भर्खरै :

“भक्तपुरको ‘ख्वप मोडल’ बाट देशले सिक्न चाहेको छ ”

भक्तपुर, २७ मङ्सिर । भक्तपुर नगरपालिकाले भक्तपुर नगरपालिका वडा नं. ४ गःहिटीमा अवस्थित लक्ष्मीनरसिंह मन्दिर पुरानै मौलिक शैलीमा पुनःनिर्माण गर्ने भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लक्ष्मीनरसिंह मन्दिरको सोमबार एक समारोहबीच शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रममा अध्यक्ष बिजुक्छेँले जनताको सम्पति जनताले नै संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउँदै भक्तपुरका अरू सम्पदा पुनःनिर्माणमा जस्तै लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणमा पनि स्थानीय जनताले अपनत्व ग्रहण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले गरिरहेको कार्यबाट देशभरिकै स्थानीय तहहरूले अनुकरण गर्न खोजिरहेका छन्, यो देशकै निम्ति राम्रो र सबल पक्ष हो भन्नुभयो ।
मौलिक सम्पदा संरक्षणले नयाँ पुस्ताको सेवा हुने औँल्याउँदैै अध्यक्ष बिजुक्छेँले नयाँ पुस्तालाई विद्यार्थी जीवनदेखि नै सम्पदाको महत्वबारे सिकाउनु आवश्यक छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नारालाई सार्थक बनाउने अभियानमा रहेको चर्चा गर्दै भक्तपुर नपाले गरेको सम्पदा संरक्षण कार्य नयाँ पुस्ताको निम्ति ठूलो उपलब्धिको रूपमा रहने बताउनुभयो ।
२०७२ सालको भूकम्पबाट क्षति पुगेको १२० वटा सम्पदाहरूमध्ये भक्तपुर नपाले ११८ वटा जीर्णोद्धार र पुनःनिर्माण सम्पन्न गरिसकेको र केही पुनःनिर्माणको क्रममा रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले उपभोक्ता समितिमार्फत मौलिक सीप, प्रविधि र जनताको सहयोगमा सम्पदा पुनःनिर्माण र जीर्णोद्धार कार्य सफलतापूर्वक सम्पन्न गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुरको लक्ष्मीनरसिंह मन्दिर नेपालको एकमात्र शक्तिसहित शान्त स्वभावको लक्ष्मी भएको नरसिंह मन्दिर भएको उल्लेख गर्नुभयो । भक्तपुर १२ औँ शताब्दीदेखिका सम्पदाहरू अवस्थित, सांस्कृतिक सम्पदा र प्राचीन मूर्तिले समृद्ध ठाउँ भएको चर्चा गर्दै इतिहासविद् श्रेष्ठले उक्त मन्दिर स्थिति मल्लको पालामा बनेको बताउनुभयो ।
दरबार हेरचाह अड्डा भक्तपुरका कार्यालय प्रमुख अरूणा नकर्मीले जनताको साथ र सहयोगमा निर्माण हुने लक्ष्मीनरसिंह मन्दिरप्रति जनताको अपनत्व हुनुका साथै समयमै सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । कृषि र प्रकृतिको संरक्षण भएन भने सम्पदा संरक्षणमा बाधा पुग्ने विचार राख्दैै भक्तपुरका मूर्त र अमूर्त सम्पदा एकअर्काको परिपूरक हो भन्नुभयो ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले एकतले जस्ताको छानाले छाएको उक्त मन्दिर हाल नगरपालिकाले दुईतले छानामा मौलिक स्वरूपमै पुनःनिर्माण गर्ने विचार व्यक्त गर्दै मन्दिर पुनःनिर्माणको लागि स्वेच्छाले आर्थिक सहयोग, चन्दा, दान, दातव्य दिन चाहने तथा श्रमदान गर्न सङ्घ संस्था, गुठी, टीम, क्लव तथा सर्वसाधारण जनतालाई सहयोगको लागि आग्रह गर्नुभयो ।
लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका पूर्वअध्यक्ष एवम् सल्लाहकार न्हुछेराम भेलेले मन्दिर पुनःनिर्माणको हालसम्मको आय–व्यय प्रस्तुत गर्दै पहिलो चरणको कार्य सम्पन्न भएपश्चात् हाल शिवराम किजुको अध्यक्षतामा लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण उपभोक्ता समिति पुनःगठन भएको, मन्दिर पुनःनिर्माणको कुल लागत रु. ३ करोड ७१ लाख, २७ हजार ५१५÷३८ पैसा रहेको र दोस्रो चरणको लागत इस्टिमेट ८७,९३,७०८÷४३ पैसा रहेको अवगत गराउनुभयो ।
कार्यक्रममा भक्तपुर न.पा. वडा नं. ७ का वडा सचिव विजय लोहलाले मन्दिर पुनः निर्माणको आवश्यकताबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *