भर्खरै :

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी सुरु

काठमाडौँ, १२ मंसिर । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनका लागि निर्वाचन कार्य तालिका स्वीकृत गरेको छ ।
आयोगको मंसिर ७ गतेको बैठकले निर्वाचन तयारी गर्न आन्तरिक प्रयोजनका लागि कार्य तालिका स्वीकृत गरेको प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो । सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ १२ गतेका लागि घोषणा गरिसकेको छ । निर्वाचनलाई अघि बढाउने सन्दर्भमा आयोगले आवश्यक निर्देशिका र कार्यविधिको कामसमेत अघि बढाएको छ । केही समयपछि आयोगले निर्वाचन कार्यक्रमसमेत प्रकाशित गर्नेछ ।
उन्नानसाठी सदस्यीय राष्ट्रियसभाका एक तिहाई सदस्यको कार्यकाल आगामी फागुन २० गते समाप्त हुँदै छ । कार्यकाल समाप्त हुनेमा अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, कोमल वली, खीमबहादुर विक, चक्रप्रसाद स्नेही, चन्द्रबहादुर खड्का, जीवन बुढा, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट, दीनानाथ शर्मा, नैनकला ओझा, परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी, रामलखन चमार, शशीकला दाहाल, शान्तीकुमारी अधिकारी, शेरबहादुर कुँवर र सुमनराज प्याकुरेल हुनुहुन्छ ।
सरकारको सिफारिसबाट विज्ञका रुपमा मनोनित सदस्य रामनारायण विडारीको पनि चार बर्षे कार्यकाल फागुन २० गते नै पूरा हुँदै छ । राष्ट्रियसभा सदस्यको कार्यकाल छ वर्ष भए पनि २०७४ सालमा पहिलो पटक गोला प्रथाद्वारा दुई, चार र छ वर्षका लागि कार्यकाल निर्धारण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *