भर्खरै :

नेपालको आर्थिक चिन्तनमा भूमि र जनको स्थितिले प्रस्तुत गरेका केही विसङ्गति

(लेखक गोविन्दप्रसाद लोहनीको प्रस्तुत लेख विसं २०३४ साल पुसमा ‘रुप–रेखा’ मासिकमा प्रकाशित भएको थियो । लोहनीको निधनपछि २०७८ कार्तिकमा प्रकाशित शारदा मासिकको गोविन्दप्रसाद लोहनी विशेषाङ्कमा पुनः प्रकाशित भएको थियो । विद्वान लेखकको प्रस्तुत लेखको अध्ययन अझै पनि सान्दर्भिक भएकोले साभार गरिएको छ–सम्पादक)
आर्थिक, सामाजिक र निकै हदसम्म राजनीतिक व्यवस्थाहरूसमेत केही समुदायले जे जस्तो इच्छा ग¥यो त्यहीअनुरूप बनाउन र त्यही बाटोमा विकास गर्दै लग्न सकिन्छ भन्ने दार्शनिक आदर्शवाद व्यवहारमा सफल हुन सक्दोरहेनछ । राष्ट्रका सम्पूर्ण भौतिक र मानवीय यथार्थहरूले इङ्गित गरेको बाटोबाहेक अरु विकल्पतिर लाग्दा समय, शक्ति र साधन त्यसै खेर गई अन्ततः यथार्थवादतिर नै फर्कनु पर्दोरहेछ । यो कुरा मानवजातिको अतीतले मात्र होइन, समसामयिक व्यापक घटनाक्रमहरूले पनि सिद्ध गर्दै आएको देखिन्छ । मानव स्वतन्त्र इच्छा (फ्रि विल) भएको प्राणी हो भन्ने हामी दम्भपूर्ण र आत्मप्रशंसक (सेल्फ कङ्गयाचुलेटरी) विश्वास राख्दछौं, तर गहिराइमा गएर हेर्दा यो ‘स्वतन्त्र’ ‘इच्छा’ भन्ने कुरा ठीक बाटो र सफल हुनसक्ने बाटोका बीच स्वतन्त्रतापूर्वक रोज्ने कुरामात्र हो । ज्ञात र अज्ञात तथा चेतन र अचेतन विभिन्न कारणहरूले निर्धारण गरको ‘हाम्रो इच्छा र रोजाइ वास्तवमा कतिसम्म साँच्ची नै स्वतन्त्र हुन्छ भन्ने कुरा शङ्कास्पद नै छ । मनोविज्ञान, समाजशास्त्र र वर्ग विश्लेषणका आधुनिक अनेक विज्ञानहरूको प्रकाशमा स्वतन्त्रता वास्तवमा स्वले होइन, अरू कुराले नै निर्धारण गर्दारहेछन् भन्ने बुझिन्छ । वस्तुस्थिति र तीनका प्रवृत्तिहरू र आर्थिक सामाजिक मूल गतिहरूलाई प्रत्यक्ष अनुभव नगरी वा गहिरो र व्यापक अध्ययन नगरी कोरा कल्पना र मनपरेको रूपमा भावी स्थितिको चित्र मनमा नचाएर समाधान खोज्ने मनोगत प्रक्रियाबाट वस्तुस्थिति बदल्नभन्दा मनोगत अर्थात् कलात्मक सन्तुष्टिमात्र प्राप्त हुन सक्छ । कुनै पनि मानिसले आफ्ना सबै इच्छा वास्तविकतामा परिणत गर्न सम्भव पनि नहुने हुँदा र मानिस इच्छाहीन (निष्काम) स्थितिमा पुग्न धेरै नै उच्च आध्यात्मिक स्थिति आवश्यक पर्ने हुँदा सबै क्षेत्रमा मनोगत समाधान त्याग्नु न त आवश्यक नै छ न त वाञ्छनीय नै । कला जगत्, स्वप्न जगत्, आस्था र विश्वासको जगत् अयथार्थ, माया र काल्पनिक नै हुन्, तापनि तिनलाई नलिई मानिस रूखा पशुवत् वस्तुवादी हुन्थ्यो, अनि उसले यति भौतिक र आध्यात्मिक प्रगति गर्नसक्दैनथ्यो ।
आर्थिक, सामाजिक र राजनीतिक यथार्थलाई बढी उन्नत अवस्थामा लग्ने सम्भव बाटो भने निर्णायक कुराहरूमा वस्तुगत चिन्तन लिएमात्र पाउन सकिन्छ । तर, कसले मात्रै आफ्नो चिन्तनलाई वस्तुगत ठान्दैन होला । यसैमा त स्वको भ्रान्ति छ आफ्नो चिन्तन वस्तुगत नहुन पनि सक्दछ भन्ने नम्रताको विकास जसले गर्नसक्दछ, आफूले नबुझेका, नसोचेका, नपढेका कुरा धेरै–धेरै छन् भन्ने जसले बुझ्छ, त्यसले मनलाई वस्तुगत बनाउन वैज्ञानिक ज्ञान विधिको अभ्यास प्रारम्भ गर्छ र वस्तुगत तथ्यहरू निरन्तर पाँचै इन्द्रियबाट सोर्न थाल्दछ । प्रत्यक्ष ज्ञानको लागि ऊ योजनाबद्ध तयारीका साथ भ्रमण गर्दछ, मानव स्थितिका विविध रूपहरूको प्रत्यक्ष अनुभव गर्दछ, अनेक प्रकारका र धेरैसँग सम्पर्क राखेर तथा विविध दृष्टिबाट लेखिएका गहन सामग्री पढेर विभिन्न दृष्टिबाट देखिने र वर्णन गरिने संसारको दर्शन पाउँदछ । ऊ किसिम किसिमका अहङ्कारी अभिव्यक्तिहरू र स्वार्थी लामा चिप्ला कुराहरू, शब्दजालहरू, अनेक पाण्डित्य प्रदर्शनहरू चुपचाप सुन्दछ, हावभाव निरीक्षण गर्दछ । जसको व्यापक वस्तुगत अनुभवजन्य ज्ञान जति कम, उसको व्यक्तित्वमा आडम्बर र घमण्ड तथा उसको आलोचनामात्र गर्ने र समस्याको नाटकीय समाधान प्रस्तुत गर्ने स्वभाव र मूढाग्रह उति बढी भन्ने सूत्र पहिल्याउँछ । मानिसहरूको वस्तुस्थितिबाट उसले आर्थिक, सामाजिक, राजनीतिक गतिविधि र प्राविधिक तथा मुलुकबाहिरका यथार्थहरूको समेत स्वाभाविक र अनिवार्य प्रवृत्ति बुझेर ठीक बाटो अर्थात् सफल हुनसक्ने बाटो रोज्दछ । यहीमात्र स्वतन्त्र र उच्चस्तरीय चिन्तनपद्धति हो ।
बाटो रोज्ने कुरा पनि वास्तवमा सम्झौताकै कुरा हो । ठीक नै बाटो भए पनि धेरैलाई स्वीकार्य छैन भने पहिले सुरुमा त के कतिसम्म स्वीकार्य हुँदै जाला र स्वीकार्य बनाउँदै लग्न के–कस्तो सञ्चार विधि तथा अन्य उपायहरू लिनुपर्ला भन्ने सोचेर क्रमिक पाइला चाल्नु, सत्यलाई कटु रूपमा भन्दा मीठो रूपमा प्रस्तुत गर्नु र हतारोको सट्टा धैर्य र उदाहरणको बाटो लाग्नु समस्याको व्यावहारिक समाधान हो जो बेटाइममा कटुसत्य बढ्ता बोल्दछन्, तिनले थाहा नपाई त्यस सत्यको स्वीकृति र कार्यान्वयनमा ठूलो बाधा पु¥याउँछन् । प्रायः दण्ड पनि पाउँदछन् । अर्कोतिर जो सत्यको सट्टा निजी स्वार्थअनुसारका कुरा बढ्ता बोल्छन्, तिनले तत्कालिक सफलता पाए पनि आफू र युग दुवैलाई अन्ततः ठूलो हानि पुयाउँछन् जो यथास्थिति नै सर्वोत्तम परिवर्तन खतरनाक ठान्दछन् र अर्कोतिर जो तुरुन्तै व्यापक परिवर्तन होस् भनेर कराउँछन् ती दुवै प्रकारका अतिवादीहरू चिन्तनको मनोगत विकृतिले ग्रस्त प्रतिक्रियावादी वा उग्रवादी हुन्छन् । वर्तमानलाई अतीतको घेराभित्र खाँदन सकिन्छ भन्ने धारणाले प्रतिक्रियावाद उत्पन्न गर्छ भने वर्तमानमै भविष्य अटाउन सक्छ । अतः तुरुन्तै व्यापक परिवर्तन गर्न सम्भव छ, मानवीय र भौतिक स्थितिमा नाटकीय परिवर्तन गर्न सकिन्छ भन्ने अनुभवहीनताजन्य कोरा किताबी र युवाको जोसिलो सोचाइले उग्रवादी प्रवृत्ति उत्पन्न हुन्छ । अपरिपक्वता र मनोगतता (सब्जेक्टिभिज्म) उग्रवादको आधार हुने हुँदा उग्रवादीहरू जिम्मेवारी बोकेपछि क्रमशः यथार्थवादी हुँदै आउँछन् । अतः केही जिम्मेवारी सुम्पनु नै यस रोगको इलाज हो ।
आजको अन्तर्राष्ट्रिय सुगम सञ्चारको युगमा उग्रवादी कुरा प्रगतिशीलको प्रदर्शन गर्ने पाखण्डी (डेमोगगिक) माध्यमको रूपमा पनि प्रशस्त देखापर्दछ । यस्ता सुविधा प्राप्त वर्गको उग्रवादले खास हानि गर्दैन, प्रतिक्रियावादी प्रवृत्तिलाई निरुत्साहित पार्न र मानवतावादी चेतना व्यापक पार्न अरू केही सहायक नै हुन्छ धनी र माथि उठेका व्यक्तिले प्रगतिशील कार्यक्रमको हुँकार दिंदा प्रायः उग्रवादी भन्ने आलोचना पनि गरिंदैन भावुक क्षणका उद्गार सम्झिइने हुनाले होला । कवि र दार्शनिकहरूले हर युगमा बडा बडा उग्रवादी आदर्शका कुरा बोल्दै नै आएका छन् तर वास्तविक उग्रवाद भने हानिकर कुरा हो यथास्थितिवादीले वा निहित स्वार्थीले प्रगतिशील परिवर्तनका व्यावहारिक कुरालाई पनि उग्रवादको संज्ञा दिएको हो कि भन्ने पनि सोच्नुपर्ने हुन्छ ।
महान् व्यक्तित्वहरूले समसामयिक स्थितिमा के कति व्यावहारिक हुने र के कति उग्रवादिता वा स्वार्थी गतिरोधका वा अवसरवादी कुरा हुने भन्ने छुट्याएर कदम र व्यवहारमा सन्तुलन राख्दछन् । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, प्रगतिशीलता र लोकसम्मतिमा आधारित व्यवस्थाको, धर्म र संस्कृतिको, राष्ट्रिय व्यक्तित्व र अन्तर्राष्ट्रिय सम्मानको स्थिति विकास गर्दै लग्नमा यस्तै सन्तुलित चिन्तन र व्यवहारको निर्णायक भूमिका हुन्छ । नेपालको विगत दुई सय वर्षको आर्थिक स्वरूपको इतिहासको र वर्तमान गतिविधिको राम्रो विश्लेषणले यस्तो चिन्तन र व्यवहार उत्पन्न हुन सहायक हुनेछ ।
अठारौँ शताब्दीको अन्तिमकालसम्म नेपालको सबै व्यवस्थामा तराईको खास आर्थिक उपयोगिता थिएन । सायद नेपाली राजाहरूले दक्षिणतिर विस्तार गर्न खास प्रयास नगरेको कारण पनि ती क्षेत्रहरू अधिकांशतः घना जङ्गलले ढाकेको, औलिया, दुर्गम र आर्थिक लाभजस्तो केही नहुने भूमि भएकोले नै होला तत्कालीन भारतका विभिन्न राष्ट्रहरू (राज्यहरू) संग लेनदेन, हिन्दू र बौद्ध तीर्थहरूको यात्रा र सानो परिमाणमा छिमेकी राष्ट्रहरूसँग केही व्यापार त्यसबेला पनि हुन्थ्यो र नेपाली दरबारियाहरू वा निजी काम विशेषले दिल्ली, लखनऊ, बनारस, प्रयाग, पटना र कलकत्तासम्म यदाकदा त्यसबेला पनि जान्थे । महिना दुई महिनाको घोडा, हात्ती वा पालकी वा डुङ्गाको सफर हुन्थ्यो होला । त्यसबेला नेपालको निकासी व्यापारको परिमाण अत्यन्त कम थियो । त्यसैले, पैठारीको परिमाण पनि अत्यन्तै कम थियो । नेपाली जनसङ्ख्या भन्नु नै पहाडी जनसङ्ख्या थियो । त्यसबेलाका बीस–पच्चीस लाख पहाडीहरूको लागि पहाडमै प्रशस्त खेतीयोग्य जग्गा उपलब्ध थियो, गाईवस्तु प्रशस्त थिए, चरन र वन प्रशस्त थियो र पहाडका विभिन्न जिल्लामा विभिन्न धातु र अन्य खनिज पदार्थका खानीहरू पनि चालु थिए तामा, फलाम, सुन आदि उत्पादन गरिन्थ्यो, आवश्यक भाँडाकुँडा, सिक्री, छड, खुकुरी, तरबार, खुँडा, भरुवा बन्दुक र साना तोप, कीला–काँटा आदि बनाउने गाउँले उद्योगधन्दा प्रशस्त थियो । अतः पहाडी नेपाल आत्मनिर्भर थियो (नुनमात्र पैठारी गरे पुग्थ्यो, उन्नत थियो (किनभने खाने लाउने कुरा सबै मुलुकमै उत्पादन हुन्थ्यो र आवश्यक सबै औद्योगिक वस्तु मुलुकमै बन्थ्यो) र स्वाभिमानी थियो तर सामन्ती युग भएकोले भूमि र अन्य सम्पत्तिको वितरणको ज्यादै विषमताले गर्दा केही समुदाय शोषित, दलित र गरीब पनि थिए । कमारा–कमारी भएर बाँच्नुपर्ने समुदाय पनि थिए । जग्गाजमीन भएका खातापिता बाहुन र क्षेत्री तथा नेवार व्यापारी र प्रशासकबाटै मात्र त्यसबेलाका कुलीन र एलिट उत्पन्न हुन्थे । त्यस जमानाका बुद्धिजीवी, कवि, दार्शनिक, भक्त र शास्त्रीहरूको सोचाइ र भनाइ तथा लेखाइ र गराइको वर्गीय आधार सामन्ती र सामन्तयुगीन बनिया पूँजीवादी आर्थिक, सामाजिक गठनबाट बनेको पाउँछौँ । तत्कालीन नेपाली राष्ट्रवादको स्वरूप पनि यिनै बुद्धिजीवी दरबारियाहरूको हितको प्रतिनिधित्व गर्ने प्रकारको थियो । उत्तर भारतका राष्ट्रहरूका राजाहरूको सम्पन्नता, कला र संस्कृति तथा ज्ञान शौकतको चर्चा नेपाली दरबारहरूमा बराबर हुँदो हो । यसबाट केही कुरामा हीनताग्रन्थी पनि बन्दो हो । चाहना र मजबुरीको मन्थनबाट विवेकीकरण (न्यासनलाइजेसन) गर्दै ईष्या, डर, आत्मलघुताको अनुभूतिले पनि उग्र राष्ट्रवादको विकास गर्दो हो । राज्य विस्तारको प्रयास तराई जित्नु वा फैलाउनुका लागि होइन, खेती भइरहेका सम्पन्न राज्यहरूलाई जित्नुको लागि हुनेगर्दथ्यो । तराई त्यसबेला मुरादाबाद, सहारनपुर, बरेली, सीतापुर, गोण्डा, बेतिया, सीतामढी, दरभंगा, गोरखपुर, मुज्जफरपुर, पूर्णिया, भागलपुर, राधिकापुरसम्मलाई नै भनिन्थ्यो । त्यसपछिका सम्पन्न क्षेत्रमा पुग्न तराईको घना जङ्गल सय पचास कोस छिचोल्नुपर्दथ्यो ।
इष्ट इन्डिया कम्पनीसँग सुगौलीको सन्धि भएपछि नेपाली विस्तारवादलाई ब्रिटिश विस्तारवादले सीमित हुन बाध्य पा¥यो । नेपाली पहाडी जोस कुण्ठित भयो । अब आवादी जग्गा राज्य विस्तारवाट प्राप्त हुन सक्तैनथ्यो । नेपाली सम्पन्न र एलिटहरूको आकाांक्षा र अहम् कुण्ठित भयो । दरबार सामुदायिक र जातीय ईष्या, द्वेष र षडयन्त्रहरूको अखडा भयो । पाँडे र थापा खलकहरू प्रशासनिक सत्ताका लागि गुट बनाएर जुध्न थाले । कोही–कोहीले विदेशी राज्यहरू र अङ्गे्रजसँग समेत गोप्य सम्पर्क राख्न थाले । यस स्थितिले गर्दा एक जङ्गबहादुर राणा पैदा भयो । एक सय चार वर्षसम्म अङ्गे्रजको समर्थनबाट राज्य गर्ने एक सैनिकतन्त्र चल्यो । यो तन्त्रको आर्थिक जग (म्याटेरियल बेस) तराईको आवादीले नै बनाएको हो । क्रमशः दश पन्ध कोस चौडा झापादेखि तौलिहवासम्मको तराई नै नेपालको अर्थव्यवस्थाको मेरुदण्ड बन्दै गयो । पछि गएर कञ्चनपुरसम्म पनि आवादी हुन थाल्यो । तराईलाई आर्थिक महत्व दिलाउनमा मुख्य भूमिका रेलवेको नै थियो ।
सन् १८६० ताका भारतमा रेलवे लाइन विछ्याउन थालियो र सन् १८७०.८० ताका नेपाली तराई नजिकका भारतीय तराईमा रेलवे लाइन आइपुग्न थाल्यो । जनसङ्ख्या वृद्धि र सहरहरूको विकासले गर्दा भारतका बजारमा खाद्यान्न, काठ, दाउरा, तोरी, घिउ र विभिन्न औद्योगिक कच्चापदार्थको माग पनि तीव्र बेगले बढ्न थाल्यो । तराईका जङ्गलमा फँडानी गरी गाडामा हालेर काठपात तीन चार दिनको ढुवानीबाट रेलहेडसम्म पुग्न सम्भव भएको, तराईमा भारतबाट रैती ल्याई, आवादी गराई भारतमा निकासी गर्ने पदार्थहरू उत्पादन गर्न र यो अनुमति दिए वापत नेपाल दरबार (राणा दरबार) लाई रोयल्टी, मालपोत आदि कर तिर्न तयार चौधरीहरू काठमाडौँ दरबारहरू धाउन थालेका, ठेक्का पाउन मद्दत गर्न नेपाली दरबारियाहरूलाई सहभागीसमेत बनाउन थालेका आदि नयाँ स्थितिले तराईको आर्थिक उपयोगिता एकाएक एकदम बढ्दै गयो । अनि नेपाल सामन्तहरू, विभिन्न नेपाली दरबारियाहरूमा प्रभावशालीहरू, चाकडीबाजहरू, प्रशासकहरू, गुरुज्यू र पुरोहितहरू, जर्नेलहरू, ठूला राणाजीहरूका पहाडिया नातेदारहरू सबै ठराईमा बिर्ता र रैकरका रूपमा जग्गा पाउन शक्तिशालीहरू कहाँ चाकडीमा तँछाडमछाड गर्न थाले । क्रमशः जङ्गल वितरण, भूमि वितरण हुनथाल्यो । तराईको जङ्गल साफ हुन थाल्यो, कटानी र गोलिया काठबाट जग्गाधनी ठेकेदार र वन–प्रशासकहरू मालामाल हुनथाले । जङ्गल ताछेर खेतमा परिणत गर्न थाले । कृषि उपजहरू किन्न भारतीय महाजनहरू आफ्नै गाडा लिएर खेतखलिहान भई आइपुग्थे र भिक्टोरिया, एडवर्ड जर्ज पाँचौं आदिको चित्र भएका खँदिला चाँदीका रुपियाँहरू (वैदेशिक मुद्रा) गनेर बुझाउँथे । तराई मौलिक आम्दानीको, त्यो पनि विदेशी मुद्रामा प्राप्त हुने धनको, ठूलो स्रोत बन्यो । यस आम्दानीले प्रतिवर्ष अब ठूलो परिमाणमा बेलायती, भारतीय, जापानी र अन्य मुलुकका औद्योगिक सामग्री नेपालमा पैठारी हुनथाल्यो । काठमाडौं उपत्यकामा राम्रा राम्रा दरबारहरू बन्न थाले । आधुनिक सिँगारपटार आयो । राणा दरबारको रहनसहनको नयाँ ढाँचा, गुरुज्यू, पुरोहित, काजी, सर्दार र सुब्बाहरू, नेवार, साहू र पहाडिया सामन्तका घरहरू फैलियो । यसैको धाक हुन्थ्यो ।
तराईका उपजहरूको निकासी र भारतबाट अनेक उपभोग्य वस्तुहरूको पैठारी गर्न भारतीय क्षेत्रहरूबाट गर्मी खप्न सक्ने नयाँ भारतीय मधेशी व्यापारीहरू तराईमा आएर कारोबार गर्न थाले । गोदाम, कोठी, हवेली, राइस, आयल र जुट मिल खुल्न थाले । कच्ची सडकहरू बन्न थाले, गाडाहरू गुड्न थाले । लहरीहरू रेलहेडतिर आवतजावत गर्न थाले, बढ्दो सक्रियताले गर्दा अमलेखगञ्जमा नेपाली रेल बनाइयो, भीमफेदीसम्म सडक बन्यो, काठमाडौँसम्म रोपवे बन्यो । तराईको उपजको ठूलो भाग काठमाडौँ उपत्यकाका कुलीन र एलिटहरूको आय हुने हुँदा यो उपत्यका आधुनिक विदेशी वस्तुहरूको उपभोगको प्रमुख केन्द्रको रूपमा विकसित भयो र यस उपभोक्ता नगरीलाई व्यापारिक मुनाफाको केन्द्र बनाउन परम्परागत नेवार साहू, व्यापारीभन्दा पनि मारवाडी र अग्रवालहरू बढ्ता सक्रिय भए । यस विदेशी व्यापारीहरूको अतिक्रमणलाई मुकाबिला गर्न नेवार, उच्च प्रशासक र नेवार साहुजी व्यापारीहरूका गुटहरू बन्न थाले । नेपाली राष्ट्रियता र राष्ट्रवादको आयाम र व्यापारको यो प्रवृत्ति तीव्र वेगले बदलिन थाल्यो । गर्मी र वर्सात्मा पहाड र काठमाडौँ उपत्यकामा बस्ने र दशैंंपछि तराईमा आपफ्नो जग्गाको आयस्ता सोर्न पुग्ने, अस्थायीजस्तो निवास त्यहाँ पनि बनाउने, धोती, कुर्ता, कमिज प्रयोग गर्ने औलोबाट बच्ने औषधिको रूपमा (वा नरमाइलो तत्कालीन तराई जीवन भुलाउने) गाँजा तान्ने र हरदम धान, पटुवा, काठ, तोरी आदिको भाउको चर्चा गर्ने, थारूका छोरी बेटीको उर्लंदो यौवनमा आँखा गढाएर दारूपान गर्ने, पान र खैनीका शौकिन हुने, भारतका सहरतिर घुमफिर, किनमेल, मन बहलाउ, पाप प्रक्षलन र पुण्य आर्जन, रोगको उपचार आदि गरेर आउने, परिवारसहित तराईमा हिउँदभरि बस्ने, गर्मी पच्दै गएका र खेतीपाती आफैले हेरचाह गर्नुपर्नेहरूले तराईमै स्थायी निवास बनाएर बस्ने, कहिलेकाही मात्र पहाडतिर जाने, हिन्दी, भोजपुरी, मैथिली, उर्दू, मिसिएको खिचडी नेपाली बोल्ने र सांस्कृतिक आदि कुरामा भारततर्फ नै बढी अभिरुचि राख्ने भारतोन्मुख नेपाली जग्गाधनी एलिट वर्ग पनि उत्पन्न हुन थाल्यो । भारतका राजनीतिक दलहरूमा केही यस्ता अङ्गे्रजी पढेका असन्तुष्ट नेपालीहरू पनि संलग्न हुन थाले । सन् १९३० पछि कोही नेहरूवादी र गान्धीवादी, कोही समाजवादी, कोही कम्युनिस्ट, कोही कट्टर हिन्दूवादी बन्न थाले । उता बडाहाकिम, सुब्बा, खरदार, थानेदार, इन्स्पेक्टर, डिठ्ठा, विचारी, लेखनदास आदि व्यूराक्रेसीको आफ्नै संस्कृति र भाषा र रहनसहन बन्न थाल्यो । धेरैले सेवाकालमा तराईमा जग्गा पनि जोडे । तराईमा शिकार खेल्ने, सुकुटीका बोराहरू काठमाडौँ, तानसेन, डोटी, भोजपुर, धनकुटा र इलाम चलान गर्ने, गर्मीमा पिसाब खलास गर्न भारतीय बजारबाट वियर र बरफ मगाएर खाने, रेफ्रिजिरेटर, पङ्खा र पछि–पछि एयर कन्डिसनर राख्ने, फरेन ड्रिङ्क्सका बोतल खोल्ने, एलिटहरूका क्लव खोल्ने, फ्रायडवादको प्रचार गर्ने, न्युडिजमको प्रसार गर्ने आदि अनेक अनेक प्रकारका तराईवासी सम्पन्न समुदायहरू देखिन थाले ।
साहित्यमा नेपालीको तराई कल्चरबाट नयाँ विधा, शैली र सुर निस्कन थाले । हिमाल, चिसो, हावा, कलकल बग्ने जलस्रोत तथा माइली र कान्छी मात्रमा सीमित साहित्यिक कल्पनाभित्र लाहुरे कल्पना, तराईको तराई फाँट, बडा–बडा नदी, वनजङ्गल, बाघ, गैँडा र हात्ती, रेलको आवाज, मिल, कारखाना र मजदुरका जीवन, मधेसी पात्रहरू, नयाँ चरित्रहरू, राजनीतिक अर्थहरू आदि पनि देखापर्न थाले । सम्पत्तिले केही सुसंस्कृत राणा, गुरुज्यू, पदाधिकारी र अन्य बौद्धिक तत्व पनि उत्पन्न ग¥यो । नेपालका शेक्सपियर, चाणक्य, शेली, टल्सटाय आदि देखापर्न थाले । अङ्गे्रजीमै बढ्ता बोलेर उच्चताको प्रदर्शन गर्ने, आधुनिकताको प्रभाव देखाउने तर वास्तविक सुधारका घोरविरोधी समुदायहरू पनि देखापर्न थाले । शासक वर्ग र शासित व्यापक जनताबीच मनोवैज्ञानिक र सांस्कृतिक दूरी झन्–झन् बढ्न थाल्यो । देश, समाज र जनताबाट टाढा हुँदै गएका बुद्धिजीवीहरू पैदा भए, आफ्नो अलग्ग संसार बनाउन थाले, आफ्नै गुनासोहरूलाई मात्र नेपालको समस्या ठान्न थाले । स्वदेशमा विदेशीजस्ता यो औपनिवेशिक खालका बौद्धिक प्राणीहरू आमजनतालाई पाखे, गाउँले, नेटिभ भनी हेला गर्थे । बेलायत, युरोप र अमेरिका तथा भारतका कुरामा मात्र चाख राख्थे । संस्कृतका पण्डितहरूलाई पुरानो युगका अवशेष ठानेर कुरा गर्थे तथा नेपाली भाषामा लेख्नेहरूलाई गवाँर बुद्धिजीवीमा गन्थे । कन्भेन्ट स्कूलमा हुर्कने यस आधुनिकताको आर्थिक, राजनीतिक आधार भने जग्गाजमीन, चाकडी तथा सैनिक तानाशाही र ब्रिटिशको खुसामद थियो, यही त ठूलो विसङ्गति थियो ।
नेपाली पहाडी उद्योगहरू प्रतिस्पर्धामा टिक्न नसकेर लुप्त हुँदै गए । अनौद्योगिकीकरण (डिइन्डस्ट्रियलाइजेसन) को यो क्रियाले बेरोजगारी बढायो, कृषि जग्गाको माग झन् तीव्र वेगले बढ्न थाल्यो । जनसङ्ख्या वृद्धि, उद्योगको ह«ास र बढ्दो गरिबीले गर्दा पहाडीहरू (खासगरी ज्यादा शोषित र दलित जातका पहाडीहरू) रोजगारी र कृषि जग्गाको खोजमा भारत, वर्मा, मलेसियासम्म विदेशिन थाले । विदेशी फौजमा भर्ना हुन्थे, दरवानी र बहादुरी (होटेलमा भाँडा माझ्ने) गर्थे, आसाम र वर्मा गएर गोठ थाप्थे वा खेती गर्थे । यिनका आफ्नै प्रवासी सभ्यता र संस्कृति बन्न थाले । लाहुरेले नेपालका पहाडी गाउँहरूमा नयाँ विचार, सभ्यता, भाषा र भेषभूषा ल्याउन थाले । मुगलानका कुरा अब ब्रिटिश भारतका कुरा भए । ब्रिटिश भारतमा अखबार स्वतन्त्रताका कुरा, न्याय कानुनका आधुनिक कुरा, आधुनिक यन्त्र र प्रविधि, पश्चिमी शिक्षा र रहनसहन फैलिंदो थियो । उता नेपाली जग्गाधनीहरू खासगरी तराईमा बिर्तावाल, जिम्मेदार अन्य जग्गा जोड्नेहरूको रहनसहन, –उपभोगको चरित्र, बानीव्यहोरा, हावभाव, शिक्षा दीक्षा, सोचाइ र व्यवहार पनि क्रमशः आधुनिक अर्थात् ब्रिटिश र भारतीय औपनिवेशिक पूँजीवादी बन्न गयो । राणाशाही पावरमा हिस्सा पाउन नसकेका पाएर गुमाएका, लघारिएका, आधुनिक उच्च शिक्षा पाए पनि कदर नपाएका सम्पन्न जग्गाधनी र व्यापारी तत्व अब राणाशाहीविरोधी भए, लुकिछिपी वा भारत बसी प्रजातन्त्रका कुरा गर्न थाले । प्रथम महायुद्धपछि भारतमा समाजवादी दलहरू पनि बन्न थाले । केही नेपाली कुलीन र एलिट समाजवादका कुरा पनि गर्न थाले । सन् १९४७ मा अङ्गे्र्रेजको शासन भारतमा खतम भो । नेपालमा पनि राणाशाही त्यसको पछि ढल्यो । रेल, सडक, जग्गा र अर्थव्यवस्थाको र त्यसबाट बदलिँदै गएको समाज र नयाँ स्थितिहरूको, विदेशी सहायता र विकासका कामहरूको तथा त्यसबाट उत्पन्न वर्गहरू तथा अनेक प्रवृत्तिहरूबाट आगामी दश पन्ध्र वर्षभित्रैमा नेपालमा अवश्यम्भावी देखिएका अनेक कुराहरूको सम्बन्ध सूत्रबारे गहिरो विश्लेषण गर्ने बेला अब भइसकेको छ । मलेरिया उन्मूलन र पश्चिम तथा उत्तर–दक्षिण राजमार्गहरूले पहाडमा पहिरो र भू–क्षयले र अन्य अनेक कुराहरूले गर्दा भूमि र जनको स्थिति ठूलो वेगले बदलिँदो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *