घरेलु तथा साना उद्योग प्रवद्र्धनमा जोड दिनुपर्ने
- असार ६, २०८३
ओमिक्रोन भेरियन्टको सङ्क्रमण विभिन्न देशमा तीव्र गतिमा फैलिरहेको छ । सोमबार नेपालमा पनि दुई जना सङ्क्रमित भेटिए । भारतमा सङ्क्रमितको सङ्ख्या एकाध दिनमै उल्लेखनीय सङ्ख्यामा बढिरहेको छ । सरकार र नागरिकले अहिले नै सावधानीका सबै उपाय अपनाउनमा गम्भीरता नदेखाउने हो भने अर्को दुःखान्त भोग्नुबाहेक नेपालीसँग विकल्प रहनेछैन ।
कोरोना भाइरसको सङ्क्रमण अब नेपालको लागि अनुभवहीन विषय रहेन । कोभिड–१९ को सङ्क्रमणबाट साढे एघार हजारभन्दा बढी मानिसको निधन भइसकेको छ । महामारी उत्कर्षमा पुग्दाको कहालीलाग्दा दिन हामी कसैले पनि बिर्सन सकेका छैनौँ । आफ्ना आफन्तलाई अन्तिम पटक हेर्न पनि नपाई सदाको लागि बिदा गर्नुपर्ने कारूणिक दिन हामीले के बिर्सन सक्छौँ र ? त्यस्तो दिन फेरि नदोहोरियोस्, हामी सबैको कामना हो । तर, समय कामनामात्र गरेर बस्ने होइन । महामारीका कहालीलाग्दा दिन फर्किन नदिने हो तत्कालै सबै सावधानीका उपाय लगाइहाल्न विलम्ब गर्नुहुन्न । ‘जब भयो राति, तब बुढी ताती’को असावधानी र कमजोरी दोहो¥याउने गल्ती नगरौँ ।
विगतको अनुभवले नेपालमा विदेशबाट नै कोरोना भाइरस भित्रिएको देखाउँछ । सोमबार ओमिक्रोन सङ्क्रमित दुई जना पनि विदेशबाटै नेपाल आएका हुन् । त्यसको अर्थ हामीले विदेशबाट नेपाल पस्ने हरेक व्यक्तिको स्वास्थ्य परीक्षण गरी निश्चित अवधि एकान्तवासमा राख्ने बन्दोबस्त गर्नुपर्छ । भारतसँगको हाम्रो खुला सीमा नै यसको निम्ति सबभन्दा ठुलो चुनौती हो । तसर्थ, छिमेकी देश भारतसँगको सहकार्यमा सीमामा मानिसको ओहोरदोहोरमा कडाइ गर्नुपर्छ । भारतबाट नेपाल पस्ने सर्वसाधारणको गम्भीरतापूर्वक स्वास्थ्य परीक्षण गर्ने र एकान्तवासमा राख्ने व्यवस्था गर्न जरूरी छ । यो विषयमा विगतमा जस्तो कमजोरी गरे फेरि पनि महामारी फैलिन हामी रोक्न असमर्थ हुनेछौँ ।
सबै राजनीतिक दल, सामाजिक संस्था र राज्यका निकायले धेरै मानिस एकै स्थानमा भेला हुने बृहत् कार्यक्रमहरूको आयोजना बन्द गर्नुपर्छ । विडम्बना, अझै पनि देशका जिम्मेवारी शासक दलहरू शक्ति प्रदर्शनको नाममा धेरै मानिसको भेला र सभा–सम्मेलन गरिरहेका छन् । कोरोना सङ्क्रमणको आकार कम भएसँगै सर्वसाधारणले स्वास्थ्य मापदण्डको पालनालाई खुकुलो बनाएका छन् । मास्क लगाउने, आपसी दूरी कायम गर्ने, भीडभाडमा नजाने, स्यानिटाइजर लगाउने, साबुन पानीले हात धुने आदि स्वास्थ्य मापदण्ड पालनामा सर्वसाधारण उदासिन बन्दै गएका छन् । विज्ञहरूले पटक–पटक स्वास्थ्य सावधानी पालनामा जोड दिए पनि यस्ता विषय ओझेल पर्दै गएका छन् ।
सङ्क्रमण नियन्त्रणमा राज्य भगवान् भरोसे बन्ने अवस्थालाई अझै नकार्न सकिन्न । तर, सचेत प्रयास गर्ने हो भने महामारीलाई नियन्त्रणमा राख्न सकिने उदाहरण संसारमा धेरै छन् । अहिले प्रयोग गरिएका खोप र ओमिक्रोनबीच कस्तो सम्बन्ध छ, वैज्ञानिकहरूले अध्ययन जारी राखेका छन् । तर, आजसम्मको वैज्ञानिक अनुसन्धानले कोरोना भाइरसविरूद्ध खोपले सङ्क्रमण रोक्न प्रभावकारी ढङ्गले काम गरेको देखिन्छ । तसर्थ, खोप अभियानलाई अझै व्यापक बनाउन जरूरी छ । भाइरसविरूद्ध लड्न खोप आफैमा हतियार मात्र हो, खोप लगाएपछि पूर्ण सुरक्षित भने हुनै होइन, धेरै देशको अनुभवले यही देखाएको छ ।
महामारी रोकथामको लागि आवश्यक स्वास्थ्य पूर्वाधार विकासमा तीनै तहका राज्यले ध्यान दिन जरूरी छ । समय हुञ्जेल उँघ्दै बस्ने अनि सङ्कटले टाउकोमाथि टेकेपछि थाप्लामा हात राखेर गल्ती नगरौँ । ओमिक्रोनले दैलोमा आएर खतराको घण्टी बजाइसकेको छ । राज्यले आफ्नो दायित्व पूरा गरोस् । नागरिकले आफ्नो जिम्मेवारी पूरा गरौँ ।
Leave a Reply