भर्खरै :

युवाहरूको सांस्कृतिक स्तर उठाउन जरुरी

भक्तपुर, १८ मंसिर । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समितिले शनिबार नगरस्तरीय युवा कार्यकर्ता भेला तथा पुनःगठन कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले युवा कार्यकर्ताहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिबारे जानकारी प्राप्त गर्न पार्टी प्रकाशन अध्ययन गरेर अन्तरक्रिया चलाउनु जरुरी रहेको बताउनुभयो ।
उहाँले पुँजीवादी पार्टीहरू सरकारमा गएर युवालाई भ्रष्ट बनाइरहेको उल्लेख गर्दै युवाहरू मदिरापान, धूमपान, जुवातासजस्ता अराजक गतिविधिबाट टाढा रहनु जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा युवा नेतृत्वले सबै युवाको सांस्कृतिक स्तर माथि उठाउनको निम्ति भूमिका निर्वाह गर्नुपर्दछ ।”
पुँजीवादी व्यवस्थामा देशको स्रोत–साधन मुट्ठीभर व्यक्तिको कब्जामा पुग्ने र राज्यको भूमिका कमजोर बनाइने तर समाजवादी व्यवस्थामा राज्यको निर्णायक भूमिका रहने भन्दै उहाँले समाजवादी व्यवस्थाको सकारात्मक पक्षबारे युवाहरूलाई शिक्षित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
केन्द्रीय सचिव सुवालले नेका, एमाले, माओवादी, जसपा, एस, राप्रपालगायतका पार्टीहरू बरोबर सरकारमा गएर पुँजीपति वर्गको सेवा गरेको उल्लेख गर्नुभयो ।
मजदुर वर्गका महान् गुरु कार्ल माक्र्सले मानव समाजको विकासको नियम पत्ता लगाउनुभएको र पुँजीपति वर्गले राजा महाराजाहरूको शासनविरुद्ध सङ्घर्ष गरेजस्तै मजदुर वर्गले पनि पुँजीपति वर्गको शासनविरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
कार्यक्रममा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले फिडेल क्यास्ट्रो, चे ग्वेभारा युवा अवस्थामै क्रान्तिको निम्ति समर्पित भएको उदाहरण दिँदै नेमकिपाका युवा कार्यकर्ताहरू पनि समाजवादी क्रान्तिको निम्ति तयार हुनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाले बेलायती साम्राज्यवादले गोर्खा भर्तीको नाममा नेपाली युवालाई भाडाको सिपाहीजस्तै बनाएको परम्परा अहिले पनि कायम रहेकोले गोर्खा भर्ती बन्द गराउन युवाहरूले भूमिका निर्वाह गर्नु जरुरी रहेको बताउनुभयो ।
उहाँले वैदेशिक रोजगारीको नाममा शासक दलहरूले नेपाली युवालाई विदेशीको दास बनाउन पठाएको हुँदा शासक दलहरूकै विरुद्धमा सङ्घर्ष गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।
नेक्रायुसङ्घ, भक्तपुर नगर समितिका अध्यक्ष जगतराम धुख्वाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेक्रायुसङ्घ भनसका गोपालसुन्दर गोसाई र रामेश्वर मचामसीले पनि बोल्नुभएको थियो ।
उक्त भेलाले जगतराम धुख्वाको अध्यक्षतामा १९ सदस्यीय नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समिति पुनःगठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *