हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
सरकार प्रमुख
२२ जून १९४० मा दे गालले स्वतन्त्र फ्रान्सेली समिति नाउँको सङ्गठन बनाए । ६ दिनपछि बेलायतले जनरल दे गाललाई सम्पूर्ण फ्रान्सेली जनताको नेता भनी मान्यता दियो । ७ अगस्तको दिन फ्रान्सेली नेताको हैसियतले दे गालले बेलायतसँग एउटा सम्झौता गरे । बेलायतले फ्रान्सको स्वतन्त्रताको पक्ष लियो । तर, उसले फ्रान्सको भूअखण्डतामा जोड दिएन । किनभने, उसको आँखा फ्रान्सका उपनिवेशहरूमा थियो । दे गालको नेतृत्वमा रहेको फ्रान्सेली सेनाले खालि बेलायत सरकारको सैन्य निर्देशिका पछ्याउने भयो । यो सेनाको खर्च बेलायतले व्यहोर्ने भयो । त्यो खर्च पहिले नै बेलायतलाई चुक्ता गरिएको थियो । तैपनि भिशे सरकारले दे गाललाई ‘बेलायती एजेन्ट’ भनी हल्ला पिट्यो । फ्रान्स सरकारले दिएको रकम बराबरको हतियार बेलायतले ‘फ्री फ्रान्स समिति’ लाई दिँदा दे गाल फ्रान्सका वैध सरकार प्रमुख देखिए ।
त्यति बेलासम्म दे गाल विश्वभरि परिचित थिएनन् । चर्चिलले एउटा जुक्ति निकाले, गुप्तचर स्पेयर्सलाई ५ सय युरो दिएर उनले दे गाललाई विश्वचर्चित बनाउने आदेश दिए । त्यही पैसाले दे गाल विश्वभरिका अखबारहरूमा छाए । खासमा दे गाललाई पुँजीवादी बजारको कुनै मालजस्तै ब्रान्डिङ गरिएको थियो । दे गालले फ्रान्सेली सेना तयार गर्न मिहिनेत गरे । विश्वयुद्धमा डनकर्कबाट भागेको फ्रान्सेली सेना बेलायतमै थियो । घाइते सैनिकको सङ्ख्या २ हजार थियो । त्यसमध्ये २ सय सैनिकहरू दे गालको पक्षमा आए । त्यसमा थपथाप गरेर दे गालले सेना गठन गरे । सेनाको गतिविधि बढ्दै जाँदा यसको सङ्ख्या ७ हजार पुग्यो । तर, विश्वयुद्धका दृष्टिले यो सङ्ख्या नगन्य थियो ।
दे गालले फ्रान्सका उपनिवेशहरूबाट आडभरोसा पाउने आस गरेका थिए । जनरल पेताँले देशलाई नै धोका दिएपछि उनले उपनिवेशका गभर्नर र जर्नेलहरूलाई ‘फ्री फ्रान्स सङ्गठन’ मा गोलबद्ध हुन आह्वान गरे । तर, हिन्द चीन र सोमालियाका गभर्नर र जनरलहरूले मात्र उत्तर दिए । त्यसपछि दे गालले आफ्ना सहयोगीहरूलाई उपनिवेशहरूमा पठाएर प्रचार अभियान चलाए । अन्तमा दे गालले मध्य कङ्गो, क्यामरुन, चाडजस्ता अफ्रिकी भूभागलाई आफ्नो देशको भूभाग भने । यसबेलासम्म फ्रान्सका अन्य ठूला उपनिवेशहरू भिशे सरकारकै हातमा थिए ।
बेलायती रवैया
दे गाल फेरि एकचोटि अप्ठेरोमा परे । कुनै बेला फ्रान्सेली सैन्य नेतृत्वसँग भिडेका दे गाल बेलायतसँग पनि भिड्नुप¥यो । यसो गर्दा बेलायत मात्र नभई उनका साथी चर्चिलको पनि उनी आँखी भए । चर्चिलले दे गाललाई बेलायतका साथी होइनन् भनी लेखेकै छन् । उनीहरूबीचको मित्रता साथी र शत्रुबीच झुलिरह्यो । खासमा चर्चिल भने दे गाललाई एकजना सिकारुभन्दा माथिको हैसियत दिन तयार थिएनन् । त्यसैले दे गालले बेलायतमा टेकेको पहिलो दिनदेखि हेलाहोचो सहनुप¥यो ।
२९ जून १९४० मा दे गाल ट्रेनदम पार्क गए । त्यहाँ उनले नर्वेबाट फर्केका केही फ्रान्सेली सैनिकहरूलाई आकर्षित गरे । उनी त्यहाँबाट निस्किएलगत्तै बेलायती अधिकारीहरू त्यहाँ पुगे र ‘दे गालको पछि लागे तपाईँहरू आफ्नो वैध सरकारलाई धोका दिने विद्रोही बन्नुहुनेछ’ भने । त्यस्तै एइन्ट्री र हेडकमा पनि फ्रान्सेली सेना आएका थिए । बेलायती जलसेनाका अफिसरले दे गालले उनीहरूलाई सम्बोधन गर्न दिएनन् । त्यसो गर्नु कानुन उल्लङ्घन हुनेछ भन्ने बेलायती एडमिरलको तर्क थियो । यसरी जताततैबाट आएका फ्रान्सेली सैनिकहरू बेलायती सेनामा संलग्न होऊन् भन्ने बेलायतको चाहना थियो । बेलायतमा मात्र नभई अफ्रिका र मध्य एसियामा पनि बेलायतको व्यवहार यस्तै रह्यो । बेलायती शासकहरू सिङ्गै फ्रान्स र उसका उपनिवेशहरू पनि हातमा पु¥याउन चाहन्थे ।
३ जून १९४० मा चर्चिलले क्याटापल्ट अपरेसन गर्न लगाए । मध्य जूनमा फ्रान्समाथि जर्मन हमला चर्किरहेको थियो । फ्रान्स हिटलरको कब्जामा गएपछि बेलायत जर्मनीको दयामा जाने निश्चित थियो । त्यसैले बेलायत सरकारले फ्रान्सेली सरकारको जलसेनाका टुकडीहरू आफूसँग राख्ने सम्झौतामा जोड दिन थाल्यो । एडमिरल दारलान र मार्सल पेताँले स्वीकार पनि गरे । तर, उनीहरू भरपर्दा व्यक्ति थिएनन् । त्यसैले बेलायतको युद्ध – मन्त्रालयले फ्रान्सेली जलबेडाहरू ध्वस्त पार्ने योजना बनायो । त्यही योजनालाई क्याटापल्ट अपरेसन भनिन्छ । यसबारे बेलायतले दे गाललाई सुइँकोसम्म दिएन ।
जुलाई ४ का दिन बेलायतले अलजेरियाली समुद्र किनारमा बसेको फ्रान्सेली टुकडीमाथि हमला ग¥यो । धेरै फ्रान्सेली युद्धपोतहरू डुबे । बेलायतले एकैचोटि अन्य स्थानमा रहेका फ्रान्सेली जलबेडामाथि आक्रमण ग¥यो र तिनलाई कब्जामा लियो । यी आक्रमणहरूले फ्रान्सको जलसेनामाथि ठूलो धक्का त पुगेन तर दे गाल यो आक्रमणबाट आक्रोशित भए । उनले रेडियोमार्फत यी घटनाहरू थाहा पाए । उनले तत्काल आफ्ना जलसेनाका अफिसर एडमिरल मुसेल्येमार्फत बेलायत सरकारलाई चुनौती दिए । बेलायतले फ्रान्सेली जलसेनामाथि आक्रमण गर्न नछोडे आफूहरू भारतको पोन्डिचेरी जाने धम्की दिए । पोन्डिचेरी त्यसबेला फ्रान्सको उपनिवेश थियो र त्यहाँ ५ हजार फ्रान्सेलीहरू बस्थे ।
दे गालको दुःख
दे गाल बेलायतसँग रिसाउनुका अनेक कारण थिए । त्यतिबेला फ्रान्सको भिशे सरकारलाई हिटलर समर्थक मानिन्थ्यो भने दे गाललाई चर्चिलको चम्चा ठानिन्थ्यो । बेलायतको विरोध नगरेको भए दे गालको सेनामा आइरहेका र आउन चाहने सैनिकहरू दे गालतिर जाने थिएनन् । बेलायतबेगर दे गालले केही गर्न सक्दैनथे । त्यसैले उनले आफ्ना साथी कर्नेल पासीलाई भने – बेलायतीहरू मूर्ख र अपराधी छन्, फ्रान्सेली रगत बगाएर आत्मसमर्पणको तानाबाना बुन्दै छन् ।
बेलायतविरुद्ध बोलिसकेपछि दे गालले आफ्नो भनाइलाई नरम बनाउनुपर्ने भयो किनभने आफू बेलायतनिर्भर हुनाले उनले बेलायतलाई अति चिढाउन सक्दैनथे । त्यसैले जुलाई ८ को दिन उनले एउटा विशेष रेडियो सन्देश दिए । बीबीसीमा बोल्दै उनले भिशेनियन्त्रित भूभागमा बेलायतले गरेको हमलालाई दुःखद बताए । युद्धको क्रममा आफ्नो देशमाथि आक्रमण हुँदा जोकोही दुःखी हुने हुनाले फ्रान्सेली जनता दुःखी बनेको भन्दै दे गालले जेजस्ता कार्यलाई पनि बेलायतले विजयको संज्ञा दिएको बताए । खासमा अपरेसन क्याटापल्ट जेजस्तो कार्य नभई नियोजित कारबाही थियो । दे गालले यस्ता कार्यबाट बेलायतसँगको मित्रता खलबल्याउन हुन्न भन्ने मनमा लिए र शत्रुको हातमा जानुभन्दा फ्रान्सेली युद्धपोतहरू डुबेकै राम्रो भनी आफ्नो बचाउ गरे ।
अपरेसन क्याटापल्टपछि पनि दे गालले अनेक हन्डर खाए । दे गालले भूमध्ये रेखामा पर्ने अफ्रिकी उपनिवेशहरू हात पारेका थिए । अब उनी पश्चिम अफ्रिकामा पर्ने फ्रान्सेली उपनिवेशलाई आफ्नो अधिकार क्षेत्रमा पार्न चाहन्थे । यसको लागि डाकार बन्दरगाह एउटा रणनीतिक बिन्दुमा थियो । डाकार कब्जा गर्न चर्चिलसँग दे गालले छलफल गरे । फ्रान्सेली सेनाको मद्दतले डाकार सजिलै कब्जा गर्न सकिने चर्चिलको मनसाय थियो भने दे गालको सोच पश्चिम अफ्रिकामा जरा बलियोसित गाड्नु थियो ।
अगस्त ३१ मा लिभरपुलबाट दुईटा युद्धपोतसहितको सैन्य टोली डाकारतिर लाग्यो । उता भिशे सरकारले सातवटा क्रुजरहरू जिब्राल्टरको बाटो हुँदै अगाडि बढायो । यो देखेर चर्चिल आत्तिए र उनले सेनालाई पछि फर्काउने निधो गरे । तर, दे गालले अघि बढिरहने अडान लिए । दे गाल वेस्टरल्यान्ड नामक जहाजमा थिए । बेलायती एडमिरल कनिङघामसँग उनको चर्काचर्की प¥यो । सेप्टेम्बर २३ मा उनीहरूको टोली डाकार पुग्यो । दे गालले त्यहाँका जनतालाई आफ्नो साथ दिने अपिलसहित रेडियो सन्देश दिए । डाकारमा त्यतिबेला भिशे सरकारका समर्थक बोइसोँ गभर्नर थिए । दे गालले उनलाई आफूसँग मिल्न सन्देशवाहक पठाए । तर, सन्देशवाहकहरू घाइते भई फर्के । त्यसपछि तीन दिनसम्म घमासान युद्ध भयो । बेलायती टुकडीहरू भागाभाग गर्न थाले । बचेखुचेको सेनासहित दे गाल भूमध्ये रेखानजिक दौला बन्दरगाहतिर लागे ।
अमेरिकाले दे गाललाई खिसी ग¥यो । बेलायत रिसायो । भिशे सरकारले उत्सव मनायो । क्याटापल्ट अपरेसनमा बेलायत विजयी भएको थियो तर दे गालको जोडबलले हारको इतिहास लेखिएको हुँदा बेलायत रुस्ट भयो । अर्कोतिर दे गालले आफ्नै देशवासीमाथि हमला गरे भनी हुनसम्म प्रचार गरियो । दे गाललाई लन्डनसामु मुख देखाउनै लाज भयो । नोभेम्बरसम्म उनी अफ्रिकामै रहे । यसबीच उनले भूमध्ये रेखावरपरका ग्याबोनलगायत अफ्रिकी उपनिवेशहरू कब्जा गरे । ती देशहरूमा उनको एकछत्र झन्डा गाडियो । उनले लिबियालगायत इटालीका उपनिवेशहरूमा लड्ने योजना बनाउन धेरै पसिना बगाए । तर, बेलायतले उनको स्थानमा कात्रौक्सलाई ल्याउने मन बनायो । उसले भिशे सरकारसँग गोप्य सम्झौता गर्ने तानाबाना बुन्यो । कात्रौक्सले बेलायती प्रस्ताव लत्याए । अक्टोबरमा हिटलरसँग बैठक बसेपछि पेताँ पूर्णतः हिटलरको सक्रिय सहयोगी बने । यसले दे गाललाई फाइदा भयो । अक्टोबर २७ मा उनले फ्रान्सेली साम्राज्यको सुरक्षा आयोग गठन गरे । उनले आफ्नो आन्दोलनका उद्देश्य, कार्यभार र रूपहरूको व्याख्या गरेर एउटा घोषणापत्र पनि जारी गरे । यसको भाषा राजकीय थियो ।
बेलायती चर्तिकला
सन् १९४० को हिउँदमा बेलायतले आफ्नो ‘हवाई लडाइँ’ जितिसकेको थियो । जर्मन पनडुब्बीहरूको आक्रमणले गर्दा बेलायतलाई धेरै क्षति भएको थियो । अमेरिकी मालसामान र हातहतियार बेलायततिर भन्दा पनि उसका शत्रु देशहरूतिर गइरहेका थिए । रसदपानी घटिरहेको थियो । जताततै जर्मन बमबारी भइरहेको थियो । यस्तोमा चर्चिल र दे गालको सम्बन्ध चिसिरह्यो । नोभेम्बर १७ मा दे गाल अफ्रिकाबाट लन्डन गए । यस्तैमा दे गालका एडमिरल मुसेल्येलाई बेलायती गुप्तचर विभागले पक्राउ ग¥यो । पछि चर्चिल र परराष्ट्रमन्त्री इडनले माफी मागे । एडमिरल मुसेल्ये रिहा भए । लन्डनमा दे गालले (अढाई महिनाको) आफ्नो अनुपस्थितिमा भएका अनेक हल्लाबाजीको चिरफार गरे । बेलायतीहरूसँग व्यवहार गर्दा फ्रान्सेलीहरू लचिलो बन्नुपर्ने हल्लालाई उनले मत्थर पारे । उनले चर्चिलको सल्लाहबेगर बनेको फ्रान्सेली साम्राज्यको प्रतिरक्षा आयोगलाई बेलायती मन्त्रीपरिषद्बाटै मान्यता दिलाउन लगाए ।
सन् १९४१ को आरम्भतिर दे गालले पूर्वको केही देशमा बेलायतसँग भिड्नुपर्ने बुझेका थिए । ग्रीस कब्जा गरेपछि जर्मनीहरू मध्यपूर्वमा खुट्टा पसार्दै थिए । इराकमा हिटलरका एजेन्टहरूले बेलायतविरोधी भावना प्रसार गर्दै थिए । फेब्रुअरीमा हिटलरको विशेष मिसन सिरिया पुग्यो । दे गालले यसलाई सिरिया र लेबनान हात पार्ने अवसरको रूपमा हेरे । मार्चमा उनी मध्यपूर्व गए । आफ्नो शक्ति बढाउन उनले धेरैभन्दा धेरै भूभागमा आफ्नो सेना राख्नुपर्ने थियो । उनले सिरिया र लेबनानमा १९४० पछि बसेको भिशे सेनाबाटै केही सैनिकहरू खोस्ने पनि मन बनाएका थिए । सोभियत सङ्घ र फिनल्यान्डबीच लडाइँ हुँदा ती देशमा फ्रान्सेली सेना पसेको थियो ।
पहिले दे गाल खारतुम गए । त्यहाँका फ्री फ्रेन्च टुकडीहरू अवलोकन गरे । ती टुकडीहरू इटालीविरुद्ध लडिरहेका थिए । ती सेना उनलाई स्वेज क्षेत्रमा चाहिएको थियो । अप्रिलमा दे गालले मध्यपूर्वी देशहरूको स्थितिको अध्ययन गर्दै अफ्रिकाको ब्राजाभिले फर्के । त्यहाँबाट उनले बेलायतलाई मध्यपूर्वमा जर्मन आक्रमण हुनुअघि नै सेना राख्नुपर्ने बताए । यो सेनाको नेतृत्व फ्री फ्रेन्च सेनाले गर्नुपर्ने उनको प्रस्ताव थियो । चर्चिल र कायरोमा रहेका जनरल वेभल दुवैलाई जर्मन खतराको अन्दाज थियो । फ्रान्सेलीहरूलाई जर्मनसँग जुधाउने सम्भावना हुँदाहुँदै पनि बेलायतले दे गालको प्रस्तावलाई कच्चा बतायो ।
जर्मन वायुसेना सिरिया पस्यो । उसको उद्देश्य स्वेज नहर कब्जा गर्नु थियो । इराकमा बेलायतविरोधी विद्रोह भड्कियो । त्यसपछि दे गाल र उनको सानो फ्रान्सेली सेनाको सहयोग लिन बेलायत बाध्य भयो । त्यसैले चर्चिलले दे गाललाई कायरो पुगेर लभान्टको स्थिति बुझ्न भने । दे गाल खुसी भए । उनले जनरल कात्रौक्सलाई दमास्कससम्म फत्ते गरे पूरै लडाइँ जितिने सन्देश पठाए । जून ८ मा बेलायती र फ्रान्सेली सेनाले आक्रमण थाले । बेलायतले सिरिया र लिबिया मुक्त गरेको जस आफ्नो पोल्टामा पार्ला भनेर दे गालले पहिले नै ती देशलाई स्वतन्त्र बनाउने घोषणा गरे । बेलायतले चाहिँ यो काम दुवैले गरेको हो भन्नुपर्ने बतायो । चर्चिलको आग्रहलाई बेवास्ता गर्दै दे गालले आफ्नो अलग्गै घोषणा सार्वजनिक गरे । यो दे गाल र चर्चिलबीचको खटपटको सुरुआत मात्र थियो ।
सिरिया र लेबनान त्यसबेला फ्रान्सको उपनिवेश थिए । त्यहाँ भिशे कमान्डर जनरल देँजको नेतृत्व थियो । भिशे सेनासँगको घमासान लडाइँपछि जनरल देँजले युद्धविराम गर्न आग्रह गरे । बेलायतीहरूले उफ्रिँदै देँजसँग अलग्गै सम्झौता गरे । दे गालको फ्री फ्रेन्च सेनालाई बाहिर राखियो । सिरियाको सम्पूर्ण शक्ति बेलायतको हातमा गयो । यो जूलाई १४ को घटना थियो । त्यो दिनलाई फ्रान्सको राष्ट्रिय दिवस मानिन्छ । देँजसँगको सम्झौतामा फ्री फ्रेन्च सेनाको नामसम्म उल्लेख थिएन । सम्झौताको बदलामा बेलायतले भिशे सेनालाई लभान्टबाट घर फर्किन बाधा नदिने वचन दियो । त्यसबाट चिढिएका दे गालले देँजसँगको सम्झौतालाई अमान्य बताए । उनले जनरल कात्रौक्सलाई सिरिया र लेबनानको सत्ता आफ्नो हातमा लिन आदेश दिए । उनले फ्रान्सको मुक्ति सेनालाई कुनै पनि हालतमा बेलायती कमान्ड वा नेतृत्वबाट बाहिर राख्नुपर्ने बताए । यसले गर्दा बेलायतसँग मुठभेड हुनसक्ने सम्भावना थियो । तैपनि उनले जोखिम मोले ।
बेलायतले एउटा चालबाजी गरेर आफ्नो बचाउ ग¥यो । उसले दे गालका प्रतिनिधिसँग अलग्गै सम्झौता ग¥यो । यसले गर्दा दे गालका मागहरू पूरा भए । त्यसपछि दे गाल दमास्कस र बेरुत गए । त्यहाँ उनको तामझामपूर्वक स्वागत भयो । उनले त्यहाँका प्रभावशाली व्यक्तिहरूलाई भेट्दै गर्दा बेलायतले चाहिँ अलग्गै सम्झौता भएकै छैन जसरीे व्यवहार ग¥यो । उसले फ्रान्सको मुक्ति सेनालाई भिशे सेनासँग भेट्नै दिएन । मुक्ति सेनाले भिशे सैनिकहरूलाई तानेर आफ्नो आकार बढाउन चाहन्थ्यो । बेलायतले यसमा बाधा अड्कायो । बेलायतले बिस्तारै विभिन्न भूभागमा आफ्नो प्रभाव बढायो र अरबमा फ्रान्सले आफ्नो झन्डा गाड्न चाहेको हल्ला पिट्यो । फ्रान्सेली झन्डा हटाइयो र तिनै ठाउँमा बेलायती झन्डा फहरियो । यस्तो स्थितिमा सैन्य बल लगाएर फ्रान्सेली अधिकार जोगाउन दे गालले आदेश दिए । यसले गर्दा बेलायतसँग सम्बन्ध चुँडिने हो कि भनेर उनका साथीहरू डराए । दे गालले तिनीहरूलाई फ्रान्सको हितमै आफ्नो आन्दोलनको हित भएको सम्झाए । खासमा दे गालका साथीहरूले परिस्थितिको अध्ययन गर्न सकेनन् । दे गालको चाल एकदम सटिक थियो । चर्चिल विभिन्न समस्याहरूले घेरिएको हुनाले फ्रान्ससँग नअल्झिने वा दुश्मनी नमोल्ने दे गालको अनुमान सही ठहरियो । सन् १९४० को वसन्तयाममा चर्चिलले भिशे सरकारसँग हात मिलाउन चाहेका थिए । तर, जनरल पेताँले हिटलरसँग हात मिलाए । त्यसैले दे गालजस्तै व्यक्तिलाई माध्यम बनाएर फ्रान्ससँग जोडिनु चर्चिलको बाध्यता बन्न पुगेको थियो । वास्तवमा दे गाललाई बेलायती साम्राज्यका स्वार्थहरूसँग कुनै विमति थिएन । फेरि दे गालसँग हात मिलाउने सोच चर्चिलकै थियो ।
अन्तमा बेलायतले सिरिया र लेबनानबाट हात झिक्यो । त्यहाँ फ्रान्सेली झन्डा फहरियो । अन्तमा दे गालले भिशे सेनाबाट ६ हजार मान्छे आफ्नो सेनामा भर्ती गरे । १२७ अफिसरहरू जनरल देँजको सेना छोडेर दे गालतर्फ लागे । २५ हजार सैनिक चाहिँ पेताँकै सेनामा फर्के । फ्रान्स र बेलायतबीचको खटपटमा दे गालको अडानले जित्यो । १९४१ सेप्टेम्बर १ मा विजयी दे गाल लन्डन फर्के । एक वर्षअघि दे गाल एक्लै थिए । जून १८ को घोषणाको एक वर्षपछि उनी प्रतिरोध सङ्घर्षका नेता बने । यसमा उनलाई फ्रान्सको इतिहासचेतले धेरै प्रेरणा र शक्ति दिएको इतिहासकारहरू मान्छन् ।
प्रस्तुति ः सुरेन
Leave a Reply