भर्खरै :

सुकुन्दा साकोसको १४ औँ वार्षिक साधारणसभा

भक्तपुर, १८ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं. ७ जगातीस्थित सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लि. को १४ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले सहकारी संस्थाहरू रकम लेनदेनमा मात्र सीमित भए बैङ्क तथा वित्तीय संस्था भन्दा कुनै भिन्नता नहुने बताउँदै समुदायमा आधारित सहकारी संस्थाहरू नाफामा केन्द्रित हुनुहुँदैन भन्नुभयो । उहाँले सहकारीका सदस्यहरूको आर्थिक उन्नति र सामूहिक हितको लागि सहकारी सङ्घ–संस्थाले इमानदार र पारदर्शी ढङ्गले काम गर्नुपर्छ भन्नुभयो ।
उहाँले समाजवादी अर्थतन्त्र निर्माणमा सहकारी संस्थाहरूको उल्लेख्य भूमिका रहने बताउँँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा निर्मित अक्सिजन प्लान्टको निम्ति भक्तपुरका सहकारी संस्थाहरूले महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
प्रमुख प्रजापतिले सहकारी संस्थाहरूले नयाँ नयाँ प्रविधिको प्रयोग गर्न किसानहरूलाई सक्षम बनाउने काममा ध्यान दिनुपर्ने बताउँदै सहकारी संस्थाहरू लेनदेनमा मात्र सीमित नभई सदस्यहरूको सर्वाङ्गीण विकासका लागि सम्भव भएका कार्यहरूमा जनशक्ति तयार गर्ने र विभिन्न सिपमूलक तालिमहरू सञ्चालन गर्न पनि जोड दिनुपर्ने उल्ल्ेख गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले परनिर्भरताले नेपाललाई कहिल्यै पनि विकास हुन नदिने बताउँदै एमसीसी सम्झौता नेपालको हितविपरीत भएको र यो निकै घातक भएको हुँदा यसको विरोध गर्नु सबैको कर्तव्य भएको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत सङ्घका प्रतिनिधि जगन्नाथ प्रजापतिले ‘एक व्यक्ति एक सहकारी’ ले ठूला सहकारीहरूलाई पोस्ने सम्भावना भएको उल्लेख गर्दै स्थानीय तहको स्वीकृति विना सञ्चालित सहकारी तथा बहुउद्देश्यीय सहकारी संस्थाहरूको समयमै अनुगमन गरी नियन्त्रण गर्नु जरुरी रहेको बताउनुभयो ।
सुकुन्दा साकोसका अध्यक्ष सानुकाजी त्वानाबासुको सभापतित्वमा भएको कार्यक्रममा सुकुन्दा साकोसका सल्लाहकारहरू नाति कवां, विष्णुभक्त मारिखु र विश्वराम कवांलगायतले बोल्नुभएको थियो ।
उद्घाटन सत्रमा सुकुन्दा साकोसका सचिव राजाराम लवजूले आ.व. २०७७÷७८ को प्रतिवेदन, कोषाध्यक्ष राजभाइ माकले आ.व. २०७७÷७८ को आर्थिक प्रगति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक श्रीकृष्ण गोसाईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साथै सुकुन्दा साकोसका उपाध्यक्ष सबिनभक्त कायष्ठ, सिद्धि गणेश साकोसका प्रतिनिधि विष्णुप्रसाद दुमरु, संस्थाका कृषि प्राविधिक सबिन ख्याजु, कृषि उपसमितिका संयोजक राजाराम लवजू, व्यवस्थापक सानुकाजी चिकंबन्जार र महिला उपसमितिका संयोजक निर्जला प्रजापतिले पनि संस्थाबाट सञ्चालित सेवा सुविधाहरूबारे आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *