पढाइको राजनीति – २
- असार ६, २०८३
यो अत्यन्त महत्वपूर्ण समारोहमा उपस्थित हुन पाउँदा म ज्यादै खुसी छु । कलेज परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु । आजको यो दबुमा पुरस्कृत हुने सम्पूर्ण विद्यार्थीलाई बधाई छ । साथसाथै, सम्मानित हुने सम्पूर्णमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
कहिलेकाहीँ आफूले आफूलाई चिन्न पनि हामी ऐना हेर्छौँ । ख्वप र हाम्रा शैक्षिक संस्थाहरूलाई हामीले धेरै लामो समयदेखि चिन्दै आएका छौँ । तर, हामी चार वर्षअघि प्रदेशसभामा गइसकेपछि एउटा फरक अनुभूति मिल्यो । यो चार वर्षमा हामीले प्रदेश सरकार सञ्चालन गर्छौँ भनिरहेकाहरूलाई नजिकबाट चिन्यौँ । शासक दलका केही नेताहरूलाई हामीले नजिकबाट चिन्ने अवसर पायौँ । यो देश हाँक्छौँ, प्रदेश हाँक्छौँ, स्थानीय तह हाँक्छौँ भनेर आइराखेकाहरू, पुगिराखेकाहरूको तौरतरिका, व्यवहार, सोच, शैली देखिसकेपछि हामी उत्साहित बन्न सकेनौँ । बरु, थप लामो सङ्घर्षको आवश्यकता अनुभव ग¥यौँ । साथै, हामी कति फरक छौँ र हाम्रा अग्रजहरूले कति फरक ढङ्गमा हाम्रा गतिविधिहरूलाई अगाडि बढाउनुभयो भन्ने अनुभव अझ बढी ग¥यौँ । हाम्रा अग्रजहरूको नेतृत्व, सोच, चिन्तन अत्यन्त सही छ र यो देशका लागि आवश्यक त्यही नै हो भन्ने भावना अझ बलियोसँग समात्यौँ । जनताको निःस्वार्थ सेवा, समाजमा मौलिक परिवर्तनका निम्ति सङ्घर्ष, आमूल परिवर्तनका निम्ति समर्पित जीवन, जनताको व्यापक हितलाई उच्च प्राथमिकता दिने व्यापक दृष्टिकोण आदि हाम्रा अग्रजहरूले निर्माण गरेको उच्च संस्कृति नै देशको पक्षमा छ र देशको आवश्यकता हो । हाम्रा अग्रजहरूप्रति हामीले गर्व महसुस ग¥यौँ । हामी सही बाटोमा छौँ । हामी ठीक ठाउँमा छौँ । यही गौरवानुभूति मिल्यो ।
साथसाथै, हामीलाई थाहा छ, हामीले चाहेको, हामीले खोजेको, हामीले रोजेको समाज र परिवर्तन अझै पनि हामीले अनुभव गर्न पाइरहेका छैनौँ । देशको तस्बिर जुन किसिमले सफा हुनुपर्ने हो, त्यस्तो पटक्कै छैन । ३० वर्ष भयो बहुदलीय व्यवस्था आएको र गणतन्त्र स्थापना भएको पनि एक दशक नाघिसक्यो । यो अवधिमा शिक्षा क्षेत्रमा, आर्थिक तथा सामाजिक र हरेक क्षेत्रमा जुन किसिमको परिवर्तन हामीले अनुभव गर्न पाउनुपर्ने हो, त्यो भइरहेको छैन । देशको राजनीतिक चित्र सफा हुने हाम्रो अभिलाषा, हाम्रो आशा पूरा भइरहेको छैन । यो दूर्भाग्यपूर्ण स्थितिबारे हामी छलफल गर्दै जानेछौँ । आज यहाँहरूसमक्ष केही भावनात्मक कुरा, केही अनुभवका कुरा, आफ्नै घरआँगनमा हुर्किरहेको यो ख्वपलाई चिन्दा, हेर्दाको अनुभूतिहरू अत्यन्त सङ्क्षेपमा राख्ने अनुमति चाहन्छु ।
आजभन्दा चालीस–पचास वर्ष अगाडिको कुरा हो । त्यहाँ, हो त्यहाँ मानिसभन्दा बढ्ता सुँगुर बस्थे । मानिसको हुलभन्दा सुँगुरको हुल बढी देखिन्थ्यो । सुँगुर र सुँगुरहरूको आतङ्क व्याप्त थियो । सडक, चोक, गल्ली, खोलामा सुँगुरहरूको राज चल्थ्यो । कुकुरले भन्दा पनि बढ्ता सुँगुरले टोकेर बच्चाबच्ची, बुढाबुढी घाइते हुन्थे । जता हे¥यो उतै हाँस, कुखुरा, चल्ला, गाईवस्तु ! झिङ्गाले ढाकेको बस्ती ! दूर्गन्धमा हराएको सहर ! त्यस ठाउँले गज्जबको नाउँ पायो – खुला शौचालय, राजधानी छेवैको शौचालय !
त्यो ‘नर्क’ छोडेर कति भागे । त्यो अपमान सहन नसकेर कतिपय पलायन भए । कतिपय हेपाइ सहेर बाँचे ! तर, केहीले भाग्ने होइन बदल्ने अठोट गरे । र, उठाए कुचो ! चलाए च्वाफी ! चलाए सावेल ! चल्यो, वर्षौँ वर्ष चलिरह्यो !जनताका प्रतिनिधिहरूले त्यो ‘जात जाने काम’ को अगुवाइ गरे । राजनीतिक तथा सामाजिक कार्यकर्ताहरूले त्यो ‘तल्लो स्तरको’ कामको नेतृत्व गरे । आखिर अध्यक्ष माओले भन्नुभएभैmँ कुचो नपुगेकैले त फोहर हुन्छ । अहा, कति शक्तिशाली कुचो ¤ बन्दूक नै नचाहिने ! बन्दूक त बेकाम ! कुचो उठाउने ती क्रान्तिकारीहरूप्रति सलाम !आजको यो दबुबाट पनि हार्दिक अभिनन्दन !
आजभन्दा पचास–साठी वर्ष अगाडि बजार, चोक होस् या खेतबारीमा साँढेको आतङ्क व्याप्त थियो । केही जोसिला युवाहरूले त्यो पशुराज अन्त्य गर्ने आँट गरे । ‘महादेवको वाहन’ धपाउने जस्तो ‘अधर्मी’ काम गर्न समेत अघि सरे ! साँढे जुधाएर आनन्द लिने समाजविरोधी चुसाहाहरूको आनन्द खोस्ने हिम्मत गरे । साँढेहरू जस्ता र साँढेहरूभन्दा पनि खतरनाक मण्डलेहरू, शोषकहरूको मारमुक्काको प्रतिकार गर्दै जुरुक्क उठे । मान्छेलाई भन्दा पनि साँढेलाई महत्व दिने नरपशुहरूसँग निरन्तर मुकाबिला गरे । तसर्थ, हातहातमा नोल र लठ्ठी बोकेर साँढेहरूलाई बजारबाट धपाए । किसानको बालीनाली सखाप पार्ने साँढेहरूलाई डाँडा कटाए । सदाका निम्ति साँढे आतङ्कको अन्त्य गरे ।
आजभन्दा पचास–साठी वर्ष अगाडि तिनीहरू भोका थिए । तिनीहरू नाङ्गा थिए । एक छाक खानसमेत धौधौ थियो । आङ ढाक्न समेत मुस्किल थियो । जग्गा जोत्नेको जग्गामाथि कुनै हक थिएन । सबै जग्गा–जमिन एक–दुई प्रतिशतको हातमा थियो । अन्न उब्जाउनेहरू स्वयम् खानाबाट वञ्चित थिए । तसर्थ, भोकाहरूको विद्रोह सुरु भयो । भोकको समस्या समाधानतर्पm केही जागरूकहरू लागे । अन्न लुट्नतिर होइन, अन्न उब्जनी बढाउने दीर्घकालीन उपायतिर लागे । मलखाद, नयाँ बिउबिजनको बन्दोवस्ततिर जुटे । जोत्नेलाई जग्गा दिलाउन तम्सिए । पुस्तौँपुस्ता पसिना बगाएको भूमिमाथि हक दाबी गरे । भोकको समस्या समाधानमा अहोरात्र लागे । भोकविरुद्धको सङ्घर्षमा एकपछि अर्को सफलता हासिल गर्दै निरन्तर अगाडि बढे । आखिर भोको पेटले अक्षरभन्दा पनि आहार खोज्नुमा के आश्चर्य ? महँगा आभूषण त निकै परको कुरा !
आजभन्दा पचास–साठी वर्षअगाडि तिनीहरू निरक्षर थिए । तिनीहरूको बस्ती अँध्यारो, चुक घोप्टिएभैmँ अँध्यारो थियो । ती मल बोक्थे तर दरबारको चिन्ता अरू कोही गर्थे ¤ ती नोल बोक्थे, नोट अरू कोही बोक्थे ¤ ती दास, भू–दासका सन्तान न थिए ¤ तसर्थ, किताबभन्दा निकै ठूला त्रिपाल बोक्थे । झोलाभन्दा ती खर्पन बोक्नुमै खुसी महसुस गर्थे । कलमभन्दा पनि ती कुटो, कोदालो बोक्नुमा आनन्द अनुभव गर्थे । ती मन्दिर जान्थे तर विद्यालय जाँदैनथे । ती भट्टी जान्थे तर पुस्तकालय जाँदैनथे । ती कापीमा अक्षर लेख्दैनथे, खेतमा विभिन्न आकृति कोर्थे । ती मठमन्दिर, मूर्ति, दरबार निर्माण गर्थे तर इतिहास अर्कैले लेख्थे । ती भजन गाउँथे, नाच्थे, बजाउँथे तर शिक्षाको ज्योतिविनाको आँखाले हेर्थे । ती मुख भएर पनि निमुखा थिए । पशु र तिनमा थोरै भिन्नता थियो ।
एकदिन त्यो घोर अँधेरीमा एउटा लालटिन बल्यो । टोल–टोल, ठाउँ–ठाउँमा त्यो लालटिन बल्यो । बल्न थाल्यो । अँध्यारोका कीराहरूले अँध्यारो रातमा अक्षर चिन्न थाले । गन्हाउने कीराहरू बदलिन थाले । अँध्यारो बस्ती रातिराति जागा बस्न थाल्यो । चोटाहरू अक्षर सिकाउने केन्द्र बन्न थाले । पाटी, सत्तल अक्षर चिनाउने सिकाइ केन्द्र बन्न थाले । हेर्दाहेर्दै बस्ती भित्रभित्रै उज्यालो हुन थाल्यो । रातो–रातो हुन थाल्यो । तातो–तातो हुन थाल्यो । त्यो नयाँ बस्तीले एकदिन रातो झन्डा फहरायो । जुरुक्क उठेर लामो यात्रा हिँड्यो । त्यो यात्रा आजसम्म जारी छ । पचास वर्ष अर्थात् आधा शताब्दी भयो । त्यो यात्रा अथक चल्दै छ । कहिले उकाली, कहिले ओराली, कहिले हावा, कहिले हुरीसँग सामना गर्दै यात्रा जारी छ । यात्रीहरू थकाइको अनुभव नगरी, भोकप्यास नभनी हिँडिरहेका छन् । त्यो कठिन यात्रा, त्यो लामो यात्राको अनेकौँ कोसेढुङ्गाहरूमध्ये एउटा बलियो कोसेढुङ्गा– ख्वप, अर्थात् ख्वप शिक्षालय ! पाटी पाठशाला, छानोविनाको पाठशालाबाट हुर्केको आधुनिक ख्वप शिक्षालय ! दशकौँ लामो आन्दोलन तथा सङ्घर्षको एउटा सुन्दर उपज– ख्वप शिक्षालय । कुनै विश्वविद्यालयको भन्दा कम उचाइ नभएको शिक्षालय । जनताको हृदयमा विश्वविद्यालय बनिसकेको शिक्षालय ¤ जनताद्वारा जनताका निम्ति निर्माण गरिएको जनताको शिक्षालय । तसर्थ, ख्वपलाई हार्दिक बधाई, अपार माया, असीम शुभकामना !
ख्वप इन्जिनियरिङ्ग कलेजको २० औँ र ख्वप कलेज अफ इन्जिनियरिङको १३ औँ वार्षिकोत्सवको अवसरमा हार्दिक शुभकामना एवम् बधाई । दुई दशकको यात्रामै देशकै एक सुपरिचित तथा प्रतिष्ठित शैक्षिक संस्था बनेर हामी सबैलाई गौरवान्वित बनाएकोमा खुसी प्रकट गर्दछु ।
देश निर्माणमा ख्वपले पु¥याएको योगदान उदाहरणीय तथा अविस्मरणीय रहने छ । देशको निर्माण नारा होइन, व्यवहार हो । देशको निर्माण दाबी या प्रचारबाजी पनि होइन, ठोस प्रमाण हो । सबैले अनुभूत गर्ने गरी ख्वपले आजको मितिसम्ममा जुन अद्वितीय नमुना पेश ग¥यो, त्यो प्रेरणादायी मात्र होइन अनुकरणीय छ । अझ, अनुकरणमा ढिलाइ भइरहेको चर्चा चल्दै छ ।
देशमा प्रजातन्त्र पुनःस्थापना भएको ३० वर्ष नाघिसक्यो । तर, जनताले आजसम्म परिवर्तनको अनुभूति गर्नै पाएनन् । आमूल परिवर्तन झन्झन् एकादेशको कथा बन्दै छ । यही समयावधिभित्र ख्वप सामाजिक तथा शैक्षिक परिवर्तनको बिहानी घामभैmँ उदायो । आज पारिलो बन्दै छ मंसिर–पुसको कठ्याङ्ग्रिदो जाडोमा । यस अर्थमा हामी हर्षित छौँ । ख्वपको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक आयामले त झन् नयाँ उत्साह तथा ऊर्जाको सञ्चार गर्दै छ । यो घमण्ड या आत्मश्लाघा जरूर होइन । यो यथार्थ हो । यो आत्मगौरव हो । आत्मस्वाभिमान, आत्मगौरव अन्यथा होइन ।
अन्त्यमा, यति भन्न चाहन्छु, टाढा क्षितिजतिर हेर्दा फर्केर हेर्ने गर ¤ विगत घरिघरि सम्झने गर ! नयाँ नयाँ चिज देख्दा पुराना वस्तु बिर्सने नगर ! किनभने, हरेक नयाँ एकदिन पुरानो बन्नेछ र हरेक पुरानो एकदिन फेरि नयाँ अनुभव हुनेछ । सुदूर गन्तव्यतिर हेर्दै गर्दा आप्mनो धरातल बलियोसँग टेक्ने गर ! किनकि, उडान धरातलविना सम्भव नहुन सक्छ ।
(नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको वार्षिकोत्सव समारोहमा दिनुभएको मन्तव्यको सम्पादित अंश–सं.)
Leave a Reply