‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
नेपाल विश्वमा सांस्कृतिक सम्पदाले चिनिएको देश हो । हाम्रा पुर्खाहरूले बनाएका सांस्कृतिक सम्पदा, कला र सीपले गर्दा आज संसारमा हाम्रो देश कला र संस्कृतिले भरिएको देश भनेर सुपरिचित छ । यी सांस्कृतिक धरोहरकै कारण नेपालका विभिन्न ठाउँ विश्वको सांस्कृतिक, वैज्ञानिक र प्राकृतिक अमूल्य सम्पदाको संरक्षण र विकास गर्ने संस्था युनेस्कोको सूचीमा सूचिकृत छ । त्यसैले विश्वका विभिन्न मुलुकका नागरिकहरू नेपालको भ्रमण गर्छन् । यसको श्रेय कला र सीपका धनी, हाम्रो देश निर्माणमा रगत र पसिना बगाएका हाम्रा देशभक्त पुर्खाहरूलाई जान्छ । यो हामी सबैको लागि गौरवको कुरा हो ।
तर, देशका शासक दलका नेताहरूले देशको विकास गर्न भनी मगन्ते भएर विदेशीसँग सहयोगको लागि हात थापिरहेका छन् । उनीहरूले हाम्रो देशको विकास र उन्नतिको अगुवा हामी नै हौँ, स्रोत पनि हामीसँग नै छन् भन्ने कुरा बिर्सिरहेका छन् । किनकि, उनीहरूको बुद्धि र विवेक विदेशीको बुद्धि र विवेकको प्रभाव र दबाबमा छ । त्यसैले, उनीहरू स्वाधीन छैनन् । सानोतिनो विकास निर्माणको लागि पनि उनीहरू विदेशीको मुख ताक्छन् । विदेशीले हाम्रंो देश बनाउँदैन । हाम्रो सम्पदा, संस्कृति निर्माणमा सहयोग दिने र बनाइदिने नाममा ध्वस्त बनाउँछन् भन्ने कुरा उनीहरूलाई थाहा छैन या उनीहरूले त्यसलाई बुझ पचाएर देशमाथि ठूलो घात गरिरहेका छन् । विदेशी आएर देश बनाएको इतिहास संसारमा छैन । बरु ध्वस्त बनाएको इतिहास संसारमा थुपै्र पाइन्छन् ।
सिक्किममा भारतले प्रजातन्त्र त ल्यायो तर सन् १९७५ मा सिक्किमलाई भारतले खायो । विदेशीले केही सम्पदा त बनाउँला तर यहाँ उनीहरूको देशको झन्डासहितको साइनबोर्ड झुन्डयाइने कुरा उठाइन्छ । विदेशीहरूले सहयोग दिने र बनाइदिने नाममा स्वतन्त्र, गरिब र अशिक्षित देश र जनताको स्वाधीनता र सार्वभौमिकता लुटिएको विश्वमा थुपै्र उदाहरणहरू छन् । उनीहरूले तेस्रो विश्वका देश र जनताको स्वाधीनतालाई बलपूर्वक कुल्चेर त्यहाँको प्राकृतिक स्रोत र साधनहरू लुटिरहेका छन् । उनीहरूले सहयोगको नाममा उपनिवेश बनाइरहेका छन् । उनीहरूले ती देशका जनतालाई जाति, धर्म, भाषा, क्षेत्र, रङ्ग आदिका नाममा एक आपसमा भिडाउने, जुटाउने काम गरिरहेका छन् । नेपाल मजदुर किसान पार्टी विदेशीहरूको देशघाती चालप्रति सचेत छ । २०७२ सालको विनाशकारी भूकम्पबाट ध्वस्त भएका भक्तपुरका केही सांस्कृतिक सम्पदाहरू बनाइदिन आएका विदेशीहरूले हाम्रो देशको सार्वभौमिकता र स्वाधीनता अनि स्वाभीमान गुम्ने खालका सर्तहरू तेस्र्याएपछि भनपाले ठाडै अस्वीकार गरेको थियो । भक्तपुरका जनताले हाम्रो सम्पदा हामी आफै बनाउँछाँै भनेर फर्काएका थिए । कम समयमा कम लागतमा सम्पदाहरू बनाउने काम भइरह्यो ।
त्यस्तै भक्तपुरका एक राम्रो शैक्षिक संस्थालाई विदेशीहरूले ‘तपाईँहरूको संस्था राम्रो छ, विद्यार्र्थीहरू धेरै छन्, हामी (विदेशी) हरू तपाईँहरूको हाम्रो शैक्षिक संस्थालाई सहयोग गर्न आएका छौँ भने । त्यस संस्थामा कार्यरत अग्रज शिक्षकहरूले हाम्रो शैक्षिक संस्थालाई संस्थाको विकासको लागि सहयोग गर्न आउनु राम्रो छ, स्वागत छ भने । तर, सहयोगको नाममा उनीहरूको देशको झन्डा माथि छानामा फहराउनुपर्ने, उनीहरूको एउटा अफिस सधैँ त्यहाँ रहनुपर्ने, उनीहरूको नीतिअनुसार शैक्षिक संस्था चलाउनुपर्ने सर्त राखेपछि त्यस सहयोगलाई विद्यालयले अस्वीकार ग¥यो । हामी गरिबी सहन्छौँ, अभाव भोग्छौँ तर स्वाभिमानलाई बन्धकी राख्न सक्दैन, तपाईँहरूको सहयोग लिन्दैनौँ भनेर अग्रज शिक्षकहरूले मुखमा बुझो लगाएर पठाएका थिए । आज त्यस शैक्षिक संस्थालाई सबै परिवार मिलेर विस्तार र गुणस्तरीय बनाइरहेको छ ।
देश बनाउँछु भनी वाचा गरिरहेका शासक दलहरूले व्यवहारले काम गर्न र बनाउन सकिरहेका छैनन् । उनीहरूको बीचमा देशमा कलेज, विश्वविद्यालय खोल्न प्रतिस्पर्धा भइरहेको छैन । उनीहरूका बीचमा अस्पतालहरू खोल्न प्रतिस्पर्धा भइरहेको छैन । उनीहरूको बीचमा सिँचाइ र कृषि उत्पादन बढाउने प्रतिस्पर्धा भइरहेको छैन । उनीहरूको बीचमा उद्योग र कारखाना खोल्ने प्रतिस्पर्धा भइरहेको छैन । उनीहरूको बीचमा रोजगारी सिर्जना गर्ने काममा प्रतिस्पर्धा भइरहेको छैन । बरु उनीहरूबीच जसरी पनि बढीभन्दा बढी पद भाग पाउन प्रतिस्पर्धा भइरहेका छन् । अनि, उनीहरूबीच विदेशीसँग हात थाप्ने र हाम्रा नेपाली युवाहरूलाई रोजगारीको नाममा घरबारी बेच्न बाध्य पार्ने, विदेशमा दास बन्न जान बाध्य पार्ने प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले, नेपाली जनताले उनीहरूलाई देशघाती भनिरहेका छन् ।
विदेशी सहयोगले देश बन्ने भए आजसम्ममा हाम्रो देश बनिसक्नुपर्ने थियो तर बनेन । हाम्रो देश बनाउने नाममा पचासौँ खर्ब विदेशी सहयोग आइसके तर पनि देश बनेन । बरु त्यसबाट शासक दलका नेताहरू धनी बने । देशघातीहरू बने । उनीहरूले देशलाई घात गरेर काठमाडौँमा बङ्गला बनाए, तिनीहरूले विदेशी बैङ्कमा पैसा लुकाए । कति विदेशीहरू देश बनाउन होइन बिगार्न सहयोग गर्छन् । देशको भाग्य निर्माण गर्ने थलो सङ्घीय संसद्मा छलफलमा भाग लिनुपर्ने सांसदहरू, सरकारलाई खबरदारी गर्नुपर्ने सांसदहरू संसद् छोडेर एनजीओ, आइएनजीओले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । उनीहरूले महिला राज्यको माग गरेका थिए । उनीहरूले जातीय राज्यको माग गरेका थिए । यसरी विदेशी सहयोगले देश बन्दैन । देश हामीले नै बनाउने हो ।
नेपाल मजदुर किसान पार्टीले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराअनुसार देश र जनताको हितमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो विचार र अडान राख्दै आएको जनताले अनुभव गरिरहेका छन् । देशघातीहरूले त्यसलाई छोप्ने दुष्प्रयास गरिरहेका छन् । देश र जनताका लागि राम्रो काम गर्ने मानिस, नेता या दललाई जसरी पनि पछार्नको निम्ति, फुटाउनको निम्ति अर्काको बुद्धिले खनेको खाल्डोमा आफै खसेको जनताले हेरिरहेका छन् । सिद्धान्त, विचार र आचरणले पार्टी कार्यकर्ता नबनाइकन अरू दलका सांसद, कार्यकर्ताहरू चोरेर, फुटाएर दल ठूलो बनाउँदा, कम्युनिस्ट सिद्धान्त, विचार, आचरण, व्यवहारलाई त्याग्दा, विदेशीले भनेजस्तो गर्दा देशले दुर्गति भोगिरहेको हो ।
साम्राज्यवादी र पुँजीवादी देशहरूले दुई तीन सय वर्षमा गर्न नसकेको विकास रुस र चीनजस्ता समाजवादी देशहरूले तीस चालीस वर्षमै विकास गरेर देखाएका थिए । नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूले थोरै समयमा शिक्षा, स्वास्थ्य, कला संस्कृति, सरसफाइ आदि क्षेत्रमा विकास गरेर देखाइदिएको घामजस्तै छर्लङ्ग छ । देश र जनताको हितमा जनताको साथ र सहयोगमा भक्तपुर नगरपालिका अगाडि बढिरहेको जनताले अनुभव गरिरहेका छन् । अपार जनताको साथ र सहयोगमा भनपाले विश्व प्रसिद्ध पाँचतले मन्दिर दुई पटक पुनःनिर्माण गरिसकेको छ भने पचपन्न झ्याले दरबार, भैरवनाथ मन्दिरलगायत थुपै्र पाटी पौवा, मन्दिर, ढुङ्गेधारा भक्तपुरकै स्रोत साधन, सीप, कला प्रयोग गरेर निर्माण र पुनःनिर्माण गरिसकेको छ । त्यस्तै भक्तपुर दरबार क्षेत्रस्थित प्रस्तरकलाले भरिपूर्ण शिखरशैलीको नित्य वत्सला मन्दिरको उद्घाटन नेमकिपाका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) बाट भयो । भक्तपुर नगरपालिकाले जनताको सेवामा एक कदम अगाडि बढेर शिक्षा र स्वास्थ्यको माध्यमबाट सेवा गरिरहेको नेपाली जनताले हेरिरहेका छन् । यसले ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेजलगायतका शैक्षिक संस्थाहरूले देशका ७७ जिल्लामध्ये मनाङबाहेक ७६ जिल्लाका विद्यार्थीहरूलाई कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन् । त्यसैको परिणाम आज भक्तपुर नगरपालिकाको प्रत्येक घरमा स्नातक, प्रत्येक चोकचोकमा ४÷५ जना इन्जिनियरहरू भइसकेका छन् । उनीहरूले देशका विभिन्न क्षेत्रमा इमानदारीपूर्वक सेवा गरिरहेका छन् । यदि सरकारले समयमै भक्तपुर नगरपालिकाको मागबमोजिम ख्वप विश्वविद्यालयको स्वीकृति दिएको भए त्यस्तै अनुपातमा १०÷१५ लाखमा एमबीबीएस अध्ययन गर्ने अवसर पाइसके होलान् । ख्वप इन्जिनियरिङ कलेजबाट उत्पादित इन्जिनियरहरूले इमानदारीपूर्वक सेवा गरेजस्तै ख्वप विश्वविद्यालयबाट उत्पादित डाक्टरहरूले पनि इमानदारीपूर्वक नेपाली जनताको सेवा गरिरहेका होलान् । तर, आजसम्मका सरकारहरूले ख्वप विश्वविद्यालयको स्वीकृति दिन खुट्टा कमाइरहेका छन् । यो देशको लागि दुर्भाग्य हो । नेपाली जनतालाई थाहा छ, भक्तपुर नगरपालिकाले कसैलाई घुस दिँदैन बरु त्यसको विरुद्धमा लड्छ र लड्दै आएको छ । यसरी नै ख्वप अस्पतालको भवनको तयारी अन्तिम चरणमा पुगेको छ । गत पुसको १ गतेदेखि हरेक शनिबारका दिन बहिरङ्ग विभाग (ओपीडी) सेवा सुरु भइसकेको छ । यसले जनताको उपचारमा ठूलो सेवा पुगेको छ । गत वर्ष ०७७÷०७८ मा कोभिडको महामारीमा अक्सिजन नपाएर थुपै्र जनताको अकालमा मृत्युवरण गर्न बाध्य भएपछि भक्तपुर नगरपालिकाले जनताको करोडौँ रकमको सहयोगले अक्सिजन प्लान्ट स्थापना गरेर निःशुल्क सेवा दिइरहेको छ । भक्तपुर नगरपालिकाले यसरी सम्पदा निर्माण र पुनःनिर्माण गर्नुको साथै जनताको सेवा गरिरहेको छ ।
भक्तपुर नगरपालिकाले देश र जनताको इमानदारीपूर्वक निःस्वार्थ सेवा र मेहनत गरेको परिणामस्वरूप जनताको अपार साथ र सहयोग पायो । यो नै विश्वासको प्रमाण हो । त्यसैले देश अरू (विदेशी) ले होइन, हामीले नै इमानदारीका साथ मेहनत गरी बनाउने हो ।
Leave a Reply