भर्खरै :

तीन दिनमा दोब्बर गुणाले फैलिँदै ओमिक्रोन

जेनेभा, १८ डिसेम्बर । विश्व स्वास्थ्य सङ्गठनले हरेक १.५ देखि ३ दिनमा ओमिक्रोन भेरियन्ट सङ्क्रमितको सङ्ख्या दोब्बर भइरहेको बताएको छ । यसअघि शक्तिशाली देखिएको डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन भेरियन्ट उल्लेख्य रूपमा तीव्र गतिमा फैलिरहेको सङ्गठनका स्वास्थ्यविज्ञहरूले यसअघि नै सजग बनाएको थियो ।
शनिबारको पछिल्लो जानकारीअनुसार हालसम्म संसारका ८९ देशमा ओमिक्रोन भेरियन्ट फैलिसकेको छ ।
रोग प्रतिरोधात्मक क्षमता बढी भएका मानिसमा पनि ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिरहेको भन्दै सङ्गठनले कोरोना भाइरसको पछिल्लो भेरियन्टसँग रोग प्रतिरोधी क्षमता कमजोर बनाउने शक्ति भएर हो वा त्यसको बढ्दो सङ्क्रामकताको कारण हो अथवा दुवै कारण हो, अझै पनि स्पष्ट नभएको बताएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले गत नोभेम्बर २६ मा ओमिक्रोन भेरियन्टलाई पनि चासो राख्नुपर्ने भेरियन्ट (भेरियन्ट अफ कन्सर्न) मानेको हो । यो भेरियन्ट सबभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । वैज्ञानिकहरू यो पछिल्लो प्रजाति कति घातक वा खतरनाक छ भन्ने विषयमा प्रस्ट छैनन् । तर, प्रारम्भिक तथ्याङ्कले यो भेरियन्टले अहिलेको खोपलाई निस्तेज बनाउन सक्ने र डेल्टा भेरियन्टभन्दा सङ्क्रामक भएको देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *