भर्खरै :

बुटवल, बारा, चितवनमा एमसीसी सम्झौताविरुद्ध जुलुस तथा सभा

बुटवल, १६ पुस । नेपाल मजदुर किसान पार्टी रूपन्देहीले शुक्रबार लुम्बिनी प्रदेश मुकाम बुटवलमा एमसीसीविरूद्ध विरोधसभा सम्पन्न गर्यो ।
विरोधसभामा नेमकिपा रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले एमसीसीको सर्तले नेपालको सार्वभौमसत्तामाथि आँच पु¥याएको प्रस्ट पार्नुभयो । नेमकिपाले संसदमा उठाएका बुँदाहरूको मात्र जवाफ दिन चुनौती दिँदै अध्यक्ष वासीले आर्थिक दरिद्रताभन्दा मानसिक दरिद्रता देशको लागि खतरा हुन्छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा रूपन्देहीका सचिव जगिलाल थापाले साम्राज्यवादी अमेरिका नेपाली दलाल शासकहरूमार्फत नेपाललाई नयाँ उपनिवेश बनाउन लागेको छ भन्नुभयो । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका कृष्ण पोखरेलले एमसीसी सम्झौता चीनलाई घेर्ने षड्यन्त्र हो भन्नुभयो ।
बारा
नेमकिपा बारा जिल्ला समितिको आयोजनामा शुक्रबार सदरमुकाम कलैया बजारमा एमसीसी सम्झौताविरुद्ध जुलुस तथा सभा भयो ।

सभामा नेमकिपा बारा जिल्ला समितिका अध्यक्ष मुक्ति यादवले नेपाल र संरा अमेरिकाबीच हुने भनिएको एमसीसी सम्झौतामा भारतको संलग्नताले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप भएको बताउनुभयो ।
उहाँले नेपालको जलविद्युत् भारतलाई बेच्ने उद्देश्यले एमसीसी परियोजनाअन्तर्गत भारतको हितमा प्रसारण निर्माण गर्न लागिएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा बारा जिल्ला समितिका सदस्य रेञ्जुदेवी साह, विजय यादव र महमुब आलमले पनि बोल्नुभएको थियो ।
चितवन
नेपाल मजदुर किसान पार्टी जिल्ला समिति चितवनको आयोजनामा देशघाती एमसीसी सम्झौता खारेज गराउन सांसद र सरकारलाई खरबरदारी जुलुस तथा सभा सम्पन्न भएको छ ।
चौबीसकोठिमा भएको विरोध सभामा नेमकिपा चितवनका उपाध्यक्ष राजकुमार श्रेष्ठले सत्ताको मात लागेका कठपुतली सरकार र विदेशी दलाल सांसदहरूलाई देशभक्त जनताको आवाज सुनाउन विरोध जुलुस र सभा गर्नु परेको बताउनुभयो । नेपाली जनताले विरोध गर्दागर्दै देशघाती एमसीसी सम्झौता संसदबाट पास गराउन खोज्नु शासक दलका नेताहरू अमेरिकी दलाल साबित भएको उहाँले प्रस्ट पार्नुभयो ।

नारायणगढ सहिदचोकको विरोधमा नेमकिपा चितवनका सचिव ज्ञानेन्द्र चेपाङले शासक पार्टीहरूले इतिहासदेखि नै सत्तामा पुग्न र कालो धन थुपार्नको लागि जस्तोसुकै देशघाती सन्धि सम्झौताहरूमा हस्ताक्षर गर्दै आएको छ, अमेरिकी साम्राज्यवादको दबाबमा देशघाती एमसीसी सम्झौता संसदबाट पास गराउन सक्ने हुँदा जनताले निरन्तर खबरदारी गर्नु परेको बताउनुभयो ।
नारायणगढ बजारको सहिदचोकबाट सुरु भएको विरोध जुलुस लायन्सचोक, भरतपुर हुँदै चौबिसकोठिसम्म पुगेको थियो । विरोध सभामा पदम मगर, विष्णु शर्मा, मिमबहादुर पाख्रिनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *