भनपाद्वारा शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड
- जेष्ठ २७, २०८३
भक्तपुर, १४ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वि.सं. २०२२ साल माघ १० गते स्थापना भएको नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैङ्क लि. कमलविनायक शाखा कार्यालयको मङ्गलबार एक समारोहबीच समुद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख प्रजापतिले सरकारको पूर्ण स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो बैङ्कले आगामी दिनहरूमा जनताको विश्वास जितेर जनउत्तरदायी र पारदर्शी ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्दै देशको अर्थतन्त्र विकासको लागि बैङ्कले उपयोगी कदमहरू चाल्दै जानेमा विश्वास व्यक्त गर्नुभयो ।
बैङ्क तथा वित्तीय संस्थाहरू राज्य व्यवस्थाको स्नायु केन्द्रको रूपमा रहेको औँल्याउँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आफ्ना सबै आर्थिक कारोबार नेपाल सरकारबाट सञ्चालिक बैङ्कमार्फत गर्दै आइरहेको बताउनुभयो ।
नेपालले केही अरब रूपैयाँको निम्ति आफ्नो स्वाभिमान बेच्न नहुने तर्क राख्दै उहाँले एमसीसी अमेरिकी रणनीतिअन्तर्गतको सैनिक गठबन्धनको एक अङ्ग भएको हुँदा देशभक्त नेपाली जनता एकजुट भएर एमसीसीको विरुद्धमा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।
लामो समयदेखि सिंहदरबारभित्र भारतीय लगानी रहेको निजी बैङ्कले मात्रै कारोबार गर्दै आएकोमा हाल पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कमार्फत कारोबार सुरु हुनु सकारात्मक कदम भएको बताउँदै उहाँले विदेशी बैङ्कलाई पूर्णरूपमा छुट दिए देशका अन्य बैङ्कहरू डुब्ने खतरा रहेको औँल्याउनुभयो ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैङ्कले नेपालको ७७ वटै जिल्लाहरूमा आफ्ना शाखाहरू विस्तार गर्दै लाने उद्देश्य राखेको बताउँदै औद्योगिक, व्यापारिक तथा पुँजी बजार, कर्जालगायत अन्य क्षेत्रहरूमा ग्राहकहरूलाई विविध बैङ्किङ सेवा पु¥याउँदै आएको उहाँले बताउनुभयो । भक्तपुर नपाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको कार्यहरू प्रशंसनीय भएको उल्लेख गर्दै उहाँले भक्तपुरबाट अरू स्थानीय तहहरूले सिक्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले जनताको सेवाको निम्ति गरिएको शाखा विस्तारको व्यवसायिक सफलताको कामना गर्दै वित्तीय सङ्घ संस्थाहरू जनउत्तरदायी र जनताको विश्वास कायम गर्ने ढङ्गले सञ्चालित हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय वाणिज्य बैङ्क प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिव मानन्धर, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, बैङ्कका जितेन्द्रसिंह थापालगायतले बैङ्कको उद्देश्यहरूमाथि प्रस्ट पार्नुभएको थियो ।
Leave a Reply