के देशभक्त नेपालीले सिंहदरबार जलाउँछन् ?
- कार्तिक १२, २०८३
माओवादी केन्द्रको आइतबारबाट सुरू हुने राष्ट्रिय सम्मेलनको सन्दर्भमा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दिएको एक अन्तर्वार्तामा सम्मेलनमा ‘नयाँ कुरा उठान गर्न खोजेको’ दाबी गरेका छन् । जलवायु परिवर्तन र सूचना प्रविधिका केही शब्दावली पटक–पटक दोहो¥याउँदै उनले आफ्नो पार्टीलाई अन्य दलको तुलनामा फरक र अग्रगामी देखाउने प्रयास गरे । नेपालमा कुनै अन्तर्राष्ट्रिय मुद्दालाई पहिलो पटक उठाउने बित्तिकै आफैले आविष्कार गरेको जस्तो गरी हल्ला गर्ने चलन पुरानो हो । अन्तरवस्तुमा पुँजीवादी प्रजातन्त्रलाई केही नवीन शब्दको आवरण दिएर मदन भण्डारीले नयाँ विचार दिएको दाबी गरेका थिए । उनका अनुयायीहरूले भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ लाई नयाँ आविष्कारको रूपमा चर्चा गर्दै तातो पानीले घर जलाउने प्रयास गरिरहेका छन् ।
यस्तो मामिलामा माओवादीमात्र कम कदापि होइन । मोहनविक्रम सिंहसँग रहँदादेखि नै अहिलेका माओवादी नेताहरूले शब्दको अतिरञ्जनापूर्ण प्रयोगमा ठूलो फड्को मार्दै आएका हुन् । हिन्दी शब्दको अत्याधिक प्रयोग वा अङ्ग्रेजीका गलत वा असन्तुलित अनुवादबाट साधारण शब्दमा जनताले बुझ्न सक्ने कुरालाई पनि के के जस्तो गरी जनतालाई भ्रममा पार्नु उनीहरूको पुरानो समस्या हो । सशस्त्र सङ्घर्षको समयमा पनि माओवादीहरू ‘प्रचण्डपथ’ जस्ता शब्द प्रयोग गरेर केही ठूलै उपलब्धि हात लागेको जस्तो बयान गर्थे । तर, आखिरमा उनीहरूले नेपालमा पुँजीवादी व्यवस्थालाई नै बलियो बनाउन खोजेको र वैदेशिक शक्तिलाई अझ बढी शक्तिशाली बनाउन खोजेको कुरा घटनाक्रम र परिणामले पुष्टि गरेको छ ।
माओवादी अध्यक्ष दाहालले आजबाट सुरू हुने राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने प्रतिवेदनमा केही यस्तै जटिल शब्द प्रयोग गरी केही गर्न खोजेजस्तो र केही भएजस्तो भान पार्नेछन् । हिजो सशस्त्र सङ्घर्षको जगबाट हुर्केका कार्यकर्ता र समर्थकलाई ‘हिङ बाँधेको टालो’ जस्तै गरी केही परिवर्तनकारी र क्रान्तिकारी सुनिने शब्दको प्रयोग गरी नवीन विचारको दाबी गर्नेछन् । तर, अब माओवादी केन्द्रबाट नेपाली समाजको पुँजीवादी रूपान्तरणबाहेक केही पनि हात लाग्ने सम्भव छैन । माओवादी केन्द्रले जस्तोसुकै शब्द प्रयोग गरे पनि अब उसले स्थापना गर्ने लोकतन्त्र पुँजीवादी लोकतन्त्र हो जहाँ मानिसले मानिसमाथि शोषण गर्ने पूर्ण छुट हुन्छ ।
ओलीले थाङ्नामा सुताएपछि चेत खुलेका दाहालले पछिल्ला दिनहरूमा केही क्रान्तिकारीजस्ता सुनिने कुरा गरेर कार्यकर्ता र समर्थकबीच आफू सच्चिएको भान पार्न खोज्दै छन् । उनका भाषणहरूमा फेरि पनि पुरानै शब्दहरू सुनिन थालेको छ । शब्दाडम्बर फेरि सुरू भएको छ । तर, ‘रङ खुइलिसकेको स्याल’ लाई जनताले फेरि पनि ‘स्वर्गबाट आएको दूत’ मान्न सक्ने स्थिति भने अब छैन ।
पार्टी पुँजीवादी भास र संसद्वादमा फसिसकेको वास्तविकता छोप्न दाहालले अनेकन चम्किला कागत टाँसेर झिलिमिली देखाउन सक्छन् । तर, भित्रको आन्तर्य र वास्तविकता माओवादी केन्द्रले बोक्ने विचार पुँजीवादी विचार नै हो । एमाले र माओवादी केन्द्रबीच कति पनि अन्तर नभएको वास्तविकता उनीहरूको एकता र विभाजनको शृङ्खलाबाट जनताले थाहा पाइसकेका छन् ।
समय नै सबभन्दा ठूलो शिक्षक हो । माओवादी केन्द्रको वास्तविकता थाहा पाउन जनतालाई केही समय अवश्य लाग्यो । तर, ढिलै भए पनि रङ पखालिएको स्याल चिन्न जनता सफल भएका छन् ।
Leave a Reply