भर्खरै :

के हो चीनको समग्र प्रक्रियाको जनताको प्रजातन्त्र ?

(जनवादी गणतन्त्र चीन, राज्य परिषद्को सूचना कार्यालय जारी गरेको ‘चीनको काम गर्ने प्रजातन्त्र’ (China : Democracy that works) शीर्षकको श्वेतपत्रको सान्दर्भिक अंशको नेपाली अनुवाद–सम्पादक)
प्रजातन्त्र मानव जातिको साझा मूल्य हो । चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) र चिनियाँ जनताले प्रजातन्त्रलाई सधैँ आदर्श मान्दै आएको छ ।
यो वर्ष चिकपाले आफ्नो स्थापनाको शतवार्षिकी मनाइरहेको छ । सन् १९२१ मा चिकपाको स्थापना भयो । स्थापनाकालदेखि नै चिकपाले चिनियाँ जनताको हित र चिनियाँ राष्ट्रको पुनःजागरणलाई आफ्ना लक्ष्य बनाएको छ । चिनियाँ जनतालाई देशको मालिक बनाउन चिकपाले लगातार काम गरेको छ । चीन हजारौँ हजार वर्षको सामन्तवादी इतिहास भएको देश हो । सन् १८४० मा अफिम युद्धपछि चीन अर्ध–सामन्तवादी र अर्ध – औपनिवेशिक देश बन्यो । बितेका एक सय वर्षमा चिकपाले चीनमा जनताको प्रजातन्त्र स्थापना गर्न जनताको नेतृत्व ग¥यो । अब वास्तवमै चिनियाँ जनताको आफ्नो भविष्य र चिनियाँ समाज र चीनको भविष्य चिनियाँ जनताको हातमा छ ।
जनता नै देशको मालिक हुनु नै जनताको प्रजातन्त्रको मूल सार हो । सन् २०१२ मा चिकपाको अठारौँ राष्ट्रिय महाधिवेशन भयो । अठारौँ महाधिवेशनयता प्रजातन्त्र र राजनीतिक व्यवस्थाबारे चीनको बाटो अझ प्रस्ट भयो । चिकपाले प्रजातन्त्रबारे मुख्य अवधारणाको रूपमा समग्र प्रक्रियाको जनताको प्रजातन्त्र (Whole Process People’s Democracy) विकास ग¥यो । त्यो अवधारणालाई व्यवहारमा लागु ग¥यो । त्यो अवधारणा र सान्दर्भिक प्रजातान्त्रिक मूल्य मान्यतालाई प्रभावकारी संरचना र मूर्त व्यवहारमा रूपान्तरण गर्न मिहिनेत ग¥यो ।
समग्र प्रक्रियाको जनताको प्रजातन्त्रले प्रक्रियामुखी प्रजातन्त्रसँग परिणाममुखी प्रजातन्त्र, प्रजातान्त्रिक पद्धतिसँग दिगो प्रजातन्त्र, प्रत्यक्ष प्रजातन्त्रसँग अप्रत्यक्ष प्रजातन्त्र र जनताको प्रजातन्त्रलाई राज्यको चाहनासँग एकाकार गर्छ । समग्र प्रक्रियाको जनताको प्रजातन्त्र समाजवादी प्रजातन्त्रको एउटा ढाँचा हो जसअन्तर्गत सबै प्रजातान्त्रिक प्रक्रिया र समाजका सबै क्षेत्र समेटिन्छ । यो नै काम गर्ने खास प्रजातन्त्र हो ।
प्रजातन्त्र मूर्त प्रक्रिया हो जसको लगातार विकास भइरहेको छ । इतिहास, संस्कृति र परम्परामा जरा गाडिएको प्रजातन्त्रले विभिन्न देशका जनताले आफ्ना अनुसन्धान र खोजमा आधारित रहेर विभिन्न रूप ग्रहण गर्छ र त्यसरी चुनेको बाटोको आधारमा विकास पनि हुन्छ ।
कुनै पनि देशको राजनीतिक प्रणाली प्रजातान्त्रिक र प्रभावकारी हो वा होइन भन्ने कुराको छिनोफानो गर्ने सबभन्दा उत्कृष्ट तरिका भनेको त्यसका नेताहरू नियमसङ्गत तरिकाबाट आएका छन् वा छैनन्, कानुनी व्यवस्थाअनुसार राज्य र सामाजिक विषय, आर्थिक र सांस्कृतिक विषय सबै जनता मिलेर व्यवस्थापन गर्छन् वा गर्दैनन्, जनताले आफ्ना आवश्यकताबारे बेरोकतोक अभिव्यक्त गर्छन् वा गर्दैनन्, देशको राजनीतिक मामिलामा देशका सबै क्षेत्र प्रभावकारी ढङ्गले सहभागी बन्छन् वा बन्दैनन्, राष्ट्रिय निर्णयहरू तर्कसङ्गत र प्रजातान्त्रिक तरिकाबाट लिइन्छ वा लिइँदैन, सबै क्षेत्रमा उच्च क्षमतावान व्यक्ति देशको नेतृत्व र प्रशासनिक प्रणालीमा निष्पक्ष प्रतिस्पर्धाबाट चुनिन्छ वा चुनिँदैन, संविधान र कानुनअनुसार राज्यको मामिला सत्तारुढ पार्टीले सम्हाल्छ वा सम्हाल्दैन र सत्ताशक्तिको प्रयोग प्रभावकारी नियन्त्रण र अनुगमनअन्तर्गत राखिएको छ वा छैन भन्नेमा निर्भर रहन्छ ।
प्रजातन्त्र कुनै शृङ्गारको विषय होइन । बरु जनताका चासोका विषय समाधान गर्ने औजार हो । कुनै पनि देश प्रजातान्त्रिक हो वा होइन भन्ने कुराको निर्धारण त्यो देशका मालिक खासमा जनता हुन् वा होइनन् भन्ने आधारमा निक्र्योल हुनुपर्छ । त्यो देशका जनतासँग मताधिकार छ वा छैन अथवा जनतालाई राजनीतिक प्रक्रियामा विस्तृतरूपमा सहभागिताको अधिकार छ वा छैन ? जनतालाई चुनावमा दिइएका आश्वासनमध्ये कति पूरा भएका छन् ? राज्य व्यवस्था र कानुनमा तय भएका राजनीतिक पद्धति र नियम वास्तवमै कार्यान्वयन भएका छन् वा छैनन् ? सत्ताशक्ति प्रयोगको नियम र पद्धति प्रजातान्त्रिक छ वा छैन ? शक्तिको प्रयोग प्रजातान्त्रिक छ वा छैन ? शक्तिको प्रयोग सार्वजनिक निगरानी वा चाहनाअनुसार भएको छ वा छैन ? यी प्रश्नको आधारमा कुनै पनि देश प्रजातान्त्रिक हो वा होइन भन्ने कुराको निर्धारण हुने गर्छ ।
प्रजातन्त्र हरेक देशका जनताको अधिकार हो, केही देशको मात्र विशेषाधिकार होइन । कुनै पनि देश प्रजातान्त्रिक हो वा होइन भन्ने कुराको निर्धारण त्यहाँका जनताले गर्नुपर्छ । केही मुट्ठीभर बाहिरियाले गर्ने होइन । कुनै पनि देश प्रजातान्त्रिक हो वा होइन भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायले गर्ने हो, केही स्वघोषित न्यायाधीशहरूले मनपरी गर्ने होइन । प्रजातन्त्रको कुनै निश्चित ढाँचा छैन । प्रजातन्त्रले धेरै रूप ग्रहण गर्नसक्छ । संसारका अनेक थरी राजनीतिक व्यवस्थालाई एउटै फिताले नाप्ने र विविध राजनीतिक संरचनालाई एउटै मापदण्डमा नाप्नु आफैमा अप्रजातान्त्रिक हो ।
विविधताले समृद्ध संसारमा प्रजातन्त्रलाई विभिन्न रूपमा लिन सक्छ । सभ्यताको बगैंचामा अन्य देशको प्रजातन्त्रसँगै चीनको प्रजातन्त्र पनि फस्टाइरहेको छ । सहकार्य र आपसी सिकाइबाट चीन विश्वव्यापी राजनीतिक प्रगतिमा आफ्नो अनुभव बाँड्न र बलियो बनाउन योगदान गर्न चीन तयार छ ।
चिकपाको नेतृत्वमा समग्र प्रक्रियाको जनताको प्रजातन्त्र
चीन लामो इतिहास भएको परिश्रमी र विवेकशील राष्ट्र हो । चीनले विलक्षण राजनीतिक सभ्यता बनाएको छ । पाँच हजार वर्षअघि प्राचीन चिनियाँहरूले जनता नै कुनै पनि राज्यका आधार हुन् भन्ने अवधारणाको विकास गरेका थिए । आज हामी जेलाई प्रजातन्त्र भनिरहेका छौँ, त्यसको बीज नै त्यत्तिबेलाको त्यो अवधारणा थियो । तथापि, शताब्दियौँ लामो सामन्ती तानाशाही व्यवस्थामा सधैँ जनतालाई दबाइयो र शोषणको जाँतोमा पिल्सियो ।
सन् १८४० को दशकपछि चीन क्रमशः अर्ध – सामन्ती र अर्ध औपनिवेशिक देशमा स्खलित भयो । त्यत्तिबेला कुनै लोकप्रिय प्रजातान्त्रिक व्यवस्था थिएन । चीन विघटनको अवस्थामा पुग्यो । त्यस परिस्थितिमा जनता जागरुक भए र देशको मुक्तिको निम्ति लडे । क्रान्ति र सुधारका प्रयास भए । देश जोगाउने धेरै योजनाहरू छलफलमा आए । तर, कुनै पनि योजना सफल भएन ।
सन् १९११ को क्रान्तिपछि चिनियाँ जनताले पश्चिमा राजनीतिक प्रणाली लागु गर्ने धेरै प्रयास गरे । त्यत्तिबेला चीनमा संसदीय व्यवस्था, बहुदलीय प्रणाली र राष्ट्रपत्तीय प्रणाली लागु भयो । तर, कुनै पनि प्रणाली सफल हुन सकेन ।
प्रजातन्त्र र विज्ञान मान्ने नयाँ सांस्कृतिक आन्दोलन, रुसमा अक्टोबर क्रान्तिको विजय, मे ४ को आन्दोलन र चीनमा माक्र्सवादको प्रचारले चिनियाँ जनतालाई सचेत बनाउन थाल्यो । प्रगतिशील जनताले प्रजातन्त्रबारे थप गहिराइमा बुझ्न थाले र नवीन विचारसहित अघि बढे ।
सन् १९२१ मा चिकपा स्थापना भयो । चिकपाको स्थापना प्रजातन्त्रतर्फ चीनको बाटोको लागि पथप्रदर्शक बन्यो ।
नयाँ प्रजातान्त्रिक क्रान्ति (सन् १९१९–१९४९) को क्रममा पार्टीले प्रजातन्त्रको लागि कष्टसाध्य लडाइँमा जनताको नेतृत्व ग¥यो । त्यो सङ्घर्षको क्रममा शोषण र उत्पीडनको प्रतिरोध भयो । अन्ततः क्रान्तिको विजय भयो ।
सन् १९४९ को अक्टोबर १ मा जनवादी गणतन्त्र चीनको स्थापना भयो । हजारौँ वर्ष अस्तित्वमा रहेको सामन्ती तानाशाही शासनबाट जनताको प्रजातन्त्रतर्फको अन्तिम रूपान्तरणको निम्ति त्यो एउटा प्रस्थानबिन्दु बन्यो । जनवादी गणतन्त्र चीनको स्थापनाले चिनियाँ जनताको जागरणको उद्घोष ग¥यो । त्यसले चीनमा प्रजातन्त्रको नयाँ युग आरम्भ भयो । चिनियाँ जनताको आफ्नो देश आफैले चलाउने सपना यथार्थमा परिणत भयो ।
समाजवादी क्रान्ति र पुनःनिर्माण (सन् १९४९–१९७८) मा चिकपाको नेतृत्वमा सङ्गठित जनताले निम्न उपलब्धि हासिल गरे :
– राज्यसत्ताको निर्माण र सबलीकरण
– उत्पादनका साधनमा समाजवादी रूपान्तरणको पूर्णता
– जनवादी गणतन्त्र चीनको पहिलो संविधानको घोषणा
– जनताको व्यवस्थापिका, चिकपाको नेतृत्वमा बहुदलीय सहकार्य र राजनीतिक परामर्शको प्रणाली र क्षेत्रीय जातीय स्वायत्तताको प्रणाली  ।
आफ्नो देश चलाउन जनताको निम्ति राजनीतिक संरचना, आर्थिक आधार, कानुनी सिद्धान्त र संस्थागत खाका तयार भयो र त्यसपछि त्यसको चुस्त विकास गर्दै लगियो । चीनमा प्रजातन्त्रको धरहरा बलियो जगमा उभिएको छ ।
सन् १९७८ पछि सुधार, खुलापन र समाजवादी आधुनिकीकरणको वर्षमा चिकपाले जनतालाई समाजवादी प्रजातन्त्र र कानुनी शासन अघि बढाउन, चिनियाँ विशेषतासहितको समाजवादी राजनीतिक प्रगतिको बाटोमा प्रतिबद्ध रहन नेतृत्व ग¥यो ।
चिकपाले पार्टीको नेतृत्व, देशको मालिकको रूपमा जनताको भूमिका, कानुनी शासन र राजनीतिक संरचनामा गतिशील एवम् चुस्त ढङ्गले सुधार सुनिश्चित ग¥यो । जनताको व्यवस्थापिकाको प्रणालीलाई प्रवद्र्धन गर्दै विकास गरियो । चिकपा नेतृत्वको बहुदलीय सहकार्य र राजनीतिक परामर्शको प्रणाली, क्षेत्रीय जातीय स्वायत्तता, समुदायस्तरको स्वशासन र अन्य आधारभूत राजनीतिक प्रणालीमा सुधार गरियो ।
प्रजातन्त्रको विकासको लागि राजनीतिक र संस्थागत सुनिश्चितताका साथै भौतिक परिस्थिति बनाइयो ।
सन् २०१२ मा सम्पन्न चिकपाको अठारौँ राष्ट्रिय महाधिवेशनयता चीन चिनियाँ विशेषतासहितको समाजवादको युगमा प्रवेश ग¥यो । सी चिनफिङको मूल नेतृत्वमा चिकपा केन्द्रीय समितिले चिनियाँ समाजले भोग्दै आएका प्रमुख चुनौती कसरी परिवर्तन हुँदै गयो भन्नेमा गहिरो समझदारी विकास ग¥यो । चिकपाले जनताका नयाँ नयाँ आवश्यकता र प्रजातन्त्रबाट अपेक्षा पूरा गर्न निकै मिहिनेत ग¥यो । संसारभर सुव्यवस्था र स्थायित्व कायम गरेको विगतका अनुभव र प्रजातन्त्रबारे चीनको प्रगतिको समीक्षा गर्दै चिकपाले समग्र प्रक्रियाको प्रजातन्त्रको विकास गर्ने निर्णय ग¥यो । समग्र प्रक्रियासहितको प्रजातन्त्र प्रजातन्त्रको नयाँ चरण हो । महत्वपूर्ण उपलब्धिमध्ये केही निम्नानुसार छन् :
– समग्र प्रक्रियाको जनताको प्रजातन्त्रको विकासको लागि चिकपाको समग्र नेतृत्व, पार्टी र सरकारी निकायमा सुधार र पार्टी नेतृत्वको सबलीकरण
– चीनको शासन प्रणाली र क्षमतामा आधुनिकीकरण
– चीनको मालिकको रूपमा जनताको स्थान सुनिश्चित गर्दै थप पूर्ण संस्थागत खाकासहित चिनियाँ समाजवादका आधारभूत र महत्वपूर्ण प्रणालीको स्थापना र विकास
– प्रजातान्त्रिक निर्वाचन, परामर्श, निर्णय प्रक्रिया, व्यवस्थापन र अनुगमनमा प्रगति, चुनावी प्रजातन्त्र र परामर्शदातृ प्रजातन्त्रलाई सँगसँगै प्रगति र जनताको राजनीतिक सहभागितामा व्यापकता र प्रजातन्त्रको फराकिलो क्षेत्राधिकार ।
– देशको राजनीतिक र सामाजिक जीवनमा देशको प्रमुख स्थानको सबलीकरण ।
– चिनियाँ समाजवादको संस्थागत क्षमतामा गतिशीलता ।
– राजनीतिक स्थायित्व, एकता र महत्वको प्रवद्र्धन ।
– नयाँ युगमा देशको लक्ष्यतिरको राष्ट्रिय शक्ति निर्माण ।
– कोभिड–१९ रोगव्याधिविरुद्धको लडाइँमा रणनीतिक सफलता ।
– निरपेक्ष गरिबीको अन्त्य र सबै हिसाबमा मध्यम ढङ्गले समृद्ध समाज निर्माणमा पूर्णता ।
चीनले प्रमुख चुनौती समाधान गर्दै आधुनिक समाजवादी देश र साझा समृद्धितिरको नयाँ यात्रा थालेको छ । समग्र प्रक्रियाको जनताको प्रजातन्त्रको महत्व र शक्ति उजागर गरेको छ । चीनको प्रजातन्त्रमाथि चिनियाँ जनताको बलियो विश्वास छ र अब उज्यालो भविष्यतिर अघि हेर्न सक्छन् ।
समग्र प्रक्रियाको जनताको प्रजातन्त्र चिकपाले जनतालाई प्रजातन्त्र हासिल गर्न, विकास गर्न र साकार पार्न जनताको नेतृत्व गर्दा र चीनका प्रजातान्त्रिक सिद्धान्त, प्रणाली र अभ्यासको क्रममा पार्टीले निकालेका नतिजामा आधारित सिर्जना हो । सङ्घर्षको पार्टी इतिहास जनतालाई एकताबद्ध गर्दै समग्र प्रक्रियाको जनताको प्रजातन्त्रको खोज, स्थापना र विकासमा जनताको नेतृत्व गर्दाको इतिहास हो । यो चिकपाको नेतृत्वमा जनताको कष्टसाध्य सङ्घर्षको इतिहास, सिद्धान्त र व्यवहारको तार्किक निष्कर्ष हो । पार्टीको विशिष्ट चरित्र अक्षुण्ण राख्न र त्यसका आधारभूत उद्देश्य पूरा गर्न यो अपरिहार्य छ ।
राज्यको समाजवादी चरित्र र जनताको प्राथमिक स्थानलाई पूर्ण अभिव्यक्ति दिँदै समग्र प्रक्रियाको जनताको प्रजातन्त्रले जनताको चाहनाको प्रतिनिधित्व गर्छ । जनताका अधिकार रक्षा गर्छ र जनताको सिर्जनात्मक क्षमताको पूर्ण विकास गर्छ । राष्ट्रिय स्वाधीनता, देशको समृद्धि र जनताको मुक्ति र हितको लागि चिकपाले नेतृत्व गरेको देशव्यापी प्रयासमा समग्र प्रक्रियाको जनताको प्रजातन्त्रको निर्माण र विकास भएको हो । चिनियाँ सभ्यताको संस्कृति र परम्पराबाट सिञ्चित विशाल भूभागमा जरा गाडिएको समग्र प्रक्रियाको जनताको प्रजातन्त्र मानव सभ्यताको उपलब्धिमा आधारित छ । चीनको परिस्थितिमा मिलेको र जनताले स्वीकारेको यो प्रजातन्त्रको बलियो जग र उज्यालो भविष्य छ ।
समग्र प्रक्रियाको जनताको प्रजातन्त्र आवश्यक संयन्त्र र प्रक्रियासहितको पूर्ण प्रणाली हो । व्यापक सहभागिताबीच त्यसको परीक्षण भएको छ । त्यसले प्रजातन्त्रका दुई प्रमुख ढाँचा–चुनावी प्रजातन्त्र र परामर्शदातृ प्रजातन्त्रलाई मिलाएको छ । १ अर्ब ४० करोडभन्दा बढी जनसङ्ख्या भएको र ५६ वटा जातजाति भएको विशाल देशमा समग्र प्रक्रियाको जनताको प्रजातान्त्रिक व्यवस्थाले प्रजातन्त्रको अभ्यास गर्छ, जसले सबै जनताको व्यापक र दिगो सहभागिता सम्भव बनाउँछ ।
समग्र प्रक्रियाको प्रजातन्त्र चिनियाँ विशिष्टताको प्रजातन्त्र हो । त्यसले चिनियाँ साझा मूल्यलाई अँगीकार गर्नुका साथै चिनियाँ विचारधारा र मानव जातिको राजनीतिक प्रगतिसमक्ष तेर्सिएका समस्या समाधानमा योगदान गर्छ ।
चिकपाको नेतृत्व नै समग्र प्रक्रियाको जनताको प्रजातन्त्रको मूल सुनिश्चितता हो । चीनजस्तो विशाल देशलाई पूर्णरूपमा प्रतिनिधित्व गर्न र १ अर्ब ४० करोड जनताका चासो सम्बोधन गर्न सजिलो काम होइन । त्यस्तो नेतृत्व बलियो र केन्द्रिकृत हुनुपर्छ ।
जनतामा केन्द्रित विकासप्रति प्रतिबद्ध रहन र देश सञ्चालनको निम्ति जनतालाई प्रमुख स्थान दिन चिकपाले जनताको लागि शासन गर्छ र जनतामा भर पर्छ । चिकपाले देशका हरेक क्षेत्रमा सबै खालका खोज अनुसन्धानमा समग्र नेतृत्व र समन्वयको लागि आफ्नो भूमिका पूर्ण रूपमा निर्वाह गर्छ । त्यसो गर्दा जनताले देशमा प्रभावकारी ढङ्गले शासन गर्नसक्ने सुनिश्चित हुन्छ । जनताको प्रजातन्त्र देशको राजनीतिक र सामाजिक जीवनको प्रधान दर्शन, सिद्धान्त र नीति भएको कुरा पुष्टि हुन्छ ।
चिकपाले जनताको दिशा अवलम्बन गर्छ । चिकपा जनताको लागि सबै काम गर्न तयार छ । चिकपा जनतामाथि पूर्ण विश्वास गर्छ । ‘जनताबाट, जनताको लागि’ सिद्धान्तलाई चिकपाले पछ्याउँछ । चिकपाले जनतासँग नजिकको सम्बन्ध गाँस्छ र उनीहरूको विवेक र शक्तिको भण्डारको सदुपयोग गर्छ ।
चिकपाले पार्टीभित्र प्रजातन्त्रको अभ्यास गर्छ । पार्टीभित्र प्रजातान्त्रिक चुनाव, निर्णय प्रक्रिया, व्यवस्थापन र अनुगमन गर्छ । जनताको प्रजातन्त्रको उत्तम ढङ्गले सेवा गर्नु नै त्यसो गर्नुको लक्ष्य हो । चिकपाले कार्यकर्ता छनौट र नियुक्तिको लागि काम गर्ने संयन्त्रमा सुधार गरेको छ । सबै क्षेत्रका व्यक्तिलाई पार्टीको नेतृत्व टोली र सरकारमा आउन सक्ने गरी सक्षम बनाउने गरेको छ । पार्टी नेतृत्व र राज्यलाई माक्र्सवाद, पार्टी र जनताप्रति इमानदारहरूको हातमा पर्ने सुनिश्चित गर्छ । चिकपा देशमा कानुनी शासनको विकास गर्छ । चिकपाले कानुन निर्माणमा नेतृत्वदायी भूमिका खेल्छ, कानुन पालना सुनिश्चित गर्छ, न्यायपालिकाबाट न्यायको समर्थन गर्छ र कानुन पालनामा उदाहरणीय भूमिका खेल्छ । कानुनी शासनमार्फत पार्टीले आफ्ना नीतिको प्रभावकारी कार्यान्वयन भएको सुनिश्चित गर्न चाहन्छ र जनतालाई नै देशको मालिक बनाएर देशलाई अघि बढाउँछ ।
अनुवाद : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *