भर्खरै :

चुनाव जितेर नेता काठमाडौँमा, चुनाव जिताउने जनता गरिबीमै

उहिलेदेखि नै नेपालका राजनीतिकर्मी अर्थात् नेता र उच्चपदस्थ कर्मचारीहरू सुगम क्षेत्रमा घर बनाएर बस्दै आएका छन् । यो क्रम नरोकिएसम्म नेपालको विकास तथा जनताको सेवा हुनेछैन ।
नेपाल गाउँ नै गाउँको बस्ती थियो । उहिले ८१ प्रतिशत जनता किसान थिए । देशको अर्थतन्त्र कृषिमा आधारित थियो । जमिनदार, मध्यम वर्ग, निम्न वर्गहरू गाउँमै बसेका हुन्थे । अहिले गाउँमा उच्च वर्ग, राजनैतिक नेता, उच्चपदस्थ कर्मचारी, ठेक्कापट्टा गर्नेहरू खासै छैनन् ।
छोराछोरी पढाउने निहँुमा विदेश गएकाका श्रीमती र बालबच्चाहरू पनि बजारमै बस्छन् । बजारमा विशेषगरी आयातीत मालसामानहरूको उपयोग हुन्छ । गाउँको जमिन बाँझिदै छ र उत्पादन घट्दै छ ।
गोर्खा जन्मेका भीमसेन थापा काठमाडौँ सरे । पर्वत जन्मेका जङ्गबहादुर राणा काठमाडौँमै बसे । राणाहरू सबै काठमाडौँमै बसाइँ सरे ।
अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरामा जन्मेका हुन् । अहिले काठमाडौँ बुढानीलकण्ठमा घर बनाएर बसेका छन् । उनको डडेलधुराको गाउँ अहिले पनि दुर्गम क्षेत्रमा पर्छ । उनलाई भोट दिने डडेलधुराका मतदाताहरू गरिबको रेखामुनि बाँच्न बाध्य छन् । हामी डडेलधुराका हलियामुक्तका घरमा जाँदा उनीहरू भन्ने गर्थे, जमिनको व्यवस्था गरौँला भनेको कारण हामीले नेपाली काङ्ग्रेसलाई मत दियौँ । हाम्रो मतले जितेका शेरबहादुर देउवा तीन पटक प्रधानमन्त्री भए तर हाम्रो माग सुनिएन ।
सिन्धुपाल्चोक जिल्लाबाट चुनाव जित्ने पशुपतिशमशेर राणा काठमाडौँका राणा खानदानीका छोरा हुन् । उनलाई मत दिने सिन्धुपाल्चोकीहरू अहिले पनि गरिब नै छन् ।
पूर्वप्रधानमन्त्री केपी ओली झापा जिल्लाको दमक नगरपालिकाको गाउँमा जन्मेका हुन् । नेता भएपछि उनी पनि भक्तपुरको बालकोटमा घर बनाएर बसेका छन् । उनलाई मत दिने जनता पनि गरिबीको रेखामुनि जीवन बिताइरहेका छन् ।
रौतहटको गौरमा जन्मेका माधवकुमार नेपाल पनि त्यहीबाटै जितेर आएका हुन् । रौतहटको गौरबजारमा उनलाई मत दिने जनता सबै धनी र सुखी छैनन् ।
देशमा सबैभन्दा गरिबीले चिनिएका कर्णालीका जनताले चुनेका नेताहरू हरिश्चन्द्र महत, नरबहादुर बुढाथोकी, मोतीप्रसाद पहाडी, धनबहादुर बुढा, हस्तबहादुर मल्ल, जीवनबहादुर शाही, ललितजङ शाही, धर्मदत्त उपाध्याय, पदमबहादुर रोकायासमेतका दर्जनौँ नेताहरू चुनाव जितिसकेपछि काठमाडौँमा घर बनाएर गाउँको बसाइ छाडेका छन् ।
जिल्ला र गाउँमा जन्मेका नेताहरू चुनाव जितिसकेपछि गाउँ छाडेका कारण ती गाउँमा विकास भएनन् । गाउँमा गरिबी बढ्यो ।
गाउँमा राम्रो स्कूल छैन, अस्पताल छैन, सडक छैन । नेताहरू आफ्नै स्थानमा व्यवस्था नगरी सहर पस्ने गरेका कारण गाउँको विकास भएन । सहरमा जनसङ्ख्या बढ्यो । सहरका मानिसहरू विस्तारै विदेश पलाएन भए ।
सरकारी तथा गैरसरकारी क्षेत्रमा नोकरी गर्ने उच्चपदस्थ कर्मचारीहरूमा पनि त्यही रोग सरिरहेको छ । धेरै पैसा कमाउने कर्मचारीहरू राजधानीमा, अलि कम कमाउने ठूला बजार र कम कमाउनेहरू जिल्ला सदरमुकाममा घर बनाएर गाउँको बस्ती छाड्ने गरेका छन् ।
ठेक्कापट्टा गर्नेहरूले पनि सुख सुविधाको खोजीमा बैङ्कले ऋण पत्याउन सदरमुकाम र राजधानीमा जग्गा किनेर घर बनाई बैङ्किङ कारोबार गर्न र गाउँको बस्ती छाड्न थालेका हुन् ।
पछिल्लो दिनमा वैदेशिक रोजगारीमा जानेहरू पनि गाउँको घर आमाबाबुलाई छाडेर सन्तान पढाउने नाममा बाहिर घर बनाउन थाले ।
यसरी नेता, कर्मचारी, ठेकेदार, वैदेशिक रोजगारीमा जानेहरू गाउँमा शिक्षा, स्वास्थ्य, विकासलगायत कुनै अवसर छैन भनेर बजारमा घर किनेर बसे । गाउँका विद्यालयको स्तर यिनीहरूबाटै खस्क्यो । अस्पताल बनाइएन, भौतिक विकास गरिएन । पहँुच नहुने किसानहरूमात्रै गाउँमा बसेका छन् । अनि देशको विकास कसरी हुन्छ ?
अब सरकारले कुनै पनि गाउँको मान्छे सहर बस्न नपाउने र सहरको मान्छे विदेश जान नपाउने अनि जग्गा जमिन बाँझो राख्न र त्यहाँ उत्पादन हुने माल वस्तु अन्तबाट ल्याउन नपाउने कानुन बनाई देशको विकास गर्ने योजना बनाउनु आजको आवश्यकता हो । गाउँ छाडे कडा कारबाहीको व्यवस्था हुनुपर्छ । अनि देशको विकास सम्भव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *