सरकारभन्दा कालाबजारी शक्तिशाली ?
- जेष्ठ २५, २०८३
हिमालयको काखमा रहेको देश नेपाल आफैमा जडिबुटीले भरिएको देश हो । विश्वका सबै जडिबुटी नेपालमा नपाइएला तर भारतमा पाइने सबैजसो नेपालमा पनि पाइन्छ । नेपालको जडिबुटीको सदुपयोग होस् भन्ने आशयले मल्लकालमा राजा प्रताप मल्लले आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखाना स्थापना गरेको इतिहास छ । धेरै समयसम्म उक्त वैद्यखाना हनुमानढोका दरबारमा चलेको थियो । राणा प्रधानमन्त्री जङ्गबहादुरको पालामा थापाथली सारिएको उक्त वैद्यखानालाई पछि चन्द्रशमशेरले सिंहदरबारमा सारेपछि सिंहदरबार वैद्यखाना भनियो । २०५१–५२ सालदेखि सिंहदरबार वैद्यखाना विकास समितिअन्तर्गत यो वैद्यखाना चलिरहेको छ ।
करिब चार सय वर्षको इतिहास बोकेको सरकारी लगानीको एकमात्र आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना पछिल्लो समय ओरालो लाग्दै गएको छ । विगतमा सिंहदरबार वैद्यखानाले स्वदेशी जडीबुटी प्रयोग गरेर १८५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गर्दै आए पनि विगत दुई–तीन वर्षदेखि २५–३० प्रकारका औषधिमात्रै उत्पादन गरिरहेको वैद्यखानाका कर्मचारी बताउँछन् । आन्तरिक व्यवस्थापकीय कमजोरी, राजनीतीकरण, समयमै कच्चा पदार्थ र प्याकेजिङ सामग्री आपूर्ति गर्न नसक्नु, आर्थिक तथा नीतिगत समस्यालगायतका कारण पछिल्लो समय वैद्यखाना निरन्तर ओरालो लाग्दै गएको हो ।
पाँच महिनादेखि त्यहाँका कर्मचारीहरू कार्यस्थलको सुधारलगायत माग राखी आन्दोलन गरिरहेका छन् । सिंहदरबार वैद्यखानाले नेपालभरिका सरकारी आयुर्वेदिक अस्पताललाई बर्सेनि ठूलो मात्रामा आयुर्वेदिक औषधि बिक्री गर्दै आएको थियो । तर पछिल्लो समय यसमा पनि उल्लेखनीय कमी आएको बताइएको छ ।
सिंहदरबारभित्रै रहेको देशको एकमात्र सरकारी आयुर्वेदिक औषधि उत्पादन संस्थाको यस्तो दयनीय स्थितिमा कुनै ध्यान दिन नसकेको सरकारका प्रधानमन्त्री र मन्त्री तथा सत्ता गठबन्धनका नेताहरू केही दिनअगाडि भारतीय आयुर्वेदिक औषधि व्यापारी रामकृष्ण यादव (रामदेव बाबा) को पतञ्जली कम्पनीको कानुनी प्रक्रिया पूरा नगरेको टेलिभिजन च्यानलको उद्घाटन गर्न पुगेको दृश्य विडम्बनापूर्ण लाग्यो । पतञ्जली कम्पनीले शुद्ध आयुर्वेदिक र जडिबुटीको नाममा मिसावटयुक्त औषधि तथा खाद्य वस्तुहरू महँगोमा बेचिरहेको खुलासा भारतीय सञ्चारमाध्यमहरूले पटक –पटक गरिरहेका छन् । देश र जनताको हितको सपथ खाने तर नेपालको जडिबुटी कुहाएर पतञ्जलीको मिसावट बेच्ने कार्यलाई प्रोत्साहन दिने व्यवहार कसरी सही हुनसक्छ ? यसलाई नेपालका शासक नेताहरूको पाखण्डीपन नभनी के भन्नु ?
Leave a Reply