भर्खरै :

मिनिस्कर्ट लगाएकी साउदी केटी पक्राउ

साउदी अरबमा एउटा अनलाइन भिडियोले निकै चर्को बहस निम्त्याएको छ । बहसमात्र होइन, त्यो संक्षिप्त भिडियोले साउदीमा आक्रोश समेत फैलिएको छ । खुल्लुद नामको एक जना मोडलले छोटो मिनिस्कर्ट लगाएर साउदी अरबको नज्द मुरुभूमिमा अवस्थित उसाकिर गाउँमा रहेको एक ऐतिहासिक किल्लामा घुमिरहेको भिडियो आफैले अनलाइनमा पोस्ट गरे पछि साउदीमा नयाँ बहस सृजना भएको छ ।
उनको सो भिडियो ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक मिडियामार्फत विश्वभर व्यापक प्रचार भयो । भिडियो हरेपछि केही कमेन्टेटरहरुले खुल्लुदले साउदीको पहिरन सम्बन्धि नियम तोडेका हुनाले गिरफ्तार गर्नुपर्ने कमेन्ट लेखेका थिए ।
साउदी अरब महिलासम्बन्धि प्रतिबन्धात्मक कानुनमा संसारमै सबभन्दा संकीर्ण मानिन्छ । त्यहाँ महिलाहरुले पूरा शरीर ढाक्ने खुकुलो अबायास नामको पहिरन मात्र लगाउन पाउँछन् । सार्वजनिक स्थलमा महिलाहरुले पूरै टाउको छोप्नु पर्ने त्यहाँको नियम छ ।
साउदीको सरकारी टेलिभिजनले जनाएअनुसार यसरी मिनी स्कर्ट लगाएर सार्वजनिक स्थलमा हिंडेकी महिलालाई गिरफ्तार गरिएको छ ।
ट्वीटरमा एक जना प्रयोगकर्ताले ट्वीट गरेका छन्,‘अधिराज्यको नियम नमान्ने कोही पनि मानिसलाई बाँच्ने अधिकार पनि छैन ।’ अर्को एक जनाले भने,‘उनले जे गरिन्, त्यो उनको व्यक्तिगत स्वतन्त्रताको मात्र विषय होइन । प्रष्टतः उनी मानिसहरुलाई उत्तेजित गर्न खोज्दै छिन् र देशका सामाजिक नियम र मान्यता विपरीत जान खोजिरहेकी छिन् । उनलाई सजाय दिइनुपर्दछ ।’
तर खुल्लुदको समर्थन गर्नेहरुको पनि कमी छैन । फतिमा अल–इस्सा नामकी एक जना ट्वीटर प्रयोगकर्ताले ट्वीटरमा खुल्लुदको विरोधमा उठेका आक्रोशका स्वर पाखण्डी भएको बताइन् । उनले भनिन्,‘यदि उनी कोही विदेशी भएकी भए सबै जना उनको कम्मरको सौन्दर्य र आँखाको चमकको प्रशंसा गर्नेथिए ।… उनी साउदी महिला भएकैले उनलाई गिरफ्तार गर्नुपर्ने माग भइरहेको छ ।’
ेलेखक तथा दार्शनिक वाएल अल–गास्सिमले बीबीसीलाई यो विषयमा आक्रोशपूर्ण र त्रासद ट्वीटर देखेर आश्चर्यमा परेको भन्दै भने,‘मैले त ती महिलाले बमबारी गरेको वा कसैको हत्या गरेको हुनुपर्छ भन्ठानेको थिएँ । तर कुरा त उनले लगाएको एउटा मिनिस्कर्टको पो रहेछ जसलाई उनीहरु मन पराउँदैनन् ।’
राजनीतिक रुपमा संरा अमेरिकासँग नजिक मानिने साउदीमा यस्तो संकीर्णतालाई अमेरिकाको प्रजातन्त्रप्रतिको व्यङ्ग्य मान्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *