भर्खरै :

एमाले अर्थात् रातो झन्डा खसाल्न उठाइएको रातो झन्डा

चर्चा एमाले महाधिवेशनकै । वामपन्थी अवसरवादको अवसान दक्षिणपन्थी अवसरवादमा हुने गर्छ । झापा विद्रोहबाट सुरु भएको एमालेको उग्रवामपन्थी अवसरवादको यात्रा चार दशकको समयान्तरमा दक्षिणपन्थी अवसरवादमा पतन भएको छ । वर्गसङ्घर्षको नाममा व्यक्तिहत्यालाई नै क्रान्ति भनी परिभाषा गरेको झापा गुटको आधारशीलामा हुर्केको एमाले आज वर्गसमन्वयवादमा चुर्लुम्म डुबेको छ । शत्रुको टाउको गिड्नुलाई नै वर्गसङ्घर्ष मानेको माले समूह आज वर्गशत्रुसँग हातेमालोको राजनीति गरिरहेको छ । यसर्थमा नेपालको कम्युनिस्ट आन्दोलनमा एमाले सैद्धान्तिक विचलनको अर्को शिलशिला हो । माझी प्रवृत्तिबाट सुरु भएको वैचारिक विचलनको शिलशिला एमालेसम्म आइपुग्दा उत्कर्षमा पुगेको छ ।
संशोधनवादले विश्वको कम्युनिस्ट आन्दोलनलाई कहिल्यै लाभ पु¥याएको छैन । सोभियत संशोधनवादले संसारका श्रमिक वर्गको गौरव बनेको अक्टोबर क्रान्ति र सोभियत सत्तालाई नष्ट ग¥यो । पूर्वी युरोपमा संशोधनवादी नेतृत्वकै कारण समाजवादी व्यवस्थामात्र ढलेन, ती देशहरू साम्राज्यवादी शक्तिको क्रिडास्थलसमेत बने । अफसोचको कुरा के हो भने संशोधनवादीहरू पनि रातो झन्डा बोक्न कहिल्यै छोड्दैनन् । उनीहरू आफूलाई कम्युनिस्ट भन्न कहिल्यै छोड्दैनन् । नक्कली जोगीले बढी खरानी घसेजस्तै संशोधनवादीहरू अझ बढी आफुलाई कम्युनिस्ट देखाउन अनेकन प्रचारबाजी गर्छन् । तर, उनीहरूले क्रान्तिको झन्डा बोकेर क्रान्तिलाई कमजोर बनाउँदै गएका हुन्छन् । संशोधनवादीहरूले सबभन्दा ठूलो आकारको हँसिया र हथौडा अङ्कित झन्डा बोकेर क्रान्तिको मूल विचार र कार्यभारको बद्नाम गर्दै प्रतिक्रान्तिकारी विचारलाई बलियो बनाउँछन् । संशोधनवादीहरूले क्रान्तिको विचारलाई भुत्ते बनाउने भएकोले पुँजीपति र साम्राज्यवादीहरू पनि उनीहरूलाई मलजल गरिरहेका हुन्छन् । संशोधनवाद बलियो हुनु भनेको कम्युनिस्ट आन्दोलन कमजोर हुनु हो । एमाले बलियो हुनु भनेको नेपाली समाजमा समाजवादी क्रान्ति पछाडि धकेलिनु हो । एमाले शक्तिशाली हुुनु भनेको क्रान्तिको विचार कमजोर हुनु हो । एमालेको पदचिह्न पछ्याउँदै नेकपा माओवादी पनि संशोधनवादको यात्रामा अघि बढिरहेको छ ।
राजनीतिक र सैद्धान्तिकरूपमा अझै सचेत बन्ने क्रममा रहेका नेपाली जनता एमाले र माओवादीका छटु विचारको घातक आन्तर्य बुझ्न नसकेर ‘रातो राम्रो गुलियो मीठो’ मा भुल्न छोडेका छैनन् । विचार र कार्यक्रममा भन्दा हाहा र हुहुमा लागेर संशोधनवादी दलले मानिसको भीड जम्मा गर्नु आश्चर्यको कुरा होइन । जुन दिनसम्म संशोधनवादको ‘चम्किलो कपडा’मा भुलेर जनताले क्रान्तिकारी विचारलाई ध्यान दिंदैनन्, क्रान्तिकारी परिस्थिति टाढिँदै जानेछ ।
वर्गसङ्घर्षलाई ओझेल पारेर समन्वयवादलाई प्रश्रय दिनु संशोधनवादको धर्म हो । उनीहरू त्यसैको निम्ति साम्राज्यवादी शक्तिका प्रिय हुन्छन् । त्यसकारण, देशमा वैज्ञानिक समाजवाद हुँदै साम्यवादी समाज स्थापना, सामाजिक न्याय र आर्थिक समानताका लागि सङ्घर्षरत साम्राज्यवादको विरोधमा लडिरहेका क्रान्तिकारीहरूले संशोधनवादविरुद्ध धावा बोल्नु उनीहरूको जिम्मेवारी हो । संशोधनवादविरुद्धको सङ्घर्ष हरेक देशका कम्युनिस्टहरूको निम्ति कष्टसाध्य सङ्घर्ष हो । देखिने शत्रुभन्दा नदेखिने शत्रुविरुद्ध लड्न गाह«ो भएजस्तै संशोधनवादविरुद्ध लड्न पनि कम्युनिस्टहरू ज्यादै संवेदनशील र धैर्यवान हुनुपर्छ । त्यसको निम्ति लगातारको सक्रियता, क्रान्तिकारी विचारको अथक प्रचार, जनतासँगको निकटता, कानुनी र गैरकानुनी सङ्घर्ष, सैद्धान्तिक सङ्घर्षका उर्लिदो छालबीच वैचारिक मन्थनको खाँचो छ । संशोधनवाद उर्लिएर आएको बेला कम्युनिस्टहरू कुनै सुरक्षित कुनामा चुपचाप बस्दा कतिबेला हुत्याउने हो, पत्तो हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *