भर्खरै :

कोभिड र इन्फ्लुएन्जाको सङ्क्रमण बढ्न सक्छ, सजग रहौँ

नेपालमा अहिले कोरोना भाइरस सङ्क्रमण दर केही कम भएको देखिएको छ । नेपालमा अहिले कोरोना भाइरस सङ्क्रमण कम देखिनुमा दुईवटा प्रमुख कारण रहेका हुनसक्छन् । पहिलो, धेरै नेपालीमा कोरोना भाइरस सङ्क्रमण भइसकेकाले शरीरमा एन्टिबडी कायम रहनु । दोस्रो, खोप लगाउनेहरूको सङ्ख्या बढ्नु ।
केही अघिको ‘सीरो–प्रिभलन्स सर्भे’ ले पनि ६८ प्रतिशतलाई सङ्क्रमण देखाएको थियो । खोपको प्रयोग र कोभिड भइसकेकाले धेरै व्यक्तिमा अहिले एन्टिबडी रहेकाले सङ्क्रमण कम देखिन थालेको भाइरस रोग विशेषज्ञहरूको भनाइ छ । तर, विभिन्न देशहरूमा गरिएका अध्ययनले कोभिड भएर वा खोप लगाएर विकास भएको प्रतिरोधी क्षमता बिस्तारै कम हुँदै जाने देखाएको छ । जाडो मौसममा भाइरसहरू सक्रिय हुने भएकोले विशेषगरी दीर्घरोगी र ज्येष्ठ नागरिकहरूमा कोरोना भाइरस सङ्क्रमण बढ्न सक्ने अनुमान गरिएको छ ।
जाडोमा झ्यालढोका लगाएर बस्ने तथा मानिसहरू एउटै कोठामा गुम्सिएर बस्ने गर्दा सङ्क्रमण हुने दर पनि बढ्न सक्ने भएकोले सतर्क हुनुपर्ने आवश्यकता छ । चिसो मौसममा कोरोना भाइरससँगै इन्फ्लुएन्जा र श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने अन्य भाइरसहरू बढी सक्रिय बन्ने विज्ञहरू बताउँछन् । त्यस्ता भाइरसले गराउने सङ्क्रमणबाट बच्न विशेष सतर्कता अपनाउनुपर्ने उनीहरूको सुझाव छ । चिकित्सकहरूका अनुसार जाडो महिनामा कोभिड–१९ बाहेक अन्य सङ्क्रमण पनि हुनसक्छन् । यसबेला विशेषगरी श्वासप्रश्वाससम्बन्धी भाइरसहरू नै सक्रिय बन्ने भएकोले त्यससँग सम्बन्धित सङ्क्रमणको डर धेरै हुने उनीहरू बताउँछन् । चिकित्सकहरूको भनाइमा चिसो बढी हुने र पानी कम पर्ने मौसम भएकोले यस बेलामा छाला तथा आँखासम्बन्धी सङ्क्रमण पनि हुनसक्छ । कोभिडपछि जाडोमा हुनसक्ने अर्को घातक सङ्क्रमण इन्फ्लुएन्जा भाइरसको भएको विज्ञहरूको भनाइ छ ।
तस्बिर : अनलाइन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *