अध्ययन र अनुभवबिनाका सरकारका पदाधिकारीहरूका हरेक काम दोषपूर्ण हुने
- जेष्ठ २७, २०८३
सम्पदा जोगाउन र संरक्षण गरी जीवन्तता दिने काममा भक्तपुरवासीहरूको योगदान सबैको लागि अनुकरणीय छ । सत्तल, पाटी, मठ, मन्दिर, ढोका, पोखरी तथा अन्य ऐतिहासिक पुरातात्विक र सांस्कृतिक महत्वका सम्पदाहरू जीर्णोद्धार गर्न, पुनः निर्माण गर्न यहाँका स्थानीय जनताको सहयोग र साथ निरन्तर भइरहेको हामीले देखिरहेका छौँ । यसरी जनताको साथ र सहयोग पाएको पछिल्लो एक उदाहरण भनपा वडा नं. ७ स्थित खोह« दीप ध्वाखाको निर्माण हो । उक्त ध्वाखा निर्माणमा ४६ लाखभन्दा बढी सहयोग स्थानीय जनताबाट प्राप्त भयो । स्थानीय जनताबाटै उठेको रकम र भौतिक सहयोगबाटै सो द्वार तयार भएको छ ।
एउटा द्वार निर्माणको लागि ४६ लाखभन्दा बढी स्थानीय जनताको सहयोग प्राप्त हुनु सामान्य होइन । तामाको छाना राख्न एकै व्यक्तिले ११ लाखसम्मको आर्थिक सहयोग गर्नु सामान्य होइन । स्थानीय समाजसेवी, अगुवाहरू तथा सामाजिक कार्यकर्ताहरू अघि सरे, क्रियाशील भए सम्पदा निर्माणमा ठूलो सहयोग जुट्छ भन्ने उदाहरण त्यो द्वारले देखाएको छ । द्वार निर्माणमा सत्र्न्दा बढी गुुठियारहरूको आर्थिक सहयोग प्राप्त हुनु अर्को सकारात्मक कदम हो । एक व्यक्ति या संस्थाले आर्थिक सहयोग गरेपछि अर्को व्यक्ति या संस्थाले आर्थिक सहयोग गर्ने प्रतिस्पर्धा चलेको हुन्छ । यसको उदाहरण खोह« दीप ध्वाखा (ढोका) मात्र होइन अन्य धेरै दृष्टान्तहरू छन् ।
ख्वप अस्पतालको निम्ति अक्सिजन प्लान्ट निर्माणमा एक महिनाभित्रै ६ करोड रूपैयाँ व्यक्ति, संस्थाबाट प्राप्त भएको थियो । पाँचतले मन्दिरको जीर्णोद्धार गर्न हजारौँ हजार श्रमदान जुट्नु र लाखौँ आर्थिक सहयोग जुटेको थियो । भक्तपुर वडा नं. ९ को वाकुपति नारायणको छानामा सुनको जलप लगाउन झन्डै करोड रकम आर्थिक सहयोग उठेको थियो । यस कार्यमा स्थानीय ज्येष्ठ नागरिकहरू नै लागेका थिए । के यो उदाहरणीय काम होइन ? यसरी श्रमदान र आर्थिक सहयोगबाट अरु पनि धेरै सम्पदाहरू बनेका छन् । जनताको यो योगदान या देन सबैको निम्ति अनुकरणीय छ ।
Leave a Reply