भर्खरै :

कृषि क्षेत्रको आत्मनिर्भरताले देश आत्मनिर्भर बन्ने छ

भक्तपुर, २५ मङ्सिर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को २७ औँ वार्षिक साधारणसभा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले सहकारीहरूले युवाहरूलाई शैक्षिक तथा राजनीतिकरूपमा सचेत पार्दै लान सके देश तथा समाजको भविष्य राम्रो हुन्छ भन्नुभयो ।
उहाँले देशको अर्थतन्त्र आयातमुखी तथा परनिर्भर हुँदै गएको अवस्थामा देशको कृषि क्षेत्र आत्मनिर्भर हुनसकेमा सिङ्गो देश आत्मनिर्भर हुने भएकोले सहकारीहरू वित्तीय कारोबारमा मात्र सीमित नभई कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
युवा पुस्तामा सदाचार र अनुशासनको कमी देखिएकोमा चिन्ता व्यक्त गर्दै उहाँले शैक्षिक संस्थाहरूले गर्न नसकेका कार्य सहकारी संस्थाले गर्नुपर्छ भन्नुभयो ।
बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले सहकारीहरू आर्थिकरूपमा मात्र नभई अभिव्यक्तिको क्षेत्रमा पनि राम्रो हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पुरानो कला, सम्पदा, संस्कृति, भेषभूषा समुदायको धरोहर भएकोले सहकारी संस्थाहरूले नयाँ पुस्ताका लागि जगेर्ना गर्नुपर्ने र लोपोन्मुख बीउबिजनको जगेर्ना तथा प्रयोगमा पनि सक्रिय हुनुपर्छ भन्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले पछिल्लो ४÷५ महिनामा ५ सय वटाभन्दा बढी बहुउद्देश्यीय सहकारी संस्थाहरू बाग्मती प्रदेशमा दर्ता गरी स्थानीय तहको स्वीकृतिविना सञ्चालनमा आएको जानकारी गराउँदै गैरसमुदायमा आधारित सहकारी संस्थाहरूले अनुत्पादक क्षेत्रमा लगानी गर्दा बजारमा तरलता व्यवस्थापन गर्न कठिन हुन्छ भन्नुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष हरिरत्न गोर्खालीले सहकारी संस्थाहरू विपन्न वर्ग तथा निम्न आय भएका व्यक्तिहरूका लागि स्थापना भएको स्मरण गर्दै सहकारी संस्थाको गुणस्तर कारोबार तथा सदस्य सङ्ख्याले मात्र निर्धारण हुँदैन भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् संस्थाका अध्यक्ष राजन लाखाजुले सहकारी ऐन, नियमावली तथा निर्देशिका परिपालना गर्दै आइरहेको उल्लेख गर्दै क्ऋत् कार्ड तथा सिद्धि गणेश स्मार्ट बैङ्किङको प्रयोग गरिरहेको बताउनुभयो । सम्पत्ति शुद्धीकरण ऐनबारे चर्चा गर्दै उहाँले सदस्यहरूलाई सदस्य पहिचान फारम (प्थ्ः) अद्यावधिक गर्न अनुरोध गर्नुभयो ।
संस्थाका सञ्चालक राजाराम दुवालले पनि बोल्नुभएको सो कार्यक्रममा का.मु. व्यवस्थापक शिला गोसाईंले स्वागत मन्तव्य, उपाध्यक्ष विष्णुराम दुमरुले धन्यवादज्ञापन, सचिव रुद्रनारायण लाखाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष ईश्वरमान दुमरुले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक रामप्रसाद लाखाजुले प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *