भर्खरै :

खराब बोसो मीठो मानेपछि !

केही अघि मुटुरोग विज्ञ प्रेमराज वैद्यले खराब बोसो सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले त्यति बेला भनेका थिए, “खराब बोसो भएका खानेकुराहरूले मुटुको धमनी अस्वस्थ बनाउँछन्, मासंपेशी कमजोर पार्छन्, ४० वर्ष नपुग्दै मधुमेह र मुटुको रोग दिन्छन् । खराब बोसो स्वास्थ्यका लागि अति नै हानिकारक पदार्थ हो । खानेकुरालाई लामो समय सुरक्षित राख्न, स्वाद बढाउन यसको प्रयोग गरिन्छ ।”
केही महिनाअघि म स्वास्थ्य मन्त्रालय पुग्दा, त्यहाँका उच्च पदाधिकारीहरू कोठामा बसेर चाउचाउको सुप सुरुपसुरुप तानिरहेका थिए । मलाई देखेर कसैले कचौरा लुकाउन खोजे, कोही ‘हत्तेरिका, कस्तो बेला तपाईँ आइपुग्नुभयो, यसबारे नलेखिदिनुस् है’ भन्न थाले । मैले भनेँ, “नाम त खुलाउँदिनँ तर तपाईँहरूले चाउचाउ खाएको भने लेख्नैपर्छ । पत्रु खानाविरुद्ध लेख्ने र बोल्नेहरूले नै यसो गरेपछि, अरूले के सिक्छन् ? स्वस्थ्य मन्त्रालयको क्यान्टिनमा स्वास्थ्यकर खाना छैन् र ?” मेरो प्रश्नमा उत्तर आयो, ‘छन त छ नि ’ क्यान्टिनमा रोटी, चिउरा, अण्डा, चना, तरकारी पाइन्छ तर त्यो खाँदाखाँदा वाक्क भइयो अनि यसो स्वादिलो खाउँ भनेर चाउचाउ खाएको । अबदेखि खान्न ।” अर्थात्, स्वास्थ्य मन्त्रालयका विज्ञहरूलाई ‘खराब बोसो’ खाने लत रहेछ । ‘ठूलाबडा कर्मचारी’ ले नै यस्तो गरेपछि, उनीहरूको परिवारका बालबालिकाले देखासिकी गर्छन् नै । यस्तो भएपछि, खराब बोसो भएको खाना नखाऔँ भनेर जनस्वास्थ्यकर्मीहरूले बोले न कर्मचारीले वास्ता गर्छन्, न त तिनका परिवारले नै । अगुवाले नै बाटो बिराएपछि कसको के नै लाग्छ र ?
पछिल्ला दस वर्षमा नेपालमा १ खर्ब २९ अर्ब रुपैयाँको ठोस पत्रु खाना आयात भएको सरकारी तथ्याङ्क छ । ती सबै खाद्य पदार्थ खराब बोसोमै बनाइन्छन् । यसरी लगभग १ खर्ब रुपैयाँको कवाडी खानाले भविष्यमा सयौँ खर्बको नोक्सानी पु¥याउँछ भन्नेतर्फ सरकारले विचार गर्दैन किनभने सरकारी मान्छे पनि पत्रु खाना नै खान्छन्, स्वाद लिईलिई ।
वरिष्ठ चिकित्सक प्रकाशराज रेग्मी भन्छन्, “बालबालिकालाई मुटुरोग सानै उमेरमा लाग्नुको मुख्य कारण खराब बोसो हो, जुन बिस्कुट, चाउचाउ, दालमोठ, चिजबल्स, आलु चिप्स आदिमा पाइन्छ ।”
खराब बोसो अर्थात् ‘ट्रान्स फ्याट’, बाहिरबाट हेर्दा कालो, फोहोर देखिने वस्तु होइन । खराब बोसो भएको खानेकुराले शरीरलाई बिस्तारै खोक्रो पार्दै लान्छ । आजको भोलि नै यसको असर देखिँदैन, धमिराले खाएझैँ बिस्तारै देखिन्छ । जनस्वास्थ्यकर्मीहरूलाई सबभन्दा दुःख त तब हुन्छ जब आमा–बाले नै माया गरेर खराब बोसो भएको खानेकुरा छोराछोरीलाई कोच्याउँछन् । पत्रु खानामा धेरै नुन, चिनी, बोसो र रसायनहरू हुने भएकाले स्वास्थ्यलाई हानि गर्छ भन्ने बुझे पनि, रक्सीको कुलतझैँ यसको कुलत हत्तपत्त छाड्न सकिन्न ।
नियम नै पालना गर्ने हो भने त स्वास्थ्य मन्त्रालयको क्यान्टिनमा चाउचाउ राख्नै नदिनुपर्ने हो । केही महिनाअघि शिक्षा र स्वास्थ्य मन्त्रालय मिलेर ५ कक्षासम्मका बालबालिकालाई दिवा खाजा दिँदा, खराब बोसो भएको खाना नदिने नीति बनाएका थिए । यस्तो नीति बनाउने पदाधिकारीहरू आफैं भने खराब बोसोयुक्त खाना कार्यालयमै मज्जासँग खान्छन् । उनीहरूले अब बालबालिकालाई ‘लौ, तिमीहरूचााहिँ कवाडी खाना नखानू है’ भनेर कसरी भन्ने ?
लेखकको फेसबुक पेजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *