भर्खरै :

कोरोनाले उदाङ्गो पारेको पुँजीवादी व्यवस्था

कोभिड–१९ अर्थात् कोरोना भाइरसको महामारीले विश्वभरका मानव जातिलाई ठूलो कष्ट दिएको छ । हालसम्म विश्वभरमा २६ करोड ३२ लाख २० हजार जनालाई सङ्क्रमण भइसकेको र ५२ लाख ३६ हजारभन्दा बढीको कोभिड–१९ कै कारण मृत्यु भइसकेको तथ्याङ्क छ । तर, विज्ञहरू वास्तविक सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या झन्डै यसको दोब्बर हुनसक्ने अनुमान गर्छन् किनभने कोभिड –१९ को महामारी व्यापक फैलिएका देशका सरकारहरूले वास्तविक तथ्याङ्क लुकाएको स्थानीय सञ्चारकर्मी र सरूवा रोगविज्ञहरूको आरोप छ । संरा अमेरिका, ब्राजिल, कोलम्बिया, मेक्सिकोलगायत अमेरिकी महादेशका देशहरू तथा दक्षिण एसियामा भारत, पाकिस्तान र बङ्गलादेशका सरकारहरूले सङ्क्रमित र मृत्यु हुनेको वास्तविक तथ्याङ्क सङ्कलन बेवास्तावस वा सङ्ख्या घटाउन जानीजानीकन पनि वास्तविक सूचना सङ्कलन नगरेको बताइएको छ ।
मानव जातिकै महत्वपूर्ण उपलब्धिको रूपमा कोरोना भाइरसलाई रोकथाम र नियन्त्रण गर्ने विभिन्न किसिमका खोपहरू एक डेढ वर्षभित्र तयार भए । तर, ती खोप विश्वका धनी र विकसित भनिने देशका पुँजीवादी सरकारहरूले कब्जामा लिए । ती देशहरूले आफ्नो देशको जनसङ्ख्यालाई चाहिनेभन्दा धेरै नै बढी खोप भण्डारण गरे । संरा अमेरिका र बेलायतमा त त्यसरी भण्डारण गरेका खोप प्रयोगको म्याद नाघेर खेर जाने अवस्था रहेको समाचार पनि आए । एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका गरिब देशहरूले भने समयमै कोरोनाविरूद्धको खोप पाउन सकेनन् । अनुदान र सहयोगमा खोप पाए पनि सीमित डोजमात्र पाए । खोप लगाइसकेका धेरै देशमा कोरोना महामारी कम हुँदै गएको देखिए पनि खोप लगाउन नपाएका देशहरूमा सङ्क्रमण बढेको नयाँ भेरियन्टको भाइरस देखा परेको छ । कोरोना महामारी गरीब देशमा खोप लगाउने दर कम भएकाले अफ्रिकी देशहरूमा नयाँ भेरियन्ट –ओमिक्रोन देखिएको छ । उत्परिवर्तित कोरोना भाइरसको व्यापकताले विश्वव्यापी महामारी रोकथाम र नियन्त्रण असफल भएको देखाएको छ । यसको मुख्य कारण धनी देशहरूद्वारा गरिएको खोपको अत्यधिक संचयन हो । अफ्रिकामा खोप लगाउने दर ७ प्रतिशतमात्र छ तर पश्चिमा विकसित देशभित्र पूर्ण खोप दिइसकेर पनि बुस्टर डोज दिन थालिएको छ भने गरिब देशका जनताले एक डोज खोप पनि लगाउन पाएका छैनन् । यदि गरिब देशहरूमा यसरी भाइरस फैलिन दिएमा भविष्यमा अझ बढी खतरनाक उत्परिवर्तित भाइरसको उत्पति हुनेछ ।
कोभिड–१९ को महामारीले मानव जातिलाई रोग र शोकसँगै विश्वव्यापीरूपमै बेरोजगारी, गरिबी र भोकमरी पनि ल्याइदिएको छ । ल्याटिन अमेरिका र क्यारिबियाली देशहरूमा भोकमरीको स्थिति विगतका वर्षहरूमा भन्दा ३० प्रतिशत बढेर सन् २००० को स्थितिमा पुगेको राष्ट्रसङ्घीय अध्ययनले देखाएको छ । त्यस क्षेत्रका देशमा कोभिड –१९ को महामारीको अवधिमा थप १ करोड ४० लाख मानिस थपिएर भोकमरीको स्थितिमा पुगेका मानिसहरूको सङ्ख्या ५ करोड ९७ लाख पुगेको जनाइएको छ । हाम्रै छिमेकी देश भारतमा पनि बेरोजगारी र आम्दानीको स्रोतको अभावमा झन्डै ४० करोड मानिसहरू भोकमरीको अवस्थामा रहेको बताइएको छ । सरकारले भोकमरीको अवस्थामा पुगेका जनतालाई बेवास्ता गरेको भन्दै दायर गरिएको रिटमा फैसला दिँदै हालै भारतको सर्वोच्च अदालतले – भोकले मरिरहेका जनतालाई खाना उपलब्ध गराउनु सरकारको जिम्मेदारी भएको र राष्ट्रिय खाद्य सुरक्षा ऐनबमोजिम योजना कार्यान्वयन गर्न सरकारको नाममा आदेश जारी ग¥यो । उपचारको अभाव, असमान उपचार, बेरोजगारी र भोकमरीको स्थिति कडा पुँजीवादी अर्थात् नवउदारवादी अर्थनीति लागू गरिरहेको देशमा बढी देखिएको छ । पुँजीवादी शासन व्यवस्थाले महामारीजस्तो मानवीय सङ्कटमा पनि मानिसको जीवन बचाउनुभन्दा नाफा घाटामात्र हेर्ने र पुँजीवादी व्यवस्थाले मानिसहरूको हित गर्नै नसक्ने तथ्य पुनः उदाङ्गो पारेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *