भर्खरै :

ओमिकर्नको मुहान : खोपमा असमान वितरण

यो वर्ष सन् २०२१ को सुरुवातबाट संसारका धेरै धनी देशहरूमा कोभिड–१९ को खोप लगाउन थालियो । वर्षको मध्यावधिसम्ममा खोप व्यापकरूपमा उपलब्ध भएपछि सरकारहरूले अब महामारी समाप्त हुँदै जाने अनुमान गरेका थिए ।
तर, पछि डेल्टा भेरियन्टको सङ्क्रमण बढेसँगै धेरै सरकारले महामारी रोकथामको योजना पुनः थालनी गर्नुपरेको थियो । संसारका धेरै देशका कतिपय मानिस कोभिड–१९ को खोप लगाउन अनकनाइरहेका थिए । त्यस्तै सङ्क्रमण अघि वा खोप पछि मानिसको रोग प्रतिरोधात्मक क्षमता घट्दै गएको देखियो । त्यसकारण, खोपको विद्यमान अवस्थाले मात्र महामारी रोक्न पुग्ने अवस्था रहेन ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूले केही समयदेखि भाइरसलाई संसारभर अनियन्त्रितरूपमा फैलिन दिने हो भने भाइरसले अझ खतरनाक रूप धारणा गर्नसक्ने चेतावनी दिंदै आएका छन् । त्यस्तो खतरनाक भाइरसले खोपबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमता पनि नष्ट गर्नसक्छ अथवा मानिसको प्राण लिने खालको पनि हुनसक्छ ।
त्यसको अर्थ यदि गरिब देशहरूलाई खोप नदिने हो भने कोरोना भाइरसका अनेक प्रजाति फैलिनेछ जसले विश्वको जनस्वास्थ्यलाई सजिलै प्रभावित बनाउनेछ । सोच्दा यो भयानक कल्पनाजस्तो लागे पनि धेरै चाँडै यो वास्तविकता बन्न बेर छैन ।
नोभेम्बर २६ मा विश्व स्वास्थ्य सङ्गठनले नयाँ बी.१.१.५२९ कोरोना भाइरस फेला परेको बतायो । दक्षिण अफ्रिकामा पहिलो पटक फेला परेको यो प्रजातिको कोरोना भाइरसको नाम ‘ओमिकर्न’ राखियो । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘संवदेनशील भाइरस’ (भेरियन्ट अफ कन्सर्न) घोषणा ग¥यो । यो भेरियन्ट अहिलेसम्म फेला परेका प्रजातिमध्ये सबभन्दा ‘जटिल’ र ‘चिन्ताजनक’ भेरियन्ट भएको बताइयो । ओमिकर्न जहाँ जहाँ पुगिसकेको छ, ती ठाउँमा यो प्रजाति चाँडै नै हाबी हुनेछ ।
यो प्रजातिको सबभन्दा चिन्ताजनक कुरा के हो भने यसका तीसभन्दा बढी उत्परिवर्तित स्पाइक प्रोटिन छन् । यी प्रोटिन मानिसको कोषमा सजिलै प्रवेश गर्ने माध्यम हुन् । अहिले हामीसँग भएका खोप मानिसको प्रतिरोधात्मक क्षमता सक्रिय बनाउनमा मात्र बढी केन्द्रित छन् । ओमिकर्नमा धेरै उत्परिवर्तित स्पाइक हुनुको अर्थ मानिसको प्रतिरोध क्षमताले त्यसलाई नचिन्न सक्छ ।
यसको अर्थ सङ्क्रमणलाई रोकेको पर्खाल भत्काउनु हुनसक्छ । डेल्टा भेरियन्ट हाबी हुनु र प्रतिरोध क्षमता कमजोर हुनु अहिले नै चिन्ताको विषय बनिसकेको छ । यदि अहिले हामीसँग भएका खोपमा सुधार नगर्ने हो भने ओमिकर्नको उदयले अवस्था थप जटिल बन्न सक्छ । यसको अर्थ स्वास्थ्य अवस्था थप खराब बन्दै जानेछ । धेरै मानिसले मृत्युको मुखमा पुग्नुपर्नेछ र अस्पताल भर्ना हुनुपर्नेछ ।
नयाँ प्रजाति भेटिएको कुरा हामीलाई सातादिनमा मात्र थाहा भयो । तर, अवस्था भने अझै पनि पूर्णतः नियन्त्रणमा छ र अहिलेकै अवस्थामा त्यसमाथि लगाम लगाउन सक्छौँ । विश्वका जनस्वास्थ्य विज्ञहरूले खोपलाई अझै पनि समतामूलक ढङ्गले वितरण नगर्ने हो भने महामारीको अवस्था फेरि पनि बिग्रन सक्ने चेतावनी दिइरहेका छन् ।
बेलायतका पूर्वप्रधानमन्त्री गोर्डन ब्राउनले यो विषयमा लेख लेखेर धनी देशहरूले खोप सबै आफ्नो वशमा राखेको र बढी भएको खोप नष्टसमेत गरे तर गरिब देशहरू भने अझै कम्तीमा एक मात्रा खोप लगाउन पनि कुरिरहेको लेखेका छन् । उनले संसारका ९२ गरिब देशहरूलाई खोप दिने वाचा गरेका जी ७ देशहरूले २५ प्रतिशतमात्र आफ्नो वाचा पुरा गरेको लेखेका छन् । जी ७ देशहरूले गएको जून महिनासम्ममा आफ्नो वाचा पूरा गर्नुपथ्र्यो ।
न्यून आयका देशहरूका ३ प्रतिशत जनताले मात्र हालसम्म पूर्ण मात्रा खोप लगाएका छन् । तर, उच्च आय र उच्च मध्यम आय भएका देशहरूका ६० प्रतिशतभन्दा बढी मानिसले कोभिडको खोप लगाइसकेका छन् । ब्राउन अझ अघि लेख्छन्, आपूर्ति बन्द भएर वा उत्पादन ठेक्का नभएर होइन बरु संसारका धनी देशहरूले एकाधिकार जमाएको कारण त्यस्तो अभाव सामना गर्नुपरेको हो ।
संसारका वैज्ञानिक र स्वास्थ्यविज्ञहरू कोभिड–१९ को प्रतिरोधको लागि सबै जना एकजुट भएर युद्धस्तरमा काम गर्न आह्वान गर्दै छन् । तर, संसारका धनी देशहरू भने खोप राष्ट्रवाद लागु गरिरहेका छन् । राजनीतिक हिसाबले त्यसो गर्नु उपलब्धिमूलक भए पनि र आफ्नो देशका जनताको सुरक्षाको निम्ति गरिएको जस्तो देखिए पनि यदि न्यून प्रतिरोध क्षमता भएका देशहरूमा यो नयाँ भेरियन्ट फैलिए त्यसले ठूलो प्रभाव पार्नेछ ।
दक्षिण अफ्रिका र वरपरका देशहरूमा खोप लगाउने मानिसको सङ्ख्या न्यूनमात्र होइन, सब सहारा अफ्रिका क्षेत्रमा एचआईभी÷एड्सका बिरामीको सङ्ख्या पनि बढ्दो छ । त्यही क्षेत्रमा ओमिकर्नको प्रादुर्भाव भएको छ । वैज्ञानिकहरूका अनुसार एड्सको कारण पनि प्रतिरोध क्षमता कमजोर भएका व्यक्तिहरूमा ओमिकर्न प्रजातिको उत्परिवर्तन भएको हुनसक्छ ।
जे भए पनि अहिलेसम्ममा यो भाइरस रोकथामको निम्ति ढिला भइसकेको छैन । डेल्टा भेरियन्ट पत्ता लगाउन वैज्ञानिकहरूलाई धेरै समय लागेको थियो । फलतः भारतमा निकै डरलाग्दो लहर फैलिएको थियो । डेल्टाको आणुवंशिक सूत्र पत्ता लाग्दासम्म त्यो संसारभर फैलिसकेको थियो । दक्षिण अफ्रिकी वैज्ञानिकहरूले ओमिकर्नको आणुवंशिक सूत्र शीघ्रातिशीघ्र पत्ता लगाउन सफल भए । त्यसकारण, ओनिकर्नलाई नियन्त्रणमा लिन सकिनेमा सबै आशावादी छन् ।
संसारका सरकारहरूले ओनिकर्नको प्रतिरोधलाई गम्भीरतापूर्वक लिन जरुरी छ । त्यसको विस्तारलाई नियन्त्रण गर्नुपर्छ । संसारको स्वास्थ्य समतामा सुधार गर्न थप गम्भीर कदम चाल्न जरुरी छ । त्यसको अर्थ सबभन्दा पहिला गरिब देशहरूलाई खोप सहायता बढाउनुपर्छ । खोपको कुनै पनि मात्रा खेर पठाउनुहुन्न । रोग फैलिन नदिन अन्तर सिमाना सहकार्य प्रवद्र्धन गर्नुपर्छ । आगामी नोभेम्बर २९ मा हुने विश्व स्वास्थ्य सभा यस्तो समन्वयनको सुवर्ण अवसर हुनसक्छ ।
यो अवस्थाले फेरि पनि उही मन्त्र दोहो¥याउनुपर्ने बनाएको छ–‘हामी सबै सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित छैनौँ ।’
(लेखक अमेरिकी पत्रकार र राजनीतिक विश्लेषक हुनुहुन्छ ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुशिला 

Leave a Reply

Your email address will not be published. Required fields are marked *