भर्खरै :

विभिन्न तालिमको उद्घाटन

भक्तपुर, ६ पुस । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा आजबाट सञ्चालित ५ महिने आधारभूत सिलाइ र ६ महिने बुटिक तालिमको मङ्गलबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
तालिमको उद्घाटन गर्नुहुँदै नगर प्रमुख प्रजापतिले महिलाहरूलाई आफ्नो शैक्षिक योग्यतासँगै कुनै न कुनै सीप सिक्न प्रेरित गर्नुभयो ।
महिलाहरूलाई आत्मनिर्भर बनाउन भक्तपुर नपाले सिलाइ र बुटिक तालिम सञ्चालन गरेको बताउनुहुँदै उहाँले तालिमबाट महिलाहरूलाई व्यवसाय नै सञ्चालन गरी आर्थिकरूपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सहज जीवनयापनका लागि सीप महत्वपूर्ण भएको बताउनुहुँदै सीप सिकेर व्यावहारिक जीवनमा लागू गर्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले भक्तपुर नपा कला–संस्कृति संरक्षणमा नमुना बन्दै गइरहेको अवगत गराउनुहुँदै भक्तपुर नपाले सीपमूलक र जीवनउपयोगी तालिम सञ्चालन गरी देशको लागि आवश्यक जनशक्ति उत्पादनमा मद्दत पु¥याइरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् महिला, बालबालिका, समाज कल्याण समितिका संयोजक रोशनमैंया सुवालले यस्ता सीप तथा तालिमले महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बन्ने बाटो खुल्नेसमेत बताउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
भनपा वडा नं. ८ का वडा सदस्य पञ्चलक्ष्मी दुवालले महिलाहरूले आफ्नो पेशा व्यवसायसँग सामाजिक गतिविधिमा पनि क्रियाशीलता बढाउनुपर्ने बताउनुहुँदै शैक्षिक र व्यवहारिक ज्ञानलाई सँगसँगै अगाडि बढाउनुपर्छ भन्नुभयो ।
आधारभूत सिलाईका प्रशिक्षक धर्मलक्ष्मी दुवालले आफूले सिकेको तालिमलाई व्यवहारमा लागूू गर्न सके कसैकोसामु झुक्नपर्ने स्थिति नआउने बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा र भनपाका कार्यपालिका सदस्य एवम् महिला, बालबालिका, समाज कल्याण समितिका सदस्य कृष्णलक्ष्मी दुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *