‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
भक्तपुर नगरपालिकाले विद्यालयस्तरको नगरव्यापी खेलकुद प्रतियोगिता भर्खर सम्पन्न गरेको छ । २०७८ मङ्सिर २० देखि २४ गतेसम्म भक्तपुर नगर खेलमय भयो । १४ वटा विभिन्न खेलकुद प्रतिस्पर्धामा ७१ वटा विद्यालयका करिब १९ सय विद्यार्थी सहभागी भए । करिब ६ सय पदक तथा ट्रफीको निम्ति प्रतिस्पर्धा भयो । कोभिड महामारीको कारण सुस्ताएको खेल जगत्मा माध्यमिक विद्यालयस्तरमा आयोजित यो प्रतियोगिताले आशाको सञ्चार गरेको छ । यसपालिको प्रतियोगितामा सहभागिता तथा खेलको गुणस्तर कम हुनु स्वाभाविक भए तापनि सङ्क्रमण दर कम भएपछि आयोजित यो खेलकुद प्रतियोगिताको बेग्लै महत्व छ ।
महत्वपूर्ण कुरा, यसबाट हाम्रा बहुआयामिक सम्बन्धहरू बौरिएका छन् । अन्तर्राष्ट्रियस्तरमा पनि खेलकुद शारीरिक तन्दुरुस्ती, अनुशासन, नियममा मात्र सीमित छैन । खेलकुदले विश्वको आर्थिक, सांस्कृतिक, राजनीतिक, सामाजिक पक्षहरू समेटेको हुन्छ । खेलकुदकै माध्यमबाट संरा अमेरिका र जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको थियो । सन् १९७१ मा जापानमा आयोजित विश्व टेबुलटेनिस प्रतियोगितामा सहभागी संरा अमेरिकी र चिनियाँ खेलाडीले विस्तार गरेको आपसी सम्बन्ध झाङ्गिँदै गएर पानी बाराबारको स्थितिमा रहेका दुई देशबीचको सम्बन्धमा नयाँ शिराको आरम्भ भएको थियो । चिनियाँ खेलाडीको ‘मित्रता प्रथम, प्रतिस्पर्धा दोस्रो’ भन्ने नीतिबाट विश्वका खेलाडीहरू प्रभावित भएका थिए । सन् १९७२ फेब्रुअरीमा तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीनको भ्रमण गरे, उनी नै चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति थिए । यसलाई पिङपङ डिप्लोमेसीको रूपमा लिइन्छ । तर, आज समयले फेरि एकपल्ट कोल्टे फेरेको छ । चिनियाँ शैलीको समाजवादले एकपछि अर्को कौतुकमय सफलता प्राप्त गरिरहेको समयमा चीनको बदनाम गर्न संरा अमेरिकाले खेलकुद प्रतियोगितालाई नै हतियार बनाएको छ । बाइडन प्रशासनले २०२२ फेबु्रअरीमा चीनमा हुनलागेको शीतकालीन ओलिम्पिक कूटनीतिकरूपमा बहिष्कार गर्ने घोषणा गरेको छ । नैरोबीका प्राध्यापक स्टेफन न्डेगवाको शब्दमा संरा अमेरिकाले उही पुरानो ‘लङ्गडो’ तर्क गरेर खेलकुद बहिष्कार गरेको छ तर यस्तो तर्कमा विश्वले पत्याउने आधार छैन । चीनको मानवअधिकारको अवस्थाबारेको अमेरिकी आरोप स्वतन्त्र निकायहरूले गरेको निष्पक्ष अध्ययनलबाट आधारहीन भएको पुष्टि हुँदाहुँदै पनि त्यही मानवअधिकारको बहाना बनाएर ओलिम्पिक बहिष्कार गर्नु सरासर हास्यास्पद छ । संरा अमेरिकाले भविष्यमा यसको मूल्य चुकाउनुपर्ने नै छ । जेहोस् खेलकुद खेलकुदको निम्ति मात्र होइन, यसमा समग्र सम्बन्ध जोडिएको हुन्छ । यसबारे अहिलेलाई यत्ति भनौँ !
नेपालको गति
केही वर्षअघि नेपाल सरकारले हरेक विद्यालयमा खेलकुद प्रशिक्षकको बन्दोवस्त गर्ने घोषणा गरेको थियो । अगाडिका सरकारले एक विद्यालय एक खेलकुद प्रशिक्षकको व्यवस्था गर्न बजेटसमेत नछुट्याएको होइन । केही वर्षअगाडि एकजना खेलकुदमन्त्रीले प्रत्येक सरकारी विद्यालयको निम्ति खेलकुद मैदानको व्यवस्था गर्ने घोषणा पनि गरेका थिए । ती सरकारी घोषणा कागजमै सीमित छ भन्नुपर्छ । विद्यालय तहमा खेलकुदको विकासको निम्ति आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्ने कुरा पनि एकादेशको कथा बन्ने त होइन ? नेवारीमा एउटा आहान छ, ‘खाँँ ङ थेँ ज्या मङ’ यदवा ‘गर्जने बादलबाट पानी बर्सिँदैन’ । यही हो सरकारको अगति ! सरकारको बोली र व्यवहारमा तादात्म्य हुँदो हो त देशको हालत आजको जस्तो विरक्तलाग्दो हुँदैनथ्यो होला !
सरकारको मुखमात्र ताकेर बस्ने कुनै पनि समाजले अग्रगति लिन सक्दैन । चाहेको खण्डमा जनताले आफ्ना सीमित स्रोतसाधनको परिचालन गर्दा पनि ठूला योजना सम्पन्न गर्न सकिन्छ भन्ने कुरा भक्तपुरले सिद्ध गरेको छ । सधैँ स्रोत र साधनको सीमितताको कुरा गर्ने, आफ्नो क्षमताप्रति विश्वास नगर्ने र सरकारले देला अनि खाउँला वा सरकारी बजेटमा तर मारेर आफ्नो उदर भरूँला भन्ने स्वार्थ राख्ने प्रवृत्तिबाट सभ्य समाजको परिकल्पना गर्न सकिन्न । त्यसैले होला, भक्तपुरले नयाँ बाटो समाएको छ । भनपाले एकपछि अर्को प्रशंसनीय काम गरिरहेकोमा सर्वसाधारण उत्साहित छन्, नयाँ पुस्ताकेन्द्रित खेलकुद कार्यक्रमले त्यसमा थप ऊर्जा दिनेछ । लामो समयदेखि खेलकुद गतिविधिमा सुस्तता छाएको अवस्थामा नगरपालिकाको यो अगुवाइले अब त केही हुन्छ भन्ने आशा जाग्नु पनि स्वाभाविकै हो । भक्तपुर नगरका ९२ विद्यालयमध्ये ७१ ले भाग लिनु आफैमा एक सङ्ख्यात्मक सफलता हो । करिब ६ सय पदकको निम्ति भएका खेलमा प्रत्यक्ष र परोक्ष हजारौँ विद्यार्थी सहभागी भए । यस्ता खेलकुद प्रतियोगिताको अनुभव र प्रभावका केस्राकेस्रा छुट्याउने हो भने देशकै निम्ति एक महत्वपूर्ण शिक्षा हुने विश्वास गर्न सकिन्छ ।
स्वाभाविकै रूपमा उत्पादनका साधन र उत्पादन सम्बन्ध परिवर्तनसँगै समाजमा अरू परिवर्तन देखापर्छन् । सामन्तवादी समाजको उत्पादनका साधन र उत्पादन सम्बन्धको भन्दा पुँजीवादी समाजमा छिटो परिवर्तन हुनु स्वाभाविकै हो । किसानहरू बिस्तारै मजदुरमा फेरिँदै छन् । यान्त्रिकीकरणको कारण शारीरिक श्रम गर्नेहरू बिस्तारै मानसिक श्रमतिर ढल्किँदै छन् । शारीरिक श्रमलाई हेला गर्ने संस्कृति भने सामन्तवादबाट पुँजीवादी समाजमा रूपान्तरण हुँदा पनि बाँकी नै देखिन्छ । आज श्रमप्रतिको सम्मानभन्दा पैसाको सम्मान गर्ने कुसंस्कृतिको विकास भएको छ । नेपालको शिक्षा व्यवस्थाले ‘ब्लु कलर जब’ होइन ‘ह्वाइट कलर जब’ गर्न उत्साहित गरिरहेको छ । भारतमा लागु बेलायती शिक्षाको नक्कल गरिएको नेपाली शिक्षा संरचनाले कारिन्दा उत्पादन गर्दै छ । सहरबजारका केटाकेटी खेतीपाती वा अन्य शारीरिक श्रमको काम गर्न अब बाध्य छैनन् । यसरी केटाकेटीको निम्ति शारीरिक व्यायामको आवश्यकता झन् तड्कारो भएको छ ।
व्यायामको ‘माइन्ड सेट’
शारीरिक श्रमले शारीरिक व्यायामकै काम गर्ने कुरा विज्ञहरू बताउँछन् । दिनभर खेतमा वा कार्यालयमा दौडधूप गरी काम गर्ने कतिपय मानिस ‘मर्निङ वाक’ गर्न नपाएको वा शारीरिक व्यायाम गर्न नपाएको भनी दुःख व्यक्त गर्छन् । यो ‘माइन्ड सेट’ मा परिवर्तन हुनुपर्छ । किनभने, शारीरिक श्रम गर्ने मान्छेले स्वाभाविकरूपमा शारीरिक व्यायाम गरिरहेको हुन्छ । यति कुरा थाहा हुने हो भने पनि मानिसको स्वास्थ्यमा सकारात्मक परिवर्तन आउनसक्छ । यस सन्दर्भमा एउटा अनुसन्धानको परिणाम अगाडि राख्नु उपयुक्त हुन्छ । अमेरिकाका सातवटा होटेलमा सफाइ गर्ने ८४ महिलामा गरिएको एक अनुसन्धानबाट दुईतिहाइले शारीरिक व्यायाम नगरेको धारणा देखियो । ती महिलालाई दुई समूहमा बाँडेर एउटालाई शारीरिक श्रम गर्नु पनि शारीरिक व्यायाम हो भन्नेबारे शिक्षित गरियो र अर्को समूहलाई त्यस्तो कुनै प्रशिक्षण दिइएन । एक महिनापछि पहिलो समूहका महिलाको तौल घट्यो, रक्तचाप सामान्य भयो, शरीरमा रहेको फ्याटको मात्रा घट्यो र उनीहरूले आफ्नो काम मन पराए । अर्को समूहका महिलामा भने यस्तो कुनै परिवर्तन देखिएन । शारीरिक व्यायाम गर्दा सबै अङ्ग बराबरीरूपमा चलाउनुपर्नेजस्ता नियम पालना गर्नुपर्नेमा पूरै बेवास्ता गर्नु मनासिब भने होइन । शारीरिक श्रम गर्ने व्यक्तिको कुनै एउटा अङ्गको अत्यधिक प्रयोग गर्दा अन्य शारीरिक समस्या आएको बारे पनि अनभिज्ञ हुनु उपयुक्त होइन ।
हिजोआज शारीरिक श्रममा भन्दा मानसिक श्रमप्रतिको आकर्षण बढेको पाइन्छ । खेतीपाती र शारीरिक श्रमको कामबाट युवाहरू पर हट्न थालेका छन् । यस्तो अवस्थामा शारीरिक सुुगठनको विकल्प खेलकुद हुनसक्छ । स्कुले विद्यार्थीले मोबाइल र ल्यापटप वा कम्प्युटरमा नक्कली (भर्चुअल) फुटबल, भलिबल वा अन्य खेल खेल्छन्, यसबाट खेलको तुष्टि त मेटिएला तर खेलको वास्तविक आनन्द पाउन्नन् । साथै, खेल खेल्दा हुने शारीरिक व्यायाम पनि हुँदैन ।
देशसेवाको निम्ति खेलकुद
शरीर स्वस्थ रहनमात्र नभई देशको निम्ति आवश्यक दक्ष जनशक्तिको आवश्यकता पूर्ति गर्न पनि खेलकुद आवश्यक छ । नेमकिपाका अध्यक्ष रोहितले यस्तै खेलकुदा प्रतियोगितामा सहभागी हुँदा व्यक्त गर्नुभएको विचार यहाँ सान्दर्भिक छ, ‘‘तन्दुरुस्त भई देश र जनताको सेवा गर्न लाग्नूस् !’’ प्रत्येक विद्यार्थीलाई एक न एक खेल खेल्ने अवसर र वातावरण दिने हो भने समाज अझ स्वस्थ हुन्छ । यसको निम्ति प्रत्येक विद्यालयमा खेलकुद प्रशिक्षणलाई अनिवार्य गर्नु जरुरी छ । यसमानेमा औषधीमा हुने खर्च खेलकुदमा लगाउनु बुद्धिमानी हो । रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनु श्रेयष्कर भनेझैँ खेलकुदमा लगानी बढाउनु उपयुक्त कदम हुनेछ । साथै, खेलकुदले मानसिक तन्दुरुस्ती पनि दिने भएकोले युवालाई मानसिकरूपमा बलियो बनाउन खेलकुद उपयुक्त माध्यम हुनसक्छ । मानसिक कमजोरीको कारण हुने लागूपदार्थ दुव्र्यसनी नियन्त्रणको निम्ति पनि खेलकुद राम्रो उपाय हुनसक्छ ।
खेलकुदबाटै दर्शन
खेलमा नियमको पालना र अनुशासन अनिवार्य हुन्छ, नियमविपरीत जानेलाई खेलबाट निष्काशन गरिन्छ । जसले नियम तोड्न सक्यो ऊ नै शक्तिशाली भन्ने मान्यता बसेको समाजलाई बदल्न खेलकुदले सबैलाई नियम र अनुशासनमा बस्न उत्प्रेरित गर्नसक्छ । समाजमा अनुशासनहीनता बढेको अवस्थामा युवालाई खेलकुदमा सरिक गराई अनुशासित जीवन जिउन उत्प्रेरित गर्नु उत्तम कार्य हुन्छ ।
आजकल विद्यालय तथा कलेजमा पाएको असफलताबाट निराश भई आत्महत्याको बाटो लिने विद्यार्थी सङ्ख्या बढ्दो छ । अस्वस्थ प्रतिस्पर्धा, भेदभाव, शोषण आदिको कारण निराश हुने युवा पनि धेरै छन् । आजको सामाजिक बन्दोवस्तबाट यस्तो स्थिति आएको हो तर त्यसो भनेर उपचारै नगर्नु वा सम्भावित दुश्परिणाम आउन नदिन कुनै काम नगर्नु ठीक होइन । खेलबाट जीवनको तीतो यथार्थ पनि बोध हुन्छ । सङ्घर्ष नै जीवन हो भन्ने शिक्षा खेलकुद गतिविधिबाट पाइन्छ । खेलमा हारजितलाई स्वाभाविक मानिन्छ । हारलाई पनि स्वाभाविकरूपमा आत्मसात् गर्न खेलकुदले सिकाउँछ । एउटा खेलमा हारे पनि उत्साह कम नगरी खेल्ने हो भने अर्को पटक जित्न सकिन्छ, जीवनमा प्राप्त गरेको एकपटकको असफलताबाट निराश नहुन खेलकुदले नै सिकाएको हुन्छ । जस्तो फुटबल खेल भनौँ । जीवनमा अनेक अप्ठेरा उकालीओराली आउँछन्, अनेक तगाराहरू तेर्सिन्छन्, सबै अवरोधहरू पन्छाएर अगाडि बढ्न सिकाउँछ यसैले । सामूहिक भावनाको महत्व झनै बढी हुन्छ । यसमा पूरै समूहको बडो सामञ्जस्यपूर्ण मेलको जरुरत हुन्छ । एक्लोले गोल गर्न खोज्ने हो भने गोल हुँदैन, विपक्षीलाई छक्याएर र बडो चलाकीपूर्ण ढङ्गले एकले अर्को साथीलाई बल दिँदै अगाडि बढ्नुपर्ने हुन्छ । विपक्षीले सजिलै गोल गर्न पनि दिँदैन । यसले समाजमा रहेका विपरीत शक्तिबीचको सङ्घर्षको अर्थ पनि बोध गराउँछ । प्रतिक्रियावादीवर्गले मजदुरवर्गलाई सजिलै शासन सत्ता हस्तान्तरण गर्दैन र चर्को वर्गसङ्घर्षविना मजदुरवर्गले आफ्नो हक र अधिकार पाउँदैन भन्ने यथार्थबोध पनि फुटबलले गराउँदछ ।
अन्तमा, खेलकुदलाई शिक्षाको अभिन्न अङ्ग बनाउन राज्यले यथोचित ध्यान दिनुपर्छ । खेलकुद तालिम त आवश्यक छ नै, खेलकुद प्रतियोगिताहरूको आवश्यकता झन् बढी छ । प्रतियोगिताले खेलकुद प्रशिक्षणलाई अघि बढाउँछ र खेलकुद मानिसको जीवनको अभिन्न अङ्ग बन्छ । सरकारले विद्यालयमा खेलकुदको विकासको निम्ति गरेका वाचा अविलम्ब पूरा गर्नु बुद्धिमानी हुनेछ । भ्रष्टाचार नियन्त्रण गर्न सकेमा साधनस्रोतको अभाव हुनेछैन ।
Leave a Reply