महलमा लतंकुमार प्रजापतिकै नाउँ थियो । प्रजापतिका छोराहरूले सबै जग्गा पाउन नसके आफ्नो नाममा मोही कायम रहेको आधा जग्गा भए पनि पाउनुपर्छ भनी २०७४ सालमा भूमिसुधार कार्यालय भक्तपुरमा मोही नामसारीको निम्ति चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीको सिफारिससहित निवेदन दिए । तर, ४ वर्ष बितिसक्दा पनि उक्त मुद्दा तारेखमै छ । अहिले कर्मचारीसँगको मिलेमतोमा मोही लगत पनि कट्टा गरिसकेको जानकारी भयो । २०६५ सालमै मोही लगत कट्टा भइसकेको रहेछ । जबकि, त्यो जग्गाको अस्थायी निस्सा लतंकुमार प्रजापतिकै नाममा छ । मोहीको महत्वपूर्ण कागजात अनुसूची १ मा पनि जग्गाधनी लतंकुमार प्रजापतिको नाउँ छ । अनुसूची २, ४ र ७ मा समेत लतंकुमार प्रजापतिकै नाम छ । यस्तोमा मोही लगत कसरी कट्टा हुन्छ ? पीडितहरू प्रश्न गर्दै छन् । भूमिसुधार कार्यालय भक्तपुरको च.नं ४३६९ मिति २०५५।११।८ को पत्रबाट मोही लगत कट्टा भइसकेको भन्ने जानकारी मालपोत कार्यालयले दिएको छ । के कारणले मोही लगत कट्टा भएको हो सोबारे मालपोत कार्यालयका कर्मचारीले बताउन सकेका छैनन् । कर्मचारीहरूले पैसा खाएरै नियमविपरीत लगत कट्टा गरेको देखियो ।
मालपोत कार्यालय, अड्डा अदालतबाट भएका यस्ता व्यवहारले सोझा किसानहरू मर्कामा परेका छन् । मालपोत, भूमिसुधार र अड्डाअदालतप्रति जनताले विश्वास गर्न सकेका छैनन् । भ्रष्ट कर्मचारीहरूले अड्डाअदालतलाई सत्यको पक्षमा भन्दा पैसाको पक्षमा वकालत र फैसला गर्ने थलोको रूपमा परिणत गर्दै छन् । पुस्तौँदेखि जोत्दै आएको जग्गा देखादेखी अरूको हातमा पु¥याउने भ्रष्ट कर्मचारीहरूलाई पक्राउ गरी कडा कारबाही गर्नुका साथै पीडितलाई न्याय दिलाउनुपर्ने माग जनताको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *