भर्खरै :

एमसीसी नेपालको असंलग्न परराष्ट्र नीति विपरीत

भक्तपुर, १२ पुस । नेपाल कर्मचारी समाजको आयोजनामा देशघाती एमसीसी सम्झौताबाट हुने दीर्घकालीन असर र वर्तमान समसामयिक विषयमा प्रवचन तथा कर्मचारी भेला सोमबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रसेवक कर्मचारीहरू सचेत नागरिक हुने भएकाले देशको अस्तित्व र सार्वभौमसत्ता सँग जोडिएको सन्धि–सम्झौताको विषयमा जानकारी राख्नुपर्ने र देशघाती सम्झौताको विरुद्धमा आ–आफ्नो क्षेत्रमा क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल र अमेरिकाबीच हुने सम्झौतामा तेस्रो मुलुक भारतको सहमति आवश्यक हुने प्रावधान राख्नु नेपालको सम्प्रभुताको विरोधमा भएको वा देशघाती भएको उहाँले प्रस्ट पार्नुुभयो ।
इन्डो–प्यासिफिक स्ट्राटेजी (हिन्द प्रशान्त क्षेत्रीय रणनीति) अन्तर्गत एमसीसी सम्झौता हुने भएकोले यो नेपालको असंलग्न परराष्ट्र नीतिको विपरीत हुने र एमसीसीले खटाएका कर्मचारीबाट हुने कुनै पनि किसिमका अपराध नेपालको कानुनअनुसार कारबाही गर्न नसकिने प्रावधान रहेकोले यो सम्झौता नेपालको कानुनभन्दा माथि छ, यो सम्झौता देशघाती र देशको संविधानविपरीत छ, उहाँले भन्नुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले एमसीसी पारित भए नेपालको अस्तित्व नरहने खतरा औँल्याउँँदै विदेशीको सहयोगमा देशको सार्वभौमिकता बेच्नु गलत हुने बताउनुभयो ।
नेपाल कर्मचारी समाजका अध्यक्ष गौतमप्रसाद लासिवाले अमेरिकी गठबन्धनसँग सम्बन्धित एमसीसी सम्झौता खारेज गर्न न्यायप्रेमी र देशभक्त जनता देशको पक्षमा उभिनुपर्छ भन्नुभयो ।
कार्यक्रममा कर्मचारी एशोसिएसन भक्तपुरका सहसचिव विकास प्रजापति, भक्तपुर नपा स्यानिटेसन उपशाखाका प्रमुख दिलिपकुमार सुवाल, नेपाल कर्मचारी समाजका सदस्य दिलकृष्ण माक र रामकृष्ण प्रजापतिले पनि एमसीसी सम्झौताको विरोध गर्नुपर्ने विषयमा आ–आफ्नो धारणा व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *