भर्खरै :

चिलीमा बोरिक विजयको अर्थ

यो वर्ष सन् २०२१ का महत्वपूर्ण राजनीतिक घटनामध्ये चिलीको राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता गाब्रिएल बोरिकको विजयलाई समावेश गर्नुपर्ने धेरै कारण छन् ।
चिलीमा सन् १९९० सम्म अगस्टो पिनोचेको शासन थियो । पिनोचेलाई संरा अमेरिकाले मद्दत गर्दै आएको थियो । पिनोचेको शासन समाप्त भए पनि चिलीमा नवउदारवादलाई राज्यकै नीतिको रूपमा स्थापित गर्न धेरै संस्थागत ढाँचाहरू बनाइएको थियो । सन् १९९० को दसकदेखि नै चिलीमा प्रगतिशील सरकारहरू बन्दै आएका थिए । तर, ती कुनै पनि सरकारले ‘निजीकृत सत्ता’ लाई टिकाएका खम्बाहरू भत्काउने काम गरेनन् । त्यही भएर चिलीमा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा सबै निजी क्षेत्रको नियन्त्रणमा छन् । जसले समाजमा असमानता अझ बढाएको थियो । फलतः चिलीमा सामाजिक बम विस्फोटन हुन ठिक्कको परिस्थिति थियो ।
यो एउटा लोकप्रिय ऐतिहासिक प्रक्रियाको परिणाम हो । सन् १९७३ मा संरा अमेरिकाको केन्द्रीय गुप्तचर विभाग (सीआईए) ले चिलीमा सत्ता कब्जा गरेर तानाशाही शासन लादेको थियो । त्यसपछि चिली नवउदारवादी विचारको पहिलो प्रयोगशाला बन्यो । सन् १९५६ देखि १९६१ सम्ममा ‘सिकागोका केटाहरू’ (सिकागो ब्वाइज) भनेर चिनिएका झन्डै २५ जना चिलीका विद्यार्थीहरूलाई सिकागो विश्वविद्यालयमा तालिम दिइएको थियो । संरा अमेरिकामा उनीहरूले जे सिके, त्यो ज्ञान आफ्नो देशमा लागु गराउन उनीहरूलाई पछि चिली फर्काइयो । चिलीमा फर्केर उनीहरूले त्यस्तो समाज स्थापना गरे जहाँ ठूलठूला लगानीको निर्णय ‘बजारको अदृश्य हात’ मा छोडियो ।
पिनोचे शासनमा आउनुअघि चिलीको अर्थतन्त्रमा लागु गरिएको ‘आयात विस्थापन औद्योगीकरण’ को नीतिलाई खारेज गरियो । त्यसकारण सिकागोका केटाहरूको अनुभव चिलीमा घातक सिद्ध भयो । आज चिली केही उत्पादन मूलतः तामामा आर्थिकरूपमा परनिर्भर छ । अन्तर्राष्ट्रिय श्रम विभाजनमा चिलीको स्थान विकासशील देशको हुनाले त्यहाँको मूल्यचक्र बाहिरबाट निर्धारण हुने गरेको छ । ल्याटिन अमेरिकाका राष्ट्रिय विकास बैङ्कमध्ये पहिलो बैङ्क चिली आर्थिक विकास एजेन्सी चिलीमा सन् १९३९ मा (कोरफो) मा स्थापना भएको थियो ।
बजारले जनताको भाग्य निधो गर्ने विकास ढाँचामा अन्तरविरोध ठूलो सामाजिक अस्थिरताको रूपमा देखापर्ने गर्छ । सन् २०१० दसकको सुरुवातदेखि चिलीमा लगातार ठूलठूला जनआन्दोलनहरू भइरहेका छन् । सन् २०१९ मा जनताको आन्दोलन उत्कर्षमा पुग्यो । अर्बपति सेबास्टियन पिनेराको सरकारले नयाँ संविधान सभा निर्वाचन गरेर आन्दोलनलाई केही समय मत्थर पार्न सफल त भयो । तर, चिलीको अन्तरविरोध फर्किन नसकिने बिन्दुमा पुगिसकेको थियो । अहिले ३५ वर्षका उम्मेदवार चुनावबाट राष्ट्रपति पदमा निर्वाचित हुनु त्यही लगातारको जनसङ्घर्षको परिणाम हो ।
अर्कोतिर ४४.१३ प्रतिशत मतदाताले चरम दक्षिणपन्थी उम्मेदवार जोसे एन्टोनिओ कास्टलाई पराजित गरेको बिर्सन सकिन्न । संसदमा कसको बहुमत आउने हो, अझै अस्पष्ट छ । त्यसकारण चिलीमा शक्ति सन्तुलनको अझै निक्र्योल भएको छैन । त्यसकारण चिलीमा खास रूपान्तरण प्रक्रियाको लागि अझै धेरै तगारा छन् ।
त्यसकारण नयाँ सरकारलाई गल्ती गर्ने निकै कम मात्र छुट छ । चिली अहिले नै साम्राज्यवादको आँखामा परिसकेको छ । उदाहरणको लागि ब्राजिलका राष्ट्रपति जाएर बोल्सोनारोले उनकै भनाइमा सेप्टेम्बर महिनामा सीआईएका प्रमुखलाई भेटेको र सीआईएका एजेन्डाबारे छलफल गरेका थिए । सो क्रममा उनीहरूले चिलीको राजनीतिक अवस्थाबारे पनि छलफल गरेका थिए ।
चुनौतीहरू बग्रेल्ती छन् । निर्वाचित सरकारले वाचा गरेका संरचनागत परिवर्तनका कुरा पूरा गर्न संसदमा प्रस्ट राजनीतिक बहुमतको खाँचो मात्र होइन, सरकारका कार्यक्रम पनि केही विषयमा थप वस्तुगत हुुन जरुरी छ । उदाहरणको लागि गाब्रिएल बोरिकको पार्टीका नेताहरू देशको औद्योगिकरणको रणनीतिजस्ता जटिल विषयमा के सोच्छन् भन्ने कुरा अझै प्रष्ट भइसकेको छैन । शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाबारे नयाँ संविधानमा के कस्ता कुरा लेख्ने उनीहरूको योजना छ, अझै प्रष्ट आइसकेको छैन ।
जे उत्पादन हुँदैन, त्यसको वितरण पनि हुँदैन । ल्याटिन अमेरिकाको एउटा ठूलो समस्या भनेको आर्थिक विकासको सन्दर्भमा रणनीतिक दृष्टिकोणको अभाव हुनु हो । त्यस अर्थमा चिलीका जनताले मात्र होइन, ल्याटिन अमेरिकाका अरू प्रगतिशील शक्तिहरूले पनि केन्द्रिकृत उत्पादन शक्तिको विकासबाट सिक्नु महत्वपूर्ण हुन्छ । चीन त्यसको एउटा उपयुक्त उदाहरण हुन सक्छ ।
चीनले बोलिभिया, भेनेजुयला र अर्जेन्टिनासँग जस्तो उत्कृष्ट र रणनीतिक सम्बन्ध विकास गरेको छ, आगामी दिनमा चिलीसँग पनि त्यस्तै सम्बन्ध विकास गर्नेमा म आशावादी छु ।
कुनै पनि शक्ति प्रगतिशील भएर मात्र पनि पुग्दैन । न त त्यस्ता शक्तिसँग हाम्रो समयको पदचाप बुझ्न मनग्य रणनीतिक विवेक नै हुने ग्यारेन्टी हुन्छ । यसअघिभन्दा अहिले चिलीको सरकारले चीनसँग नजिकको सम्बन्ध विकास गर्नुपर्छ । चीनले चिलीलाई दिन र चिलीले चीनलाई दिन र लिन सक्ने कुरा धेरै छन् । स्रोत साधन र भौगोलिक स्थानको आधारमा दक्षिण अमेरिकामा चिलीको स्थान चीनको लागि महत्वपूर्ण छ । आज हामी हाम्रो (दक्षिण अमेरिका) महादेशको रोचक ऐतिहासिक समयमा बाँचिरहेका छौँ ।
(लेखक रिओ डि जेनेरिओको स्टेट विश्वविद्यालयअन्तर्गत आर्थिक विज्ञान विभागका प्राध्यापक हुनुहुन्छ ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *