भर्खरै :

पार्टीको योग्यता सङ्ख्या हो कि सही नीति ?

आजको युगमा जुनसुकै किसिमको प्रजातन्त्रमा पनि शासन गर्ने भनेको राजनीतिक पार्टीहरूले नै हो । त्यसैले राजनीतिक पार्टीहरूबाट राम्रो कामको आशा सर्वत्र गरिएको हुन्छ । राजनीतिक पार्टीहरूले जब जनअपेक्षाअनुसार वा देशको आवश्यकता सम्बोधन हुने किसिमले काम गर्दैनन्, ती पार्टीप्रतिमात्र होइन समग्र राजनीति र राजनीतिक व्यवस्थाप्रति नै जनतामा वितृष्णा उत्पन्न हुन्छ । आजको नेपालको स्थिति धेरै हदसम्म जनतामा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको अवस्था हो । शासक दलका नेताहरूको वाचा र आश्वासनलाई सचेत र स्वार्थ नभएका जनताले पत्याउन छोडेका छन् ।
चुनाव नजिकिएको छ, त्यसैले राजनीतिक दलका नेता–कार्यकर्ताहरू आ–आफ्नो पार्टी ठुलो दावी गर्ने र निर्वाचन जित्ने हल्ला गरेर मतदाताहरूमाथि मनोवैज्ञानिक प्रभाव पार्न सक्रिय देखिएका छन् । एक दलका नेता सदस्य सङ्ख्या १५ लाख पु¥याउने घोषणा गर्छन्, अर्को दलका नेता चुनावमा आफ्नो दल सबैभन्दा ठुलो दल बन्ने दावी गर्छन् । अर्को दलका नेताहरू आफ्नो दल एक्लैले बहुमत पु¥याएर एकलौटी सरकार गठन गर्ने दावी गर्छन् । ती केही समयअघिसम्म सरकारमा रहेका र अहिले सरकारमा रहेका शासक दलका नेताहरूको दावी र भाषण सुन्दा चुनावमा धेरै सिट जित्ने र सरकारमा पुग्ने, सुविधा लुट्ने भन्नेबाहेक देश र जनताको लागि के गर्ने भन्ने कुरा केही सुनिन्दैन । पार्टीको योग्यता सङ्ख्या हो कि पार्टीले लिने सही नीति हो ? कस्तो नीति तथा कार्यक्रम लागू गरेर देशलाई कुन स्तरमा विकास गर्ने, जनताको अवस्थामा कसरी सुधार गर्ने भन्ने विचार र नीति ती नेताहरूमा भएकै देखिँदैन । उनीहरूले भाषणका क्रममा कहिलेकाहिँ गर्ने देश विकासका कुरा आधारहीन बकम्फुसे लाग्छन् । तै पनि हामी त्यस्तै नेताहरूको दिशाहीन राजनीति हेरिरहन र कान पाक्ने गरी सुनिरहन अभिसप्त छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *