भर्खरै :

वैदेशिक रोजगारीको नाममा युवा बेचविखन किन ?

काठमाडौं, ४ साउन । युवालाई विदेशमा बेचविखनजस्तै पठाएर प्राप्त विप्रेषणको रकमबाट देश चलाइएको हुँदा मूल्यवृद्धि बढेको हो । आन्तरिक उत्पादन नबढेको हुँदा विप्रेषण रकम गाडी, इन्धन र अन्य खाद्यान्न आयातमा खर्च भइरहेको छ । यसको लागि चुनावमा युवालाई वैदेशिक रोजगारीमा पठाउने भनी मत लिने सरकारमा गएका दलहरू दोषी छन् ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बुधबार बसेको बैठकमा वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान विषयक छलफलमा मन्तव्य राख्दै संविधानमा कसैलाई पनि मृत्युदण्ड दिइने व्यवस्था नहुँदा अपराधीहरूको मनोवल बढेको उल्लेख गर्नुभयो ।
उहाँले कतिपय वैदेशिक रोजगारी कम्पनीहरूले नेपाली युवाहरूको घरखेत बेचाएर करोडौं अर्बौ रूपैयाँ ठगेको समाचार प्रकाशित भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै श्रम विभागले वैदेशिक रोजगारी कम्पनीहरूसँग २–२ लाख रूपैयाँ उठाएको र यसैकारण ठगी गर्ने कम्पनीहरूमाथि कारबाही नभएको जनगुनासो रहेको बताउनुभयो ।
राणा शासनको अन्त्यलगत्तै भारत बसोबासमा गएका राणाहरूको घरेलु कामदारको रूपमा दुई–चार जना नेपाली चेलीहरू लगेको बढ्दै अहिले वर्षको २० हजारको सङ्ख्यामा नेपाली बेचविखन भइरहेको तर ती अपराधीहरूलार्इृ २० वर्षसम्म कैद गर्ने कानुन भए पनि कसैलाई सजाय नभएको उल्लेख गर्दै अरब देशका राजाहरूको दरवारमा घरेलु कामदारको लागि महिला पठाउने कानुनी बनाउँदा भारतमा जस्तै चेलीबेटी बेचविखनको रूप लिनेतर्फ सरकारलाई सचेत गराउनुभयो ।
बैठकमा श्रममन्त्री फरमुलाह मन्सुरले वैदेशिक रोजगारीमा वैधानिक र अवैधानिक घरेलु कामदारमा नेपाली महिलाहरू गइरहेको स्वीकार गर्दै अरबका राजाहरूले नेपालको परराष्ट्र मन्त्रालयमार्फत घरेलु कामदारमा जाने महिलाहरूलाई वैध बनाउन दबाब आएको र ती महिलाहरूमाथि अमानवीय व्यवहार र शोषण भएको उल्लेख गर्नुभयो ।
श्रम सचिव लक्ष्मण मैनालीले वैदेशिक रोजगारीको लागि ४० लाख नेपालीले श्रम स्वीकृति लिएकोमा ती सबै गए नगएको अभिलेख नभएको बताउनुभयो र अदालतको आदेशमा झण्डै ११५० वटा वैदेशिक रोजगारी कम्पनीलाई सरकारले अनुमति दिएको उल्लेख गर्नुभयो ।
एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारत भएर गैरकानुनीरूपमा नेपालीहरू तेस्रो देशको वैदेशिक रोजगारीमा गएको उल्लेख गर्दै देशमा रोजगारीको व्यवस्था नभएसम्म वैदेशिक रोजगारीमा जाने युवाहरूको बाटो बन्द गर्न नहुने बताउनुभयो ।
नेकाका सांसद प्रेमकिशोर साहले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको स्थिति समितिका सदस्यहरूले खाडी मुलुकमा भ्रमण गरी तयार पारेको प्रतिवेदनबाट स्पष्ट हुने बताउनुभयो । एमालेका सांसद भीष्म अधिकारीले सरकार र वैदेशिक रोजगारी कम्पनीबीच लेनदेनको सम्बन्ध भएको जनगुनासो उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *