भर्खरै :

भक्तपुर नगरपालिकाले मनायो ७२ औँ स्थापना दिवस

भक्तपुर, २ पुस । भक्तपुर नगरपालिकाको ७२ औँ स्थापना दिवसको अवसरमा शुक्रबार एक प्रवचन कार्यक्रम भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले जनप्रतिनिधि र कर्मचारीहरूले आफ्नो पदीय जिम्मेवारी इमानदारीका साथ निर्वाह गर्नुपर्नेमा जोड दिँदै विचार र सिद्धान्तबाट निर्देशित भई देश र समाजको निम्ति काम गर्नुपर्ने विचार राख्नुभयो ।
विदेशीको भरमा नेपालको विकास सम्भव नहुने उल्लेख गर्दै सांसद सुवालले नागरिकहरूलाई श्रमप्रति सम्मान गर्न जागरुक गर्नुपर्ने र युवा पुस्तालाई नयाँ प्रविधिसम्बन्धी तालिम सञ्चालन गरी सांस्कृतिक स्तर उकास्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा विदेशबाट चामल र तरकारीजस्ता कृषिजन्य वस्तुको आयात बढ्दै गएको औँल्याउँदै सांसद सुवालले नगरलाई तरकारीमा आत्मनिर्भर बनाउने योजना लागु गर्नुपर्छ भन्नुभयो । उहाँले प्राविधिक जनशक्ति उत्पादनमा भक्तपुर नगरपालिकाले विशेष योजनाहरू ल्याउन आवश्यक भएको बताउनुभयो ।
सांसद सुवालले छिमेकी देश भारतमा कम्युनिस्ट शासन नआएसम्म एसियामा शान्ति नहुने र संरा अमेरिकामा समाजवाद नआएसम्म विश्वमा शान्ति नआउने प्रस्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकालाई नमुना नगरपालिकाको रूपमा स्थापित गर्न नेपाल मजदुर किसान पार्टीको महत्वपूर्ण भूमिका भएको बताउनुभयो ।
भक्तपुर नगर शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्षण, सरसफाइलगायत हरेक क्षेत्रमा देशको नमुनाको रूपमा विकास भइरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले निर्वाचन घोषणापत्रमार्फत गरेका प्रतिबद्धतामध्ये अधिकांश पूरा गरिसकेको बताउनुभयो ।
“भक्तपुर नगरपालिकाले नगरवासी विद्यार्थीहरूको लागि रु. ५ लाखसम्म शैक्षिक ऋण, करोडौँ रूपैयाँ बराबरको गरिब तथा जेहेनदार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था गरी आएको भक्तपुर नपाले विश्वविद्यालय स्थापना गर्ने योजनाका साथ अघि बढिरहेको छ”, उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जनताको लागि जनताको साथ लिएर भक्तपुर नपाले नगरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।
प्रसूति सेवासहितको ख्वप अस्पताल सञ्चालन छिट्टै हुने जानकारी गराउँँदै उपप्रमुख जोशीले आदर निकेतनको भवन निर्माणाधीन अवस्थामा रहेको र सुधारिएको शवदाह गृह निर्माणको प्रक्रिया अगाडि बढेको बताउनुभयो ।
ख्वप अस्पतालका प्रमुख प्रशासक डा. रत्नसुन्दर लासिवाले भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालका गतिविधिबारे जानकारी दिँदै अस्पतालबाट देशभरिका नागरिकले सहजरूपमा स्वास्थ्य सेवा पाइरहेको बताउनुभयो ।
ख्वप अस्पतालमा नेपाल सरकारको स्वास्थ्य बीमाअन्तर्गतका ८० प्रतिशत बिरामी उपचार गर्न आउने तथ्याङ्क प्रस्तुत गर्दै उहाँले भक्तपुर नपाले स्वास्थ्य क्षेत्रमा समग्र देशकै लागि उदाहरणीय कार्य योजनाअनुरूप अगाडि बढेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप ई. कलेजका प्राचार्य सुजन माकले कलेजको प्रगति विवरण प्रस्तुत गर्दै हाल ख्वप इन्जिनियरिङ कलेजमा ६९ जिल्लाका १,०१५ जना विद्यार्थीहरू स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरूमा अध्ययनरत रहेको र यो वर्ष ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत विद्यार्थी सिभिल इन्जिनियरिङतर्फ स्नातक तहमा ८६ प्रतिशत अङ्क प्राप्त गरी त्रिभुवन विश्वविद्यालयमा सर्वोत्कृष्ट हुन सफल भएको बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भनपा एकाइ समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुर नपाले प्रत्येक वर्ष आफ्नो स्थापना दिवस महोत्सवको रूपमा मनाउँदै आइरहेको उल्लेख गर्दै गत वर्ष र यस वर्ष कोरोना जोखिमका कारण प्रवचनमा सीमित रहेको बताउनुभयो ।
कार्यक्रममा भ.न.पा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भनपाले हासिल गरेको उपलब्धिबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *