भर्खरै :

‘स्तालिनसँग’ पुस्तकबारे अन्तरक्रिया

भक्तपुर, १४ पुस । नेपाल प्राध्यापक समाज र नेपाल क्रान्तिकारी शिक्षक सङ्घ वागीश्वरी कलेज र वागीश्वरी मावि एकाइ समितिको संयुक्त आयोजनामा पुस १४ गते ए.टी. रेविनद्वारा लिखित ‘स्तालिनसँग’ भन्ने संस्मरणात्मक पुस्तकको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष सरोजराज गासाईले स्तालिनको बारेमा विरोधीहरूले फैलाएका गलत एवम् भ्रामक प्रचारको खण्डन स्तालिनकै पच्चीस वर्ष अङ्गरक्षक भएका रेविनले आफूले देखेका, चिनेका, भोगेका स्तालिनलाई सग्लो रूपमा प्रस्तुत गरेका छन् भन्दै स्तालिनकै सबल नेतृत्वमा पुँजीवादले ३–४ सय वर्षमा गरेको प्रगति समाजवादी रुसले ३०–४० वर्षमा गरेर देखाएको प्रस्ट पार्नुभयो ।
कुनै पनि देश वा पार्टीको लागि नेतृत्व सबभन्दा महत्वपूर्ण हुन्छ भन्दै उहाँले पुँजीवादमा एक प्रतिशत पुँजीपतिले उनान्सय प्रतिशत श्रमिक वर्गमाथि निरङ्कुश शासन गर्छ भने समाजवादमा बहुमत श्रमिक वर्गले अल्पसङ्ख्यक शोषक वर्गमाथि शासन गर्छ, राज्य सधैँ निरङ्कुश हुन्छ भन्नुभयो ।
उहाँले पुस १६ गते नेपाल मजदुर किसान पार्टीको आह्वानमा एमसीसीको विरुद्ध काठमाडौँमा हुने कार्यक्रममा सहभागिताको लागि अनुरोध गर्दै देशको सार्वभौमिकता कुनै पनि रकम र विकासको नाममा बन्धक राख्न नसकिनेमा जोड दिनुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले ‘स्तालिनसँग’ पुस्तक ‘गुप्त दस्तावेज’ को पूरक प्रकाशन जस्तो रहेको हुँदा ‘स्तालिनसँग’ पढेका पाठकहरूले ‘गुप्त दस्तावेज’ पनि पढ्न सुझाव दिनुभयो । राजनीतिमा सही नेतृत्वविरुद्ध विरोधीहरूले कुन हदसम्मका कुप्रचार गर्दा रहेछन् र कस्ता कस्ता षड्यन्त्रहरू रच्दा रहेछन् भन्ने कुरा यो पुस्तकबाट थाहा पाउन सकिन्छ भन्दै उहाँले नेपालकै सन्दर्भमा पनि नेमकिपा र यसका विरुद्ध भएका कुप्रचार र षड्यन्त्रहरूको उदाहरण दिनुभयो ।
कार्यक्रममा वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले नेमकिपाको नीति र नेतृत्व सही भएको उल्लेख गर्दै नेपालीको लागि स्वाभिमानभन्दा ठूलो अमेरिकी डलर नहुने हुँदा कुनै पनि देशभक्त नेपालीले एमसीसी स्वीकार्न सक्दैन भन्नुभयो ।
आयोजक सङ्घका अध्यक्ष विश्वेश्वर मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा सङ्घ र समाजका प्राध्यापक एवं शिक्षकहरूले पुस्तकबारेमा आ–आफ्नो अध्ययनको बारेमा बोल्नुभएको थियो । अध्ययनको प्रस्तुति दिनेहरूमा आयोजक समाजका अध्यक्ष गेहेन्द्र दाहाल, उकेश सुवाल, निरु ताल्चाभडेल, रामप्रसाद कोजुलगायत सङ्घका पीयूषराज गोसाई, श्रीया पहिजु, रामलक्ष्मी अवाल, अम्बरदलि श्रेष्ठ, विश्वराम प्रजापति, सुवास दिवाकरलगायत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *