भर्खरै :

सम्पदा संरक्षण र जनताको सेवा नै भनपाको लक्ष्य

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छँे (रोहित) बाट नृत्य वत्सला मन्दिरको उद्घाटन र उक्त मन्दिरको विषयमा लेखिएका विभिन्न महत्वपूर्ण लेखहरू र निर्माणसम्बन्धी सम्पूर्ण विवरण सङ्ग्रह गरिएको पुस्तक नृत्य वत्सला मन्दिर पुनःनिर्माण २०७८ पुस्तकको सार्वजनिकीकरण गर्ने अवसर पाउँदा हामी अत्यन्त खुसी छौँ ।
भक्तपुर क्षेत्रफलको हिसाबले देशकै सानो नगरमध्ये एक हो तर सांस्कृतिक सम्पदाको दृष्टिले भने यो नेपालकै एक महत्वपूर्ण नगर हो । मूर्त र अमूर्त सम्पदाहरूको संरक्षणमा भक्तपुर नगरपालिकाले अग्रणी भूमिका खेल्दै आएको छ । सांस्कृतिक नगरको उपमा पाएको भक्तपुरलाई कतिपय संस्कृतिविद् र विद्वान्हरूले ‘नाचगानको राजधानी’ को रूपमा परिभाषित गर्नुभएको छ ।
१२ औँ देखि १५ औँ शताब्दीसम्म नेपाल मण्डलको राजधानी सहरको रूपमा रहेको भक्तपुरमा मल्लकालीन समयमा थुप्रै महत्वपूर्ण सम्पदाहरूको निर्माण भएको देखिन्छ । ङातापोल्हँ मन्दिर, भैरवनाथको मन्दिर, ५५ झ्याल दरबार, लुँढोका, वत्सला मन्दिरलगायत भक्तपुर दरबार क्षेत्रमा अवस्थित थुप्रै सम्पदाहरू मल्लकालीन काष्ठकला, धातुकला र प्रस्तरकलाका अनुपम एवं बेजोड कलाकारिताका नमुनाहरू हुन् ।
वत्सला मन्दिर नेपाल संवत् ७९८ मा राजा जितामित्र मल्लको पालामा बनेको इतिहास छ । उक्त मन्दिर २०७२ सालमा गएको विनासकारी भूकम्पबाट पूर्णरूपमा क्षतिग्रस्त भयो । त्यसको अलावा भक्तपुरका १२० भन्दा बढी सम्पदाहरू उक्त भूकम्पबाट आंशिक र पूर्ण क्षति भयो । हालसम्म भक्तपुर नगरपालिकाले ११८ वटा सम्पदाहरू पुनः निर्माण र जीर्णोद्घार सम्पन्न गरिसकेको छ भने अझ कैयौँ सम्पदाहरू निर्माणाधीन अवस्थामा छन् । हामी हाम्रा सबै सम्पदाहरूलाई देशको सम्पत्तिको रूपमा ग्रहण गर्दै ती सबैको संरक्षण गर्नु आफ्नो कर्तव्य ठान्छौँ र यही भावनाले संरक्षणको कामलाई प्राथमिकतामा राख्दै भक्तपुर नगरपालिकाले काम गर्दै आएको छ ।
स्थानीय तहमा जनप्रतिनिधि नहुँदा पुनःनिर्माणको लागि निकै ठूलो चुनौती व्यहोर्नुप¥यो । भक्तपुर नगरपालिकाले त्यस प्रतिकूल अवस्थामा पनि स्थानीय जनताको सहयोगमा उपभोक्ता समितिमार्फत नृत्य वत्सला मन्दिर पुनःनिर्माण गर्ने निर्णय ग¥र्यो । तत्कालीन भक्तपुर नपा वडा नं. १३ का पूर्ववडाध्यक्ष रामहरि गोराको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी निर्माण कार्य अगाडि बढाइयो । स्थानीय स्रोत र साधन तथा स्थानीय जनताको सीप र दक्षता प्रयोग गरी सम्पदा पुनःनिर्माण गर्नुपर्ने मान्यता भक्तपुर नगरपालिकाले राख्दै आएको छ । उपभोक्ता समितिमार्फत सम्पदाहरूको पुनःनिर्माण गर्दा निर्मित संरचना गुणस्तरीय हुनुका साथै सम्पदामाथि जनताले अपनत्व महसुस गर्ने हुँदा भक्तपुर नपाले यस नीतिलाई निरन्तरता दिँदै आएको छ ।
२०७४ सालको स्थानीय निर्वाचनपछि उक्त मन्दिर पुनःनिर्माणले गति लियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले यस मन्दिर पुनःनिर्माणमा निकै चासो लिएर चाँडो सम्पन्न गर्न हामीलाई घच्घच्याउनुभएको थियो । उहाँ स्वयम्ले उक्त मन्दिर निर्माणाधीन अवस्थामा पटक–पटक स्थलगत अवलोकन गर्नुभयो र त्यहाँ कार्यरत प्राविधिक, कालिगड र उपभोक्ता समितिका साथीहरू र हामी जनप्रतिनिधिहरूलाई हौसला प्रदान गर्नुभएको थियो ।
वत्सला मन्दिर पुनःनिर्माणको लागि भक्तपुर नगरपालिकाले रू. १ करोड २८ लाख ६२ हजार लगत इस्टिमेट पारित गरेको थियो । उपभोक्ता समितिमार्फत आवधिक योजना राखी काम गर्दा रू. ७७ लाख १३ हजार खर्चमै पुनःनिर्माण सम्पन्न भयो । स्थानीय जनताको सहयोगमा सम्पदा पुनःनिर्माण भइरहेकोमा विभिन्न देशका नागरिकहरूबाट रू. ६ लाख २७ हजार ५ सय १० सहयोग प्राप्त भएको छ । नेपाली वास्तुकला र यहाँको कार्यशैलीप्रति उहाँहरूले देखाउनुभएको सद्भाव र सहयोगप्रति भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौँ ।
प्रत्यक्ष जनसहभागिताको आधारमा जन श्रमदान, आर्थिक सहयोग जुटाई मौलिक सीप र प्रविधि तथा स्थानीय निर्माण सामग्रीको प्रयोग गरी सम्पदा पुनःनिर्माण आज भक्तपुरको विशेषता बनेको छ । जनस्तरबाटै रू. ५० लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन गरी हालै सम्पन्न खोह्र ध्वाखा, रू. १६ लाखभन्दा बढी आर्थिक सहयोग र ४ हजार २ सत्र्न्दा बढीको जन श्रमदान तथा रू. ५ लाखभन्दा बढीको भौतिक सहयोगमा केही समयअघि जीर्णोद्घार सम्पन्न ङातापोल्हँ मन्दिर र भैरवनाथ मन्दिरलगायतका सम्पदाहरूको जीर्णोद्घार तथा पुनःनिर्माणले भक्तपुरवासी जनताको सम्पदाप्रतिको माया, प्रेम र संरक्षणको भावना प्रस्ट पारेका छन् ।
विश्व सम्पदामा सूचिकृत दरबार क्षेत्र सांस्कृतिक र ऐतिहासिक दृष्टिले एक महत्वपूर्ण ठाउँका साथै सम्पदाहरूको संरक्षणको दृष्टिले भक्तपुरको केन्द्र नै मानिन्छ । जर्मनी वास्तुकलाविद् नील गोत्सोले भक्तपुरलाई संसारकै ठूलो जीवित सङ्ग्रहालय भनी प्रशंसा गर्नुभएको छ । भक्तपुरमा विभिन्न देशबाट बर्सेनि लाखौँको सङ्ख्यामा पर्यटकहरू आउने गर्छन् र भक्तपुरका कलाकारिताका अनुपम र बेजोड सम्पदाहरूको रसास्वादन गर्छन् । यो भक्तपुरवासीहरू सबैको निम्ति गर्वको विषय हो । तिनै पर्यटकहरूले बुझाएको शुल्क आज भक्तपुरको आन्तरिक आयको महत्वपूर्ण स्रोत बनेको छ । पर्यटक शुल्कको अधिकांश रकम सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यजस्ता विषयहरूमा नगरपालिकाले खर्च गर्दै आएको छ ।
विदेशी सहयोग, गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था (आईएनजीओ) हरूको सहयोगविना स्थानीय जनताकै सहयोगमा सम्पदाहरूको जीर्णोद्धार र पुनःनिर्माण सम्भव छ भन्ने कुरा भक्तपुर नगरपालिकाले पुष्टि गर्दै आएको छ । हामी आत्मनिर्भरताले मात्रै आत्मगौरव प्राप्त गर्न सकिन्छ भन्ने मान्यता राख्छौँ । यही सोच र दृष्टिकोणले नै भक्तपुर नगरपालिकालाई कला—संस्कृति संरक्षित नगरको पहिचान बनाउन सफल भएको छ ।
यस मन्दिर पुनःनिर्माणको बेला समय–समयमा अवलोकन गरी सबैको हौसला बढाउनु हुने नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँज्यूलाई भक्तपुर नगरपालिकाको तर्फबाट आभार व्यक्त गर्दछौँ । जनप्रतिनिधि नभएको अवस्थामा पनि पुनःनिर्माणको लागि पहल गर्नुहुने भक्तपुरको पुरातात्विक तथा सांस्कृतिक महत्वका सम्पदाहरूको उत्खनन तथा पुनःनिर्माण समितिको संयोजक एवं वर्तमान सङ्घीय सांसद प्रेम सुवालज्यूलगायत समितिका सम्पूर्ण सदस्यहरू, प्राविधिक समिति, उपभोक्ता समिति, अनुगमन समितिका सम्पूर्ण सदस्यहरू र जनप्रतिनिधि साथीहरूप्रति हार्दिक आभार प्रकट गर्दछौँ ।
मन्दिर पुनःनिर्माणमा निरन्तर खट्नुभएका उपभोक्ता समितिका सदस्यहरू, लोहँकर्मी कान्छा रन्जितकार, डकर्मी श्याम त्वायना, भक्तपुर नगरपालिका सम्पदा शाखा, मन्दिर पुनः निर्माणको अवस्थामा व्यापक प्रचार प्रसार गरी सहयोग गर्नुहुने पत्रकार साथीहरू र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबै महानुभावहरूलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । यहाँहरूको अमूल्य राय, सुझावहरूको सम्मान गर्दै भक्तपुरको कला संस्कृतिको संरक्षणलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *