भर्खरै :

“देशको विकास प्राविधिकहरूको हातमा छ”

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २० औँ र ख्वप कलेज अफ इन्जिनियरिङको १३ औँ वार्षिकोत्सव मनाउन पाउँदा हामी अत्यन्त हर्षित छौँ । यी कलेजहरू स्थापना कालदेखि आजको स्थितिसम्म पु¥याउन भक्तपुरका जनता, पूर्व र वर्तमान जनप्रतिनिधि, प्राध्यापक, कर्मचारी, अविभावक र विद्यार्थीहरूको महत्वपूर्ण योगदान छ । कलेजहरूको प्रगतिको निम्ति प्रत्यक्ष र परोक्षरूपमा योगदान गर्नुहुने तमाम सहयोगी हातहरूलाई आजको यो महत्वपूर्ण अवसरमा हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछौँ । साथै यी कलेजबाट इन्जिनियरिङ डिग्री प्राप्त गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाइ दिन चाहन्छौँ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले आजको दिनसम्म आइपुग्न निकै चुनौतीहरूको सामना गर्नुप¥यो । जनताको कर र परिश्रमले स्थापना भएका यी कलेजहरूले देशभरका जनताका छोराछोरीहरूलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन् । २०५६ सालमा भक्तपुर नगरपालिकाले ख्वप उमाविको जगबाट सुरु गरेको शैक्षिक अभियानमा आज २ वटा इन्जिनियरिङ कलेजसहित सातवटा शैक्षिक संस्थाहरू जोडिएका छन् । नगरपालिकाबाट सञ्चालित कलेजहरूमा हाल देशको विभिन्न जिल्लाका ६ हजारभन्दा बढी विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्दै छन् । शिक्षाको माध्यमबाट देशभरका विद्यार्थीहरूको सेवा गर्ने अवसर पाउनु हामी सम्पूर्ण नगरबासीहरूको खुसीको कुरा हो ।
देशमा सङ्घीयता लागू भएपछि जनताले शिक्षामा परिवर्तनको आशा गरेका थिए । सबै पालिकाहरूले विद्यालय र कलेजहरू खोल्ने र शिक्षामा जनताको सहज पहुँचको आशा गर्नु स्वाभाविक पनि थियो । त्यसको ठीकविपरीत लामो समयदेखि सञ्चालित कलेजहरूलाई विभिन्न बहानामा सरकारकै तर्फबाट दुःख दिने र प्रगतिमा बाधा पु¥याउने कामहरू भइरहेका छन् । उदाहरणको लागि ख्वप कलेज अफ इन्जिनियरिङ नै छ । २०७४ सालमा त्रिभुवन विश्वविद्यालयबाट ख्वप ई. कलेजमा कम्प्युटर इन्जिनियरिङको लागि ४० सीटको अध्यापन स्वीकृति प्राप्त भयो । हामीले नियमानुसार कक्षाहरू सञ्चालन गर्दै लग्यौँ । तर, इन्जिनियरिङ काउन्सिलले विभिन्न बहानामा स्वीकृति दिएन । कहिले काउन्सिल त कहिले मन्त्रालय गरी प्रस्ताव मन्त्रिपरिषद्सम्म पु¥याउन अधाइ वर्षसम्म धाउनुप¥यो । त्यो बेलाको अवस्थालाई हेर्दा पञ्चायती व्यवस्थालाई समेत बिर्साउने खालको थियो । कलेजमा एउटा नयाँ विषय थप्न नयाँ कलेजको अनुमति लिनुभन्दा गा¥हो अनुभव भयो । के हामीले पञ्चायती निरङ्कुशताको विरुद्ध लडेर बहुदलीय व्यवस्था र गणतन्त्र यस्तै अवस्था ल्याउन स्थापना गरेका थियौँ ? हामीले कस्ता सांसद, मन्त्री र शिक्षाका पदाधिकारीहरू बनायौँ ? इन्जिनियरिङ काउन्सिलको काम पनि भौतिक पूर्वाधार मन्त्रालयले गर्ने कस्तो कानुन बनायो ? आज जिम्मेवार पदाधिकारीहरूसामु प्रश्न गर्न मन लाग्यो । हो, अहिले ख्वप बहुउद्देश्यीय अध्ययन संस्थानमा पनि त्यस्तै समस्या छ । २०६० सालदेखि सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी हरेक वर्ष ४० जना नर्स र ४८ जना ओभरसियरको नियमित कक्षा सञ्चालन गर्दै आएकोमा यो वर्ष शिक्षा मन्त्रालयले अवरोध ग¥यो । चिकित्सा शिक्षा ऐनमा नर्सिङ कक्षा सञ्चालन गर्ने संस्थाको आफ्नै एक सय बेडको अस्पताल हुनुपर्ने उल्लेख भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नर्सिङतर्फ भर्ना रोक्ने निर्णय ग¥यो । हामीले तत्काल शिक्षा मन्त्री देवेन्द्र पौडेलको ध्यानाकर्षण ग¥यौँ । नगरपालिकाले २५ शøयाको स्वीकृति प्राप्त गरी सञ्चालित ख्वप अस्पताल अहिले १०० शøया पु¥याउने तयारी गरिरहेको र हाल अस्पतालमा १४ जना विशेषज्ञ, २० जना मेडिकल अफिसर गरी ३४ जना डाक्टर र २९ जना नर्सहरूद्वारा जनतालाई उपचार सेवा प्रदान गरिरहेको जानकारी दियौँ । उक्त अस्पतालमा दैनिक ५ सयदेखि ६ सयसम्म बिरामी परीक्षण हुने गरेको स्पष्ट पा¥यौँ । त्यसको अलावा नगर भित्र सञ्चालित सरकारी अस्पतालहरू भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतका अस्पतालहरूमा नर्सिङका विद्यार्थीहरूलाई प्रयोगात्मक कक्षाहरू सञ्चालन गरी हरेक वर्ष उत्कृष्ट नतिजा ल्याइरहेको पनि अवगत गरायौँ । जनताको समस्याप्रति शिक्षा मन्त्रीज्यू गम्भीर भएको पाएनौँ । माओवादीको तर्फबाट शिक्षामन्त्री भएका देवेन्द्र पौडेलले चिकित्सा शिक्षा ऐनलाई देखाएर नर्सिङमा भर्ना रोक्ने जुन काम गर्नुभयो त्यो शिक्षा मन्त्रालयको जनविरोधी र आपत्तिजनक काम हो । हामी यही मञ्चबाट उक्त भर्ना खोल्न शिक्षामन्त्रीलगायत सरोकारवाला सबै पक्षलाई आग्रह गर्छौँ ।
नेपालको संविधानले समाजवादउन्मुख राज्य व्यवस्था अँगीकार गरेको छ । समाजवादमा शिक्षा र स्वास्थ्य उपचार निःशुल्क हुन्छ । तर, नेपालको वर्तमान सरकारले शिक्षालाई व्यापारीकरण गरिरहेको छ । नेता, मन्त्री, सांसदहरूले करोडौँ र अर्बौँ लगानी गरेर विद्यालय, कलेज, विश्वविद्यालयजस्ता शैक्षिक संस्थाहरू र अस्पतालहरू खोलेकै कारण सामुदायिकलाई बेवास्ता गरिएको हो । तिनीहरू शिक्षा र स्वास्थ्यलाई सेवाभन्दा व्यापारिक वस्तुमा परिणत गर्दै छन् ।
सामुदायिक विद्यालय, कलेज, विश्वविद्यालय तथा अस्पतालहरू असफल पार्ने काम निजी सञ्चालकहरूले गर्दै छन् । ती शिक्षा र स्वास्थ्यको व्यापार गर्नेहरू नै अहिले ऐन कानुन बनाउने प्रतिनिधिसभा, प्रदेशसभामा पुगेका छन् । आफ्नो सम्पत्ति संरक्षण गर्न र थप नाफा कमाउनका लागि सामुदायिक संस्थाहरूलाई नियन्त्रण गर्ने कानुनहरू बनाउँदै छन् ।
आफूलाई ‘कम्युनिस्ट’ दाबी गर्ने माओवादी पार्टीका शिक्षामन्त्री हुनुहुन्छ । जनताको हितमा काम गर्न ऐन कानुन बाधक छ भने कानुन फेर्न वा संशोधन गर्न किन सक्नु हुन्न ? नेता, मन्त्री र सांसदहरू जनताका सेवकभन्दा नाफाको लागि काम गर्ने व्यापारीजस्ता बनेका छन् । भक्तपुर नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर गरिब विद्यार्थीहरूका लागि रु. ५ लाखसम्म शैक्षिक ऋण, गरिब तथा जेहेनदार विद्यार्थीहरूका लागि छात्रवृत्ति तथा इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृतिलगायत विषय पढ्ने विद्यार्थीहरूको लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै समाजवादउन्मुख काम गर्दै आएको छ ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित सबै कलेजहरू जनताका कलेजहरू हुन् । जनताको कर र परिश्रमबाट निर्मित यी कलेजहरूको एउटै उद्देश्य शिक्षाको माध्यमबाट समाजमा परिवर्तन ल्याउने तथा समाजलाई सभ्य र सुसंस्कृत बनाउने हो । यी दुईवटै इन्जिनियरिङ कलेजहरूको उद्देश्य पनि देशका लागि चाहिने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नु हो । तपाईँले सिकेको ज्ञान र सीप यही देशमा प्रयोग गरेर देशलाई विकास पथमा अगाडि बढाएको सुन्न पाएमा हामी धेरै खुसी हुनेछौँ । भर्खर इन्जिनियरिङमा स्नातक डिग्री हासिल गर्नुभएका भाइ बहिनीहरूबाट जनताले यस्ता धेरै कुराको आशा गरेका हुन्छन् । तपाईँहरू देशको कुना काप्चामा पुगेर दक्ष जनशक्तिको रूपमा काम गरेको हेर्ने यहाँका जनताको चाहना छ । दैनिकजसो छापाहरूमा आइरहने समाचारहरूले हामीलाई सशङ्कित पनि बनाइ रहेका छन् । केही दिनअघि भोजपुरको कावा खोलामा निर्माणाधीन पुल भत्केको समाचार आयो । रु.५ करोड खर्चेर ८० वर्ष टिक्ने दाबी गरिएको उक्त पुुल प्राविधिक कमजोरीबाटै भत्केको बताइएको छ । देशभर हेर्ने हो भने त यस्ता घटनाहरू कति छन् कति ? हिसाब गरी साध्य छैन । पुल भत्केको, पीच गरेको छोटो समयमै पीच उप्केको, सडक बिग्रेको, समयमा संरचना तयार नभएका जस्ता हरेक घटनामा प्राविधिकहरूको नाम जोडिएकै हुन्छ । हाम्रा प्राविधिकहरूबाट गलत काम गरेर पैसाको लागि देशै बेच्न तयार हुने ठेकेदारलाई पोस्ने काम नहोस् । हामी यही चाहन्छौँ ।
पैसाको लोभमा गलत काम गर्ने प्राविधिकहरू देशमा थुप्रै छन् । हामी आशा गर्छौ, आर्थिक अनियमिततामा हाम्रा कलेजका विद्यार्थीहरूको नाम कहिल्यै सुन्नुपर्ने छैन । ‘अख्तियारमा इन्जिनियर राख्ने ठाउँ छैन’ भन्ने समाचार आयो । ठेकेदारसँग मिलेर केही पैसाको निम्ति नराम्रो काम ग¥यो भने त्यो तपार्इँकै निम्ति पनि राम्रो हुनेछैन । देशको विकास प्राविधिकहरूको हातमा छ । छिट्टै धनी हुन खोज्दा देशको करोडौँ, अर्बौको सम्पत्तिमा क्षति पुग्छ । तपाईँको सानो कमजोरीले कलेजको बदनाम हुनसक्छ । कलेजसँग भक्तपुर नगरपालिका जोडिएको छ । नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरू हुनुहुुन्छ । उहाँहरूसँग पनि तपार्इँ जोडिनुभएको छ । हाम्रा कलेजहरूको नाम अहिले देशभर नमुनाको रूपमा लिइरहेका छन् । एक प्राविधिकको रूपमा तपाईँहरूले अझ यो कलेजको नाम उच्च राख्ने आशा गर्दछु ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २० औँ र ख्वप कलेज अफ इन्जिनियरिङको १३ औँ वार्षिक उत्सव कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले बुधबार व्यक्त गर्नुभएको मन्तव्य– सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *