भर्खरै :

निः शुल्क र गुणस्तरीय शिक्षाबारे

कम्युनिस्टहरूले जनताको निःस्वार्थ सेवा गर्न यमराजको पनि ढोका घच्घच्याउने आँट गर्नुपर्छ । जनताको सेवा गर्न कसैसँग डराउनु पर्दैन, डराउनु हुँदैन । डरायो भने उसले काम गर्नसक्दैन । भक्तपुर नगरपालिका (त्यसबेला भक्तपुर नगर पञ्चायत) ले पञ्चायत कालमा २०४३ तिरै भक्तपुर नगरमा निमावि तहसम्म निःशुल्क शिक्षा प्रदान गरेको थियो । पञ्चायती व्यवस्थाको लागि यो ठूलो हाँक थियो । जनताको यो सेवा पञ्चायती पृष्ठपोषकहरूको लागि सधैँ आँखामा बिझिरहने कसिङ्गर साबित भयो । सेवाबाट तिरमिराएका प्रतिक्रियावादीहरूले नेमकिपालाई नस्ट गर्न राज्यस्तरबाटै २०४५ सालमा षड्यन्त्रमूलक भक्तपुर काण्ड रचेका थिए ।
नेपाल मजदुर किसान पार्टीले निःशुल्क शिक्षा पाउने व्यवस्थाको लागि सुरुदेखि जनताको आवाज राख्दै आएको हो । नेमकिपाले सबै गरीबका छोरा छोरीहरूले सुलभरूपमा पढ्न पाउने, समयअनुसारको शैक्षिक गुणस्तर बढाउन मावि तहसम्म निःशुल्क र अनिवार्य तथा स्नातकोत्तर तहसम्म निःशुल्क पढाउने व्यवस्था गर्न सरकारसँग माग गर्दै आएको जगजाहेर छ । सरकारले आधारभूत तहसम्म निःशुल्क र अनिवार्य तथा मावि तहसम्म निःशुल्क पढ्न पाउने मौलिक हकको व्यवस्था गर्नुपर्ने थियो । तर, व्यवहारमा अझै रूपान्तरण भइरहेको अवस्था छैन ।
नेपालको शैक्षिक स्तरमा सुधार नहुनु र गुणस्तर वृद्धि नहुनुमा शासक दलहरू नै जिम्मेवार छन् ।
शासकहरूले हरेक क्षेत्रमा गुट उपगुटको नाममा भागबन्डा गरिरहेका छन्, पद प्राप्तिमा ध्यान दिइरहेका छन् । प्रत्यक्ष या अप्रत्यक्षरूपमा उनीहरू र सरकारका उच्च तहका कर्मचारी भनिएकाहरू अंशियार भएर, कमिसन खाएर निजी शैक्षिक संस्थानहरूलाई प्राथमिकता दिइरहेका छन् । त्यस्ता शैक्षिक संस्थाहरूमा बहुसङ्ख्यक गरिब र सक्षम विद्यार्थीहरूको पहुँच हुँदैन । अनि त्यस्ता शैक्षिक संस्थानबाट उत्तीर्ण भएका कति विद्यार्थीहरू नेपाली माटोको सेवा गर्छन् ।
नेपालको डाँवाडोल शैक्षिक स्तरलाई उकास्ने हो भने, गुणस्तरलाई वृद्धि गर्ने हो भने सरकारले राज्यको तलब सुविधा खाने राष्ट्रपतिदेखि खरदारसम्मका पदाधिकारीका सन्तानहरू सरकारी विद्यालय, क्याम्पस तथा विश्वविद्यालयहरूमा अनिवार्य पढाउनुपर्ने व्यवस्था कडाइका साथ लागू गर्नुपर्छ, त्यसको अनुगमन पनि कडाइका साथ हुनुपर्छ ।
तर, आफ्नो सिद्धान्त र विचारअनुसार तन, मन, धन लगाएर इमानदारीका साथ सेवा गर्ने भावना राखेमा गर्न नसकिने केही छैन । यसको उदाहरणमा भक्तपुर नगरपालिका छ । नेमकिपाका जनप्रतिनिधिहरू बहुमत जितेर गएको भक्तपुर नगरपालिकाले २०५६ सालमा ख्वप उमावि सञ्चालन गर्याे । हाल देशकै स्थानीय तह÷सरकारद्वारा सञ्चालित पहिलो उत्कृष्ट शैक्षिक संस्थाको रूपमा ख्वप मावि, ख्वप इन्जिनियरीङ्ग कलेज, ख्वप कलेज अफ इन्जिनियरङ्गि, ख्वप नर्सिङ्ग कक्षा आदि सञ्चालित छन् । यहाँ हिमालदेखि तराईसम्म, मेचीदेखि महाकालीसम्मकै विद्यार्थीहरूले सस्तो र गुणस्तरीय शिक्षा हासिल गरिरहेका छन् ।
भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय स्वीकृतिको लागि आवाज उठाइरहेको छ । तर, सरकारले स्वीकृति दिएको छैन । सरकारले भनपालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्ने स्वीकृति दिएको खण्डमा ५०–६० लाख खर्च हुने एमबीबीएसको पढाइ भनपाले १५–१६ लाखमै हुने विश्वास दिलाएकै हो ।
ख्वप विश्वविद्यालय खोल्न भक्तपुर नगरपालिकालाई स्वीकृति दिइएको भए नेपाली जनताको निःस्वार्थ सेवा गर्ने धेरै डाक्टरहरू उत्पादन भइसके होलान्, नेपालको दूर दराजमा गएर गरिब जनताको सेवा गरिरहेका होलान् । तर, ख्वप विश्वविद्यालय सञ्चालन गर्न भक्तपुर नगरपालिकालाई आजसम्मका सरकारहरूले स्वीकृति दिएनन् । उनीहरू पुँजीपति वर्गलाई पोस्ने वर्ग भएकाले पनि स्वीकृति नदिएको हो । सर्वहारा वर्गको आँसु पुछ्ने विचार र सिद्धान्त बोकेको कम्युनिस्ट भनिएका सरकारहरूले ख्वप विश्वविद्यालय सञ्चालन गर्न स्वीकृति दिने हिम्मत गरेनन् । बरु, यी सरकारहरूले पूर्वाधारै नभएका निजी कलेज र विश्वविद्यालयहरू खोल्न स्वीकृति दिए ।
भनपाले भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनीको जग्गामा विश्वविद्यालय सञ्चालन गर्ने माग गरिरहेको हो । कोभिडको कारण नेपाली जनतालाई सङ्कट परिरहेको बेला तत्काल अक्सिजनको प्लान्ट स्थापना गर्न नगरपालिकालाई देश विदेशका नेपाली जनताले सहयोग गरे । अहिले आधुनिक र सुविधासम्पन्न नगरपालिकाकै ख्वप अस्पताल पूर्णतः सञ्चालन हुने तयारीमा छ । त्यसैले भक्तपुर नगरपालिकालाई सल्लाघारीको जग्गामा ख्वप विश्वविद्यालय सञ्चालन गर्न छिटोभन्दा छिटो स्वीकृति देओस् भन्ने नेपाली जनता चाहन्छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *