भर्खरै :

वर्षाको कारण इँटामा क्षति

भक्तपुर, १६ पुस । गत बुधबार परेको हिउँदे वर्षाको कारण भक्तपुरका इँटा व्यवसायीले करोडौँको क्षति भोग्नु परेको छ । बुधबार दिनभर परेको वर्षाको कारण भक्तपुरका सबै भट्टामा क्षति भएको इँटा व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बाले बताउनुभयो । उहाँले असमयमा परेको वर्षाले प्रत्येक इँटा भट्टामा कम्तीमा दस लाख इँटा बिग्रेको र त्यसबाट हरेक इँटा व्यवसायीले १३ लाखको दरले क्षति व्यहोर्नुपरेको बताउनुभयो ।
“भक्तपुरका सबै इँटा भट्टाबाट कुल ८ करोड बराबरको क्षति भएको हामीले अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो ।
बिग्रेको इँटा मजदुरले ३३ प्रतिशत र इँटा व्यवसायीले ६७ प्रतिशत व्यहोरिने उहाँले बताउनुभयो ।
कोभिड–१९ को कारण अघिल्लो सिजनमा भक्तपुरका इँटा व्यवसायीहरूले इँटा उत्पादन बन्द गरेका थिए । यो वर्ष इँटा उत्पादनको सुरुको चरणमै वर्षाले क्षति भोग्नुपरेको अध्यक्ष ह्योम्बाले बताउनुभयो ।
उहाँले इँटाको बीमा गर्न बीमा कम्पनीहरू नमान्दा व्यवसायीहरूले अझ बढी जोखिम उठाउनुपरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *