भर्खरै :

मध्यपुरमा हाइटेन्सन लाइन भूमिगत हुने कहिले ?

मध्यपुर, २ पुस । । मध्यपुर नपा वडा नं २, गठ्ठाघर सैनिक ब्यारेकदेखि मध्यपुर थिमि प्रहरी कार्यालयअगाडि रहेको नेपाल विद्युत् प्राधिकरणको फ्युज शाखासम्म विद्युत्लाइन भूमिगत गर्न मध्यपुर नगरपालिकाले २०७६ सालमै बजेट विनियोजन गरी उपभोक्ता समितिसमेत गठन गरिसेकेको छ, तर हालसम्म काम भएन । त्यतिखेर नगरपालिकाले ५० प्रतिशत र स्थानीय जग्गाधनीले ५०÷५० प्रतिशत लागत साझेदारी गर्ने सहमति भएको थियो ।
घनाबस्तीमा टाङ्गिएका नाङ्गा तार र साँघुरा सडकमा गाडिएका बिजुलीका पोलले स्थानीय जनतालाई जोखिम बढाउनुका साथै दुर्घटना हुने सम्भावना रहेकोले भूमिगतको अवधारणा आएको हो । यसमा मध्यपुरका स्थानीय जनताको पनि सहमति थियो ।
उक्त स्थानमा तार भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरणले नगरपालिकासँग सरसल्लाह गरी १ करोड ९८ लाखको लागत इस्टिमेट २०७५ सालमै तयार पारेको थियो । नगरपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने र नेपाल विद्युत् प्राधिकरणले प्राविधिक सहयोग गर्ने त्यतिखेरको सहमति थियो । नगरपालिकाले प्राधिकरणलाई रु. १ करोडको नगद भुक्तानी गरिसकेको छ । नगरपालिकाले स्थानीय जनतासँग १ फिटको रु. २५५०÷– को दरले रकम उठाउन र कार्य सञ्चालनमा सहजीकरण गर्नको लागि ‘हाइटेन्सन लाइन व्यवस्थापन मूल उपभोक्ता समिति’ गठन ग¥यो । उक्त उपभोक्ता समितिले करिब १ करोडजति रकम स्थानीय जनतासँग उठाइसकेको छ । त्यसमध्ये रु. ५० लाख नगद २०७६ साल वैशाख महिनामै नगरपालिकालाई ‘हाइटेन्सन लाइन व्यवस्थापन मूल उपभोक्ता समिति’ ले हस्तान्तरण गरिसकेको छ । नगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सो कार्यको लागि रु. १ करोड ३७ लाखमा ठेक्का सम्झौता भएको स्थानीय बताउँछन् ।
आजभन्दा १५ वर्षपूर्व नै मूलपानी बोडे हुँदै मध्यपुरको नगदेश थिमि नगरपालिका जाने बाटोसम्म हाइटेन्सन लाइन भूमिगत भइसकेको छ । तर, गठ्ठाघर सैनिक ब्यारेकदेखि मध्यपुर नपाअन्तर्गत नेपाल विद्युत् प्राधिकरणको थिमिस्थित फ्युज शाखासम्मको क्षेत्रमा काम हुन नसकेको किन ? जनता प्रश्न गर्दै छन् ।
मध्यपुर नगरपालिका र ‘हाइटेन्सन लाइन व्यवस्थापन मूल उपभोक्ता समिति’ का पदाधिकारीहरू कमिसनको चक्करमा परेर काम हुन नसकेको जनताको गुनासो छ । उपभोक्ता समितिले जनतासँग उठाइएको रकमको भर्पाईसमेत दिएको छैन । उपभोक्ता समितिका पदाधिकारीहरूले जनतासँग उठेको रकम बैङ्कमा राखिएको जानकारी गराएका छन् । तर, त्यसको यथार्थ कुरा जनतालाई थाहा छैन । स्थानीय जनता आफूसँग उठाएको रकमबाट काम नभएपछि ब्याजसहित फिर्ता लिने कुरा गर्दै छन् ।
अहिले मध्यपुर नपाले हाइटेन्सन लाइन बिछ्याउनु अगाडि नै सडक पिच गर्ने योजना अघि सारेको छ । तर, सो ठाउँमा हाइटेन्सन लाइन भूमिगत गर्न उक्त पिच भत्काउनुपर्ने हुन्छ । यसबाट दोहोरो खर्च हुनुका साथै नेपाल सरकारको बजेट र जनताको करको दुरूपयोग भई स्थानीय जनताले झन् सास्ती भोग्नुपर्ने देखिएकोले हाइटेन्सन लाइन भूमिगत गरेपछिमात्र बाटोको अन्य योजना अघि सार्नु जरुरी देखिन्छ । अन्यथा, पीडित जनता मध्यपुर नपा र उपभोक्ता समितिविरुद्ध सङ्घर्षमा उत्रने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *