भर्खरै :

राजनीतिप्रति वितृष्णा हुनुमा ठूला दलहरू नै जिम्मेवार

नेपालको राजनीति बिग्रिनुमा सत्तारुढ दलमात्र होइन ठूला दलका नेताहरू पनि जिम्मेवार छन् । नेपाली जनतामा राजनीतिप्रति वितृष्णा हुनुका अनेक कारणमध्ये नेताहरूमा बोलीको ठेगान नहुनु पनि एक हो । ती नेताहरू एकातिर सिद्धान्त र विचारको राजनीति गर्दैनन् भने अर्काेतिर छिनछिनमा विचार फेर्छन् या अडान राख्दैनन् । यसरी अडान फेर्ने अवसरवादी नेतामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै दलको महाधिवेशनमा एमालेसँगको एकतामा कुनै गल्ती नभएको बताए । प्रश्न उठ्छ, कुनै गल्ती छैन भने नेकपा कसरी फुट्यो र एमाले र माओवादी केन्द्र कसरी बने ? पार्टी फुट्नुभन्दा अघि या फुट्ने क्रममा र पार्टी फुटिसकेपछि एमालेको अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले एकले अर्काेलाई के के आरोप लगाए, के के लान्छना लगाए ? दुवै नेताले दिमागलाई ठण्डा पारेर सोचे थाहा हुन्छ पार्टी फुट्नुको कारण । एमाले र माओवादी केन्द्रका नेताहरूले एकले अर्काेलाई लगाएको आरोप सुन्दा दुवै पार्टी कम्युनिस्ट होइनन्, दुवै पार्टी कम्युनिस्टविरोधी र कम्युनिस्ट भँडुवा पार्टी हुन् । एकले अर्काेलाई लगाएको आरोप सुन्दा ती दुई पार्टीबीच कहिल्यै एकता हुनेछैन । अहिले आएर एमालेका महासचिव शङ्कर पोखरेलले पार्टी एकता जोगाउन नसकेकोमा प्रायश्चित गरे । त्यही सभामा माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि पार्टी एकता भङ्ग भएकोमा प्रायश्चित गरे । कहिले पार्टी एकता ठीक त कहिले पार्टी फुट ठीक कसरी हुन्छ ? पार्टी फुट ठीक हो भने अनि किन प्रायश्चित ! पार्टी एकता भएको वर्ष दिन नहुँदै टुक्रियो । अहिले पार्टी टुक्रिएको तीन चार महिना नबित्दै पार्टी भङ्ग भएकोमा एमाले माओवादीका नेताहरूले टाउको दुखाउन थाले, पार्टी भङ्ग हुनुको कारण औँल्याई समीक्षा गर्नुपर्ने बताउन थाले । एमाले र माओवादी केन्द्र सिद्धान्त र विचार मिलेर एक भएकै होइन । एमालेको छुट्टै धार थियो भने माओवादी केन्द्रको अर्कै धार थियो । पार्टी एकताको मूल आधार जसरी भए पनि दल ठूलो बनाउने र सरकारको नेतृत्व गर्नु थियो । दल एक भएर ठूलो दल पनि बन्यो, त्यो दलले सरकारको नेतृत्व पनि ग¥यो । नेकपा सरकारमा त पुग्यो तर सत्ता या कुर्सीका कारण दल विभाजन भयो । एमाले र माओवादी केन्द्रको एकता सिद्धान्त र विचारको आधारमा भएको भए यति चाँडै पार्टी फुट्ने थिएन, पार्टी फुटेको चार महिना नपुग्दै यति छिट्टै प्रायश्चित गर्ने थिएन । सिद्धान्त र विचारभन्दा पद र पैसाको निम्ति राजनीति गर्ने दलका नेताहरूले, त्यस्तो दलको सरकारले देश र जनताप्रति समर्पित भएर काम गर्नेछैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *