भर्खरै :

पुँजीवादी व्यवस्थाका सञ्चालकहरू को को हुन् ?

  • पुष १४, २०७८
  • बसन्ती तामाङ
  • विचार

पुँजीवादी व्यवस्थाका सञ्चालकहरूले आवश्यक परेमा राष्ट्रपति, प्रधानमन्त्री वा नेताहरूलाई भङ्गेरा सरह सिध्याउने गर्छन् । तिनीहरूले अमेरिकी राष्ट्रपतिहरूको हत्या गराए, पदच्यूत गराए । तिनीहरूले नै गान्धि, मार्टिन लुथर किङ्गजस्ता नेताहरूको हत्या गराए । पेट्रिस लुमुम्बाको हत्या भयो, एनक्रुमालाई सजिलै सत्ताच्यूत गरियो, नेल्सन मन्डेलापछिका सम्भावित नेता क्रिस हानी उनकै आँगनमा मारिए । सन् १९१७ को अक्टोबर क्रान्तिपछि लेनिनमाथि गोली प्रहार गरी मार्ने प्रयास असफल भए पनि स्तालिनको हत्याभन्दा पहिले सम्भावित उत्तराधिकारी किरोभको हत्या गरियो । अन्ततः क्राइश्चेली कथाका जुदास र रामायणका विभिषण र जुलियस सिजरका हत्यारा ब्रुटसहरूको कमी कहाँ छ र !
बेलायती क्रान्तिमा क्रामवेलपछि राजतन्त्रको पुनःस्थापना भयो र त्यस प्रतिक्रान्तिलाई ‘गौरवमय क्रान्ति’ भनियो भने फ्रान्सेली क्रान्तिका ज्याकोविन्सहरूलाई आपसमा काटमार गर्न लगाई नेपोलियनलाई राजा बनाइयो । त्यस्तै, ख्रुश्चेभदेखि गोर्भाचोभसम्म आइपुग्दा सोभियत सङ्घ, सोभियत कम्युनिस्ट पार्टी र समाजवाद समेत विघटन गराइयो । सबैले थाहा पाइसकेकै विषय हो – गोर्भाचोभ पार्टीभित्र घुसेका शत्रु थिए र उनी अमेरिकी केन्द्रीय गुप्तचर विभाग सीआईएका ‘एजेन्ट’ थिए । उनले कबुल गरे– “मेरो जीवनको उद्देश्य समाजवाद र सोभियत सङ्घलाई ध्वस्त गर्नु हो ।”
अहिले पनि सोभियत सङ्घमा ३ लाख विदेशी गैरसरकारी संस्थाहरू (आईएनजीओ) कार्यरत छन् । रूस नेपालभन्दा ठूलो देश हो । तर, नेपालको आकार र जनसङ्ख्याअनुसार विदेशी गैरसरकारी संस्थाहरू कम होइन । भारत पनि यस समस्याबाट अछुत छैन ।
आश्यर्च मान्नु नपर्ने विषय के हो भने, संरा अमेरिकाजस्तो जातिवादी र हत्याको अत्यधिक घटना हुने तथा कुक्लक्सक्लान जस्ता दक्षिणपन्थी संस्था सक्रिय भएको एवम् मार्टिन लुथर किङजस्ता अहिंसावादी र लोकप्रिय नेताको हत्या हुने देशमा कसरी बाराक ओबामा राष्ट्रपति भए ? उनी आफै राष्ट्रपति भएका थिएनन् बरु पुँजीवादी व्यवस्थाका सञ्चालकहरूले उनलाई राष्ट्रपतिमा ल्याए भन्नु उचित हुन्छ । अमेरिकामा अश्वेतहरूको विरोध बढ्दै थियो, मध्यपूर्वमा मुसलमान धर्म अर्थात् अरबी देशहरूमा अमेरिका बदनाम हुँदै थियो तथा दक्षिण अमेरिकी, मेक्सिकाली, हिस्पानियाली, अमेरिकी आदिवासी ताम्रवर्णका जनता, एसिया र अफ्रिकी (अश्वेत जनता) को विरोधलाई मत्थर पार्न बाराक ओबामालाई सत्तामा ल्याइयो । पाकिस्तानमा अलकाइदाका नेता ओसामा बिन लादेनको हत्या गर्दा अमेरिकी राष्ट्रपतिलाई पनि साक्षीको रूपमा देखाइँदै थियो । बाराक ओबामालाई अघि सारेर मध्यपूर्वमा अमेरिकाविरोधी आक्रोश मत्थर पार्न पुँजीवादी व्यवस्थाका सञ्चालकहरू सफल देखिए ।
इराकका राष्ट्रपति सद्दाम हुसेन र लिबियाका लोकप्रिय नेता कर्णेल गद्दाफीको पनि अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) बाटै हत्या गरिएको समाचारमै खुलासा भयो । पुँजीवादी व्यवस्थाका सञ्चालक भनेका के सीआईए वा अमेरिकी सेना, प्रशासन वा अमेरिकी अर्थतन्त्रको केन्द्र वालस्ट्रिट हो ? यी सबैको संयुक्त दृष्टिकोण नै पुँजीवादी व्यवस्थाका सञ्चालक समितिको हो ।
पुँजीवादी व्यवस्था व्यक्ति होइन संस्था हो, त्यसका निर्णयहरूबाटै विश्वमा ‘प्रजातन्त्र’ चलिरहेको छ । नेपालमा नेताहरू झगडा गर्छन् र रिसाउँछन्, पानी बाराबार गर्छन्, तर भोलिपल्ट तिनीहरूका घाँटी जोडिन्छन्, किन ? किनभने, ती नेताहरू अस्तिदेखि नै तिनै ‘सरस्वती’ र ‘लक्ष्मी’ बाट सञ्चालित हुन् ।
एमसीसीबारे नेताहरूले प्रस्ट मुख खोल्न नसक्नुको कारण पनि यस्तै जटिलताले गर्दा हो ।–

Leave a Reply

Your email address will not be published. Required fields are marked *