भर्खरै :

अझै हुन सकेन प्रभावकारी सुनुवाइ

काठमाडौँ, १३ मंसिर । सर्वोच्च अदालतमा सोमबार अधिकांश न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरणसहित सबैखाले मुद्दामा सुनुवाइ गरे पनि अझै प्रभावकारी ढङ्गले मुद्दामा सुनुवाइ हुन सकेको छैन ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको थियो । उहाँले आठवटा इजलासमा सातवटा संयुक्त र एउटा एकल इजलास पेसी तोक्नुभएको थियो । तीमध्ये पाँचवटा संयुक्त इजलासमा एकदमै न्यूनमात्र मुद्दामा सुनुवाइ भएको छ भने दुई संयुक्त र एकल इजलासमा सुनुवाइ प्रारम्भ नै गरिएको छैन ।
गत कार्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालय सुधारको माग राख्दै न्यायाधीशहरूले इजलासमा बस्न इन्कार गर्नुभएको थियो । अहिले मुद्दाको प्रभावकारी सुनुवाइ हुन नसक्दा न्यायका उपभोक्ता मारमा परेका छन् ।
प्रधानन्यायाधीश जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरूको मंसिर २ गते बिहीबारको पूर्ण बैठक (फूलकोर्ट) ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो । उक्त निर्णय सोमबार राजपत्रमा प्रकाशित भइसकेको छ । अदालतको पूर्ण बैठकले मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोक्ने निर्णय गरिसकेको छ ।
सर्वोच्च अदालतको गत कार्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो । पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । अदालतमा मुद्दाको चापअनुसार नियमितरूपमा बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राहीहरू मर्कामा परेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *