भर्खरै :

दैलेखमा नेक्राविसङ्घको एक्काइसौँ जिल्ला सम्मेलन

दैलेख, २५ मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, दैलेखको २१ औँ जिल्ला सम्मेलनको बन्द सत्र शुक्रबार सम्पन्न भयो ।
बन्द सत्रमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले समाजमा व्याप्त रुढीवाद र अन्धविश्वासको विरोध गर्नुपर्ने, विद्यार्थी कुलतमा लाग्न नहुने, विद्यार्थी अनुशासित, कर्तव्यनिष्ठ र लगनशील हुनुपर्ने बताउनुभयो । उहाँले कामदार वर्गका जनताका छोराछोरी राजनीतिकरूपले शिक्षित र वैचारिकरूपले परिपक्व हुनुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी जिल्ला समितिका सहसंयोजक जगत वलीले हरेक विद्यार्थी राजनीतिमा संलग्न भई गरिबहरूको पक्षमा वकालत गर्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङघका केन्द्रीय सहसंयोजक सुरेश परियारले विद्यार्थीहरूले समाज परिवर्तनमा अह्म भूमिका खेल्नुपर्ने बताउनुभयो । बन्द सत्रबाट केशबहादुर शाहीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । नवनिर्वाचित समितिलाई नेपाल मजदुर किसान पार्टी जिल्ला सदस्य मदनकुमार भण्डारी, नेमकिपा गाउँपालिका समिति अध्यक्ष मनराज थापा, नेक्राविसङ्घका तपेन्द्रबहादुर कठायत र विक्रम शाहीले बधाई तथा शुभकामना दिनुभएको थियो ।
नवनिर्वाचित समितिलाई शपथग्रहण जगतबहादुर वलीले गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *