भर्खरै :

प्रजग कोरियाली राजदुत भक्तपुर नपामा

भक्तपुर, साउन १ गते ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपालस्थित प्रजातान्त्रिक कोरियाली राजदूत किम योङ हकबीच आइतबार नगरपालिकाको कार्यकक्षमा भेटवार्ता भयो ।
भेटमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरबासीहरुको तर्फबाट साँस्कृतिक नगर भक्तपुरमा महामहिम राजदूतलाई स्वागत गर्दै जुच्छे विचारधाराका प्रवर्तक किम इल सङ र सोन्गुन नीतिका प्रतिपादक किम जङ इलप्रति उच्च सम्मान व्यक्त गर्नुभयो ।
उहाँले कोरियाली प्रायद्विपमा संरा अमेरिकी साम्राज्यवादले पटक पटक युद्धको धम्की दिइरहेको अबस्थामा पनि कोरियाली जनता र त्याहाँको नेतृत्व अलिकति पनि विचलित नभई आफ्नो देशको स्वतन्त्रता र स्वाधीनताको लागि आणविक परीक्षण गरेकोमा नेपाली जनता र विश्वभरका न्यायप्रेमी जनताको साथ र समर्थन रहेको प्रष्ट पार्नुभयो ।
उहाँले कोरियाली जनताको साम्राज्यवाद विरोधी र देशभक्तिपूर्ण संघर्षबाट नेपाली जनताले पाठ सिकिरहेको बताउनुभयो ।
राजदूत हकले नवनिर्वाचित प्रमुख प्रजापति र सम्पूर्ण जनप्रतिनिधिहरुलाई बधाइ ज्ञापन गर्नुभयो । उहाँले भक्तपुर नगरपालिका र कोरियाली प्योङसङ नगरबीच सन् २०१४ मा भगिनी सम्बन्ध स्थापना भएको स्मरण गर्दै दुई शहरका जनताबीच साँस्कृतिक सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
हरेकपल्ट भक्तपुर आउँदा आफ्नो जन्मभूमि आएको महशुस हुने उल्लेख गर्दै राजदूत हकले प्रजग कोरियाबारे पश्चिमी संचारमाध्यमले भ्रामक समाचारहरु सम्प्रेषण गरिरहँदा समेत भक्तपुरका जनताले कोरियाली जनताप्रति ऐक्यवद्धता प्रकट गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
भेटमा प्रमुख प्रजापतिले राजदूतलाई नगरपालिकाको तर्फबाट उपहार प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *