कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –३
- श्रावण ३, २०८३
जलविद्युत् आयोजनाको कामको सिलसिलामा २०७१ साल चैत १५ गते पहिलोपटक म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा ४ नारच्यांग (तत्कालीन नारच्यांग गा.वि.स.) पुग्ने अवसर मिल्यो । आँखा सामुन्ने नै नीलगिरी हिमाल र गोरटो बाटोभरि लालीगुराँसका फूलहरू त कतै भारी बोक्ने खच्चडहरू लामबद्ध देख्दा निकै प्रफुल्लित भएँ ।
काली गण्डकी नदीको सहायक खोला मिष्ट्री खोलाको बायाँ किनारामा अवस्थित नारच्यांग गाउँ मगर जाति बाहुल्य ठाउँ हो । नीलगिरी खोला र घलेम्दी खोला मिसिएपछि बन्ने मिष्ट्री खोला केही तल पुगेपछि काली गण्डकी नदीमा मिसिन्छ ।
यही मिष्ट्री खोलाको पानी उपयोग गरी निर्माण गरिएको ४२ मेगावाट क्षमताको मिष्ट्री खोला जलविद्युत् आयोजनाको १३२ के.भी. डबल सर्किट विद्युत् प्रसारण लाइन आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययनको लागि पहिलोपटक त्यस क्षेत्रमा पुग्ने अवसर मिलेको थियो । नारच्यांग गाउँमा मात्रै ६ वटा आयोजना निर्माण तथा अध्ययनको क्रममा रहेका छन् । ३८ मेगावाट क्षमताको नीलगिरी खोला १ जलविद्युत् आयोजना, ७१ मेगावाटको नीलगिरी खोला २ क्यास्केड जलविद्युत् आयोजना, घलेम्दी खोला जलविद्युत् आयोजना (५ मे.वा.), रेले खोला जलविद्युत् आयोजना (६ मे.वा.), सुपर घलेम्दी जलविद्युत् आयोजना (१२ मे.वा.), मिष्ट्री खोला जलविद्युत् आयोजना (४२ मे.वा.)रहेका छन् । यी आयोजनाहरूमध्ये घलेम्दी खोला जलविद्युत् आयोजना (५ मे.वा.) र मिष्ट्री खोला जलविद्युत् आयोजना (४२ मे.वा.) सञ्चालन भइसकेका छन् भने नीलगिरी खोला १ र निलगिरी खोला २ क्यास्केड र रेले खोला जलविद्युत् आयोजना निर्माणको क्रममा रहेका छन् । सुपर घलेम्दी जलविद्युत् आयोजना अध्ययनको क्रममा रहेको छ ।
२०७८ को वैशाखबाट सञ्चालनमा आएको माउन्टेन इनर्जी नेपाल लि.द्वारा निर्माण सम्पन्न गरिएको मिष्ट्री खोला जलविद्युत् आयोजनाको निर्माणको क्रममा यस आयोजनाको वातावरण एकाइमा वातावरणविद्को रूपमा काम गर्ने मौका पाएकी थिएँ । कुनै पनि विकास निर्माणको काम गर्नुपूर्व त्यसको वातावरणीय अध्ययन गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । यसै प्रावधानअनुरूप मिष्ट्री खोला जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको थियो । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा प्रस्तावित आयोजनाको विस्तृत विवरण, आयोजना स्थलको भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणको जानकारी, आयोजनाको क्रियाकलापबाट उक्त क्षेत्रको वातावरणमा पर्न सक्ने सकारात्मक तथा नकारात्मक प्रभावहरू, सकारात्मक प्रभाव अभिवृद्विका उपायहरू, नकारात्मक प्रभाव न्यूनीकरणका उपायहरू समावेश भएको हुन्छ । यसको साथै प्रस्तावित उपायहरू अवलम्बन गर्न वातावरण व्यवस्थापन योजना (Environmental Management Plan) पनि समावेश भएको हुन्छ । यो योजनाअन्तर्गत सकारात्मक प्रभाव अभिवृद्विका उपायहरू र नकारात्मक प्रभाव न्यूनीकरणका उपायहरू के के हुन्, कसरी गर्ने, कहाँ गर्ने, कहिले गर्ने, कसले गर्ने, अनुमानित लागत र कसले अनुगमन गर्ने भन्ने विवरण तयार गरिएको हुन्छ । वातावरण व्यवस्थापन योजना कार्यान्वयन गर्न वातावरण व्यवस्थापन एकाइ(Environment Management Unit) को स्थापना गर्नुपर्ने र यो एकाइको संरचना कस्तो हुन्छ भनेर पनि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएको हुन्छ ।
यसैअनुरूपको काम गर्न मैले इनर्जी रिसोर्सेस एन्ड सोलुसन्स प्रा.लि. नामक वातावरणीय परामर्शदाता संस्थामा आबद्ध भएर करिब ६० महिना मिष्ट्री खोला जलविद्युत् आयोजनाको वातावरण एकाइमा वातावरणविद् भएर काम गरेँ । वातावरणको लागतले आयोजनाको कुल लागत बढाउने काममात्र हुन्छ र झन्झटिलो हुन्छ भन्ने कुराको उल्टो परिणामको उदाहरण यस आयोजनाले दिएको छ ।
नेपाल सरकारको लगानीमा बनेका जलविद्युत् आयोजनाहरू केही महँगोमा बन्ने भनिँदै गर्दा यो जलविद्युत् आयोजनाको लागत रू. १४ करोड प्रतिमेगावाटमा निर्माण सम्पन्न भएर व्यवस्थापन राम्रो भएमा आयोजना सस्तोमै बन्न सक्दोरहेछ भन्ने सकारात्मक सन्देश मैले पाएँ । मैले यहाँ कुनै निजी लगानीमा निर्माण भएको जलविद्युत् आयोजना राम्रो भनेर प्रस्तुत गर्न खोजेको पक्कै होइन । यतिमात्र हो कि स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा समावेश भएको वातावरण व्यवस्थापन योजना पूर्णरूपमा कार्यान्वयन गर्दा पनि आयोजनाको व्यवस्थापन पक्ष राम्रो भएको खण्डमा वातावरणमा कममात्र असर पर्ने गरी आयोजना निर्माण कार्य सम्पन्न गर्न सकिने रहेछ भनेर उदाहरणमात्र प्रस्तुत गर्ने खोजेको हुँ ।
राष्ट्रिय ऊर्जा सङ्कट कटौती र विद्युत् विकास दशक योजना, २०७२ अनुसार १०० मे.वा. क्षमतासम्मको जलविद्युत् आयोजनाले आयोजनाको कुल लागतको ०.७५ प्रतिशत र १०० मेगावाट क्षमतामाथिको जलविद्युत् आयोजनाले आयोजनाको कुल लागतको ०.५० प्रतिशत आयोजना प्रभावित क्षेत्रको सामाजिक सहयोग कार्यक्रमका लागि छुट्याइनुपर्ने प्रावधान रहेको छ । योबाहेक आयोजनाको कुल लागतको १ देखि १.५ प्रतिशत वातावरण प्रभाव न्यूनीकरण तथा त्यसको अनुगमनको लागि बजेट छुट्याइनुपर्दछ । यसै प्रावधानअनुरूप यस आयोजनाले सामाजिक सहयोगको कार्यक्रममा विनियोजन गरिएको रकम सो क्षेत्रमा रहेका विद्यालयहरूलाई आर्थिक सहयोग तथा शिक्षकको तलब, आमा समूह तथा युवा क्लवलगायत स्वास्थ्य क्षेत्रमा समेत सहयोग गरेको थियो ।
स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएअनुसारको वृक्षरोपण र त्यसको हेरचाह, वन्यजन्तु संरक्षणसम्बन्धी तालिम, वन डढेलो न्यूनीकरणसम्बन्धी तालिम, पेशाजन्य सुरक्षासम्बन्धी तालिम, गाडी चलाउने तालिम, च्याउखेतीसम्बन्धी तालिम, वेल्डर तालिम, घर बास (Home stay)सञ्चालनसम्बन्धी तालिम, शेयर लगानीसम्बन्धी तालिम आदि सफलतापूर्वक सम्पन्न गरिएको थियो ।
हेडरेस सुरुङ्ग निर्माणको बेला विस्फोटनले गर्दा घरहरू चर्किएको गुनासो आएपछि ती घरहरूको अनुगमन र जिल्ला प्रशासन कार्यालय, म्याग्दीको रोहोबरमा स्थनीयहरूको माग बमोजिमको क्षतिपूर्ति र प्रभाव न्यूनीकरणको काम गरिएको थियो । साथै जल प्रदूषण न्यूनीकरण योजना, निर्माणजन्य तथा अन्य फोहोर व्यवस्थापन योजना पनि कार्यान्वयन गरिएको थियो ।
सो आयोजना अन्नपूर्ण संरक्षण क्षेत्रभित्र परेको हुँदा, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा आयोजना क्षेत्रको जैविक विविधतासम्बन्धी वैज्ञानिक र खोजमूलक अध्ययन गर्न बजेट विनियोजन गरिएकोमा अन्नपूर्ण संरक्षण क्षेत्र, प्रधान कार्यालय, पोखरा र एकाइ कार्यालय घान्द्रुकको सहयोगमा वातावरण एकाइको आयोजनामा २०१७ को सेप्टेम्बर देखि २०१८ को सेप्टेम्बरसम्म विभिन्न विज्ञहरूको टोलीद्वारा गरिएको अध्ययनबाट मिष्ट्री खोला जलाधार क्षेत्रको नारच्यांगको जैविक विविधतासम्बन्धी पुस्तक तयार पारिएको थियो । साथै जैविक विविधता सम्बन्धीका विभीन्न क्षेत्रका विज्ञहरूको उपस्थितिमा पोखरामा एकदिने गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम गरी उक्त पुस्तकलाई पूर्णता दिइएको थियो । जुन पुस्तक अहिले प्रकाशनको तयारीमा रहेको छ ।

आयोजनाको वातावरणीय अध्ययनको क्रममा
Leave a Reply