भर्खरै :

राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रस्ताव पारित गरी नेमकिपाको ३२ औँ परिषद् सम्पन्न

भक्तपुर, ३ पुस । देशघाती एमसीसी सम्झौता खारेज नभएसम्म जनताको साथ लिएर सडक र संसद्मा सङ्घर्ष चालू राख्ने निर्णयसहित नेपाल मजदुर किसान पार्टीको ३२ औँ केन्द्रीय परिषद् शनिबार सम्पन्न भयो । परिषद् पुस २ र ३ गते भक्तपुरमा भएको थियो ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बसेको परिषद् बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका ३६ ओटा प्रस्ताव पारित ग¥यो ।
आगामी माघ ७ गतेदेखि १३ गतेसम्म पार्टीको ४८ औँ स्थापना दिवस अध्ययन, अन्तरक्रिया, छलफल, गोष्ठी, प्रदर्शनी, सैद्धान्तिक कक्षा र प्रशिक्षणसहित सप्ताहव्यापीरूपमा मनाउने निर्णय भयो ।
परिषद्मा नेमकिपाका अध्यक्ष बिजुक्छेँले नेपालमाथिको भारतीय हस्तक्षेप तथा सीमा अतिक्रमणको विरोधमा बोल्न नेपाललाई कुनै पनि देशले सिकाउनु नपर्ने धारणा राख्नुभयो । भारतीय रक्षामन्त्रीले नेपाल–भारत सम्बन्ध बिगार्न केही तत्व सक्रिय भएको उल्लेख गरेको सत्य नभएको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले भारतीय अधिकारीहरूले नेपाली भूमि गुञ्जी–लिपुलेकमा भारतले सडक निर्माण गर्दा नेपालीले विरोध गर्दा यस्तो अभिव्यक्ति दिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जसरी आफ्नो शरीरमा सानो कीरा हिँडेको थाहा हुन्छ, त्यसरी नै नेपालको कुनै पनि भागमा विदेशीले चलाएको थाहा पाउँछौँ । हामीलाई कुनै देशले सिकाउनु पर्दैन । हाम्रो देशबारे हामीलाई थाहा छ ।”
अध्यक्ष बिजुक्छेँले चीनले कुनै पनि देशलाई आक्रमण वा अस्थिरताको निम्ति नभड्काएको भन्दै भारत–चीन सीमा विवाद बेलायती उपनिवेशवादी नीतिको उपज हो भन्नुभयो । “एक समयमा चीन १४ देशको उपनिवेश थियो, त्यसका धेरै शत्रु छन्, नयाँ शत्रु खोज्दैन भन्नुभयो । भारत र चीनबीचको सीमा विवाद बेलायती साम्राज्यवादको उपज भएको उल्लेख गर्दै साम्राज्यवाद विभिन्न देशबीच झगडा लगाई हतियारको व्यापार गर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “साम्राज्यवादी देशहरू सबभन्दा बढी हतियार व्यापार गर्छन् । किनभने, हतियारमा धेरै नाफा हुन्छ ।” उहाँले भारत पहिले बेलायतको उपनिवेश थियो तर अहिले अमेरिकी साम्राज्यवादको पछाडि लाग्दै छ भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले समाजवादी व्यवस्था नै स्थापना भए पनि मतभेद कायम रहने उल्लेख गर्दै सङ्घर्षका विविध रूप हुने बताउनुभयो । उहाँले भन्नुभयो, “क्रान्तिपछि पनि भौतिक, सैद्धान्तिक, कूटनीतिक सङ्घर्ष जारी रहन्छ ।” उहाँले कोभिड महामारीले गरिब मजदुर तथा किसानलाई झन् गरिब बनाएको उल्लेख गर्दै अन्यायमा परेका मजदुरहरूलाई सङ्गठित गरी राजनीतिक सङ्घर्षमा उतार्नुपर्ने विचार राख्नुभयो ।
उहाँले आर्थिकरूपमा अप्ठेरो स्थिति आउन नदिन मजदुरहरूको कोष खडा गर्नुपर्ने सुझाव दिनुभयो ।
शनिबार बसेको परिषद् बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला अध्यक्षहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । परिषद्बाट पारित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तावको पूर्ण पाठ पृष्ठ ५ मा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *