भर्खरै :

पुँजीवादी पार्टीको महाधिवेशन

नेपालमा पुँजीवादी प्रजातन्त्र स्थापना गर्न भूमिका खेल्ने राजनीतिक पार्टी नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन शुक्रबार राजधानी काठमाडौँमा सुरू भएको छ । १०४ वर्ष लामो सामन्ती राणाशासन समाप्त गरी पुँजीवादी प्रजातन्त्रको जग राख्न नेकाका संस्थापक नेताहरूले भूमिका खेलेका थिए । भारतीय स्वतन्त्रता आन्दोलनका पुँजीवादी प्रजातन्त्र पक्षधर नेताहरूबाट प्रभावित नेका नेताहरूले नेपालमा पनि भारतकै जस्तो पुँजीवादी प्रजातन्त्र स्थापना गर्न खोजे । तत्कालीन नेपाली समाजको राजनीतिक र सांस्कृतिक स्तर, क्रान्तिकारी सङ्गठन भर्खरैमात्र उकासिन थालेको र समाजवादी विचारधाराबारे जनता सचेत नभइसकेको अवस्थामा सामन्तवादी व्यवस्थासँग ‘घाँटी जोडिएको’ वर्गका शिक्षित युवाहरूले तत्कालीन नेपालमा पुँजीवादी प्रजातन्त्र स्थापना गर्न खोज्नु उनीहरूको वर्गीय स्वार्थ थियो । नेपालमा २००७ सालको सङ्घर्ष हुँदा सोभियत सङ्घ स्थापना भएको ३३ वर्ष पूरा भइसकेको थियो । सोभियत सङ्घमा सामन्तवाद र पुँजीवादलाई पराजित गरी समाजवादी प्रजातन्त्रको अभ्यास भइरहेको थियो । तर, राणाशासनले संसारबाट अलग बनाएको नेपाली समाजसम्म रूसमा उदाएको त्यो क्रान्तिको न्यानो जागरण भर्खरैमात्र पुगेको अवस्थामा नेपाली समाजलाई पुँजीवादी प्रजातन्त्रतिर डो¥याउन नेकाका तत्कालीन नेताहरूलाई सहज भयो । भारतीय शासक वर्गले नेकाभित्रै पनि वैज्ञानिक समाजवादी विचारलाई उठ्न दिइएन । तर, बीपी कोइरालाजस्ता पुँजीवादी प्रजातन्त्र पक्षधर नेताहरूलाई अनेकन उपमा र विशेषण भिराएर नेपाली जनताबीच लोकप्रिय बनाइयो । सँगै समाजवादी प्रजातन्त्र पक्षधर नेताहरूलाई बदनाम गर्ने वा एक्ल्याउने काम भयो ।
समयान्तरमा उत्तरी छिमेकी देश चीनमा समेत समाजवादको झन्डा फहराए पनि भारतीय शासक वर्गले नेपालमा समाजवादी क्रान्तिको रातो झन्डा उठ्न नदिन नेका र कम्युनिस्ट आवरणमा नेकाकै गुढी बोकेका दलहरूलाई बढावा दिने काम गरियो । फलतः नेकाले देशमा पटक–पटक सरकार चलाउने मौका पायो । दुःखको कुरा, पटक–पटक सरकार बनाउने मौका पाएर पनि नेकाले देशलाई भद्रगोल अवस्थामा पु¥याउन, पुँजीवादी व्यवस्था बलियो बनाउन र देशलाई शोषणमूलक पुँजीको क्रिडास्थल बनाउनबाहेक व्यापक नेपाली जनताको हितमा कुनै उपलब्धिमूलक परिवर्तन ल्याउन सकेन । २०४६ सालको जनआन्दोलनपछि स्थापित नेका सरकारहरूले देशमा नवउदारवादी अर्थनीति लागु गरेपछि देश थप कमजोर र गरिब बन्दै गयो, विस्तारवादी पुँजीको मैदान बन्यो ।
नेकाले देशमा कस्तो व्यवस्था स्थापना गर्न चाहन्छ भन्ने कुराको छनक नेकाभित्रकै भद्रगोल अवस्था र धनीमात्र पार्टीमा टिक्न सक्ने वास्तविकताबाट सहजै विश्लेषण गर्न सकिन्छ । नेकामा श्रमिक जनताको स्थान भनेको चुनावमा मत हाल्नेबाहेक अरू हुनसक्दैन । पार्टीभित्रको आन्तरिक चुनाव जित्न पनि काङ्ग्रेसभित्रका सामान्य कार्यकर्तालाई हम्मेहम्मे पर्ने वास्तविकता सर्वविदित छ । त्यस्तो पार्टीमा व्यापक श्रमिक जनता निर्णायक तहमा पुग्ने अपेक्षा गर्नु आकाशको फल आँखा तरी मर भन्नुजस्तै हो । पटक– पटक सरकारमा गएर नेकाले देशहितविपरीतका सम्झौता गरेर शक्ति राष्ट्रको सेवा गर्ने गल्ती समेत गरेको छ ।
नेका पुँजीवादी पार्टी हो । पुँजीपति वर्गको सेवा गर्न पुँजीवादी पार्टीको स्थापना गरिएको हुन्छ । नेकाले स्थापना गर्ने राजनीतिक व्यवस्था पुँजीपति वर्गको सेवा गर्ने शोषणमूलक व्यवस्था हो । उसले स्थापना गर्न चाहेको पुँजीवादी प्रजातन्त्रले नेपाली जनताको हित नहुने वास्तविकता त आजसम्मका नेकाँ सरकारले नै पुष्टि गरिसकेको छ । इतिहासको विरासत र सरकारमा जाने दल हुनुको कारण स्वार्थवश मात्र वर्गीय रूपमा सचेत भइनसकेका श्रमजीवी नेपाली जनता नेकाको पछि लागेका छन् । तर, श्रमिक वर्गको शासन ल्याउन २००७ सालमा नेकाका नेताहरूले जसरी भूमिका खेलेका थिए, अहिलेको नेकाले पनि गर्ने त्यही हो । महाधिवेशनबाट जो नेता चुनिए पनि उसले श्रमिक वर्गमाथि शोषणमा आधारित व्यवस्थाकै पक्षधरता लिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *