भर्खरै :

सोभियत रुस – केही टिपोट र प्रभाव – ४

(तत्कालीन सोभियत रूसको विषयमा भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूले लेख्नुभएका लेखहरूको सङ्कलन ‘सोभियत रसिया, सम रेन्डम स्केच्स एन्ड इम्प्रेसन्स’ को पहिलो अङ्ग्रेजी प्रकाशन सन् १९२९ मा बम्बईको चेतना प्राकाशनले गरेको थियो । त्यसको दोस्रो छपाई सन् १९४९ मा भएको थियो । इन्डियन कल्चर वेभसाइटमा राखिएको सो पुस्तकको ई–प्रतिबाट अनुवाद गरिएको हो । जम्मा १४८ पृष्ठको १६ शीर्षकमा विभाजित यो पुस्तक हरेक शनिबारको ‘मजदुर’ दैनिकमा क्रमशः प्रकाशित गर्दै जानेछौँ । पुस्तकको नेपालीमा अनुवाद सुशिलाले गर्नुभएको हो–सम्पादक)
रुसबारे केही पुस्तक
मस्कोमा वैज्ञानिक र प्राध्यापकहरूले आयोजना गरेको एउटा रात्रिभोज म सम्झन्छु । त्यहाँ धेरै देशका पाहुनाहरू थिए र धेरै भाषामा मन्तव्य दिइएको थियो । दक्षिण अमेरिकी देश उरुग्वेका एक जना युवक विद्यार्थीले दिएको भाषण म विशेष सम्झन्छु । उनी त्यो अनौठो भूमि हेर्न आफ्नो देशका विद्यार्थीहरूको तर्फबाट रुस आएका थिए । अनि रुसको प्रभावले उनको मनमा ठूलो उत्साह भरिएको थियो । उनले स्पेनिस भाषामा सुन्दर र जोशिलो आफ्ना कुरा राखेका थिए । उनले आफ्नो हृदयमा सोभियत रुसको रातो तारा खोपेर टाढाको आफ्नो देश उरुग्वेका युवा कमरेडहरूसम्म सामाजिक स्वतन्त्रताको सन्देश लिएर जाने बताएका थिए । युवा र पवित्र हृदयमा सोभियत रूसको प्रभाव त्यस्तो खालको थियो । तर, अझै रुस भनेको अराजकता र दुःखको देश भनेर हाम्रो कान फुक्ने मानिसको कमी छैन । वोल्शेविकहरू हत्याराहरू हुन् जसले आफूलाई मानव समाजको दुःखबाट अलग ठान्छन् भन्नेहरू पनि नभएका होइनन् ।
को ठीक ? अथवा के यी दुवै कुरा कुनै हदसम्म सही हुन् ? म कुनै लेखाजोखा गर्ने हिम्मत गर्दिनँ । म यस्तै हो भनेर अन्तिम निष्कर्ष दिन चाहन्नँ । म चाँडै प्रभावित भइहाल्ने मान्छे हुँ । त्यसकारण, मस्कोले मलाई पारेको प्रभाव निकै सकारात्मक भएको कुरा भने म स्वीकार्छु । मैले जति पनि सामग्री पढेँ, तिनले पनि मेरो बुझाइलाई नै बल दिएको छ । यद्यपि, मैले नबुझेका कुरा अझै धेरै छन् र मैले प्रशंसा गर्न नचाहेका कुरा पनि धेरै छन् । मैले त्यहाँ जे कुरा देखेँ, त्यही कुरामात्र लेख्दै छु । त्यही कुरा अरूसमक्ष राखेर उनीहरू आफैलाई निष्कर्षमा पुग्न आग्रह गर्छु । मैले जे देखेँ, त्यो खास दृश्यको सानो हिस्सामात्र पनि हुनसक्छ ।
प्राध्यापक के.टी. शाहले आफ्नो रोचक सम्भाषण शृङ्खला ‘द रसियन एक्सपेरिमेन्ट १९१७–१९२७’ मा भनेजस्तै प्रायशः व्यक्तिलाई पारेको प्रभाव निकै भरपर्दो मार्गदर्शक नहुन सक्छ, तथापि त्यसले रित्तो बुझाइमा केही रङ भने अवश्य थपेको हुन्छ । रुचि भएका पाठकले प्रश्नका दुवै पाटा कोट्याइएका यो विषयका पुस्तक खोजेर अध्ययन गर्नुपर्छ । सोभियत सङ्घबारे धेरै पुस्तक र साहित्य प्रकाशित भइसकेका छन् । रुसबारे बुझ्न पुस्तक सिफारिस गर्न मलाई आग्रह गरिन्छ । म आफूले पढेका मध्ये केही पुस्तकको चर्चा गर्न चाहन्छु । बोल्शेविक शासनको आलोचनामा अङ्ग्रेजीमा लेखिएका पुस्तकको सङ्ख्या धेरै छन् । बोल्शेविक पक्षधर साहित्य भने जर्मनी भाषामा जति लेखिएका छन्, त्यत्ति अङ्ग्रेजीमा पाउन मुस्किल छ । तर, हालै केही पुस्तकहरू भने अङ्ग्रेजीमा पनि प्रकाशित छन् । ती पुस्तकमा साम्यवादका धेरै पक्षप्रति आलोचनात्मक मत राखे पनि त्यसका आधारभूत सिद्धान्त र उपलब्धिको चर्चा गरिएको छ ।
बोल्शेविकवादको व्यवस्थित अध्ययन थाल्नुअघि सुरुमा साम्यवादका सिद्धान्त र त्यसको ऐतिहासिक विकासक्रमबारे केही ज्ञान हुन जरुरी छ । ‘अज्ञानता र साम्यवाद कहिल्यै एक ठाउँमा रहन सक्दैनन्’, सन् १८७१ को पेरिस कम्युनका पिता ब्लाँकीले भनेका थिए । आज पनि आफ्ना सिद्धान्तबारे सबैलाई शिक्षित बनाउन कम्युनिस्टहरूको आतुरी विशेष लाग्छ । यदि तपाईंले कम्युनिस्टहरूको प्रतिवाद गर्न खोजे उनीहरूले तपाईंलाई कम्युनिस्टहरूको ‘बाइबल’ माक्र्सको ‘पुँजी’, एङ्गेल्सका लेख–रचना, लेनिन र बुखारिनका किताबहरूबाट धेरै वाक्य र भनाइले जवाफ फर्काउने छन् । तर, यी सबै गहँ्रुगा साहित्य सबै पढिभ्याउन जीवन निकै छोटो छ ।
अक्सफोर्डको बलिओल कलेजका शिक्षक एडी लिन्डसेले लेखेको सानो पुस्तक ‘कार्ल माक्र्सको पुँजी’ (अक्सफोर्ड विश्वविद्यालय प्रेस) माक्र्सका सिद्धान्तबारे मुलभूत कुरा बुझ्न पठनीय छ । त्यो आलोचनात्मक पुस्तक हो । एफआर साल्टरको ‘कार्ल माक्र्स एन्ड मोर्डन सोसिएलिज्म’ (मेकमिलान) पनि त्यस्तै खालको अर्को पुस्तक हो । बुखारिनको ‘हिस्टोरिक मेटरिलिज्म’ (जर्ज एलन एन्ड अनविन) र उनकै ‘इकोनोमि थ्योरी अफ द लेजर क्लास’ (मार्टिन लरेन्स) पुस्तकमा कम्युनिस्ट सिद्धान्तबारे राम्रो व्याख्या गरिएको छ । बोगदोनोफको ‘सर्ट कोर्स अफ इकोनोमिक साइन्स’ (कम्युनिस्ट पार्टी, लन्डन) मेरो विचारमा अझै पनि रुसमा पाठ्यपुस्तकको रूपमा पढाइन्छ । लेनिनका पनि धेरै पुस्तक उपलब्ध छन् । धेरै अङ्ग्रेजीमा पाइन्छ । तर, मैले अहिलेसम्म लेनिनको एउटै पुस्तकमात्र पढेको छु, ‘इम्पेरिलिज्म–द लास्ट स्टेज अफ क्यापिटालिज्म’ (कम्युनिस्ट पार्टी, लन्डन) । बोल्शोविकहरू र जर्मनीका कार्ल काउत्स्कीबीच भएको विवादबारे जान्न चाहनेहरूले काउत्स्कीको ‘द लेबर रिभोल्युसन’ (जर्ज एलेन एन्ड अनविन) पढ्नु ठीक हुनेछ । बोल्शेविकहरूले काउत्स्कीको उछितो काढे पनि उनी माक्र्सका असल शिष्य थिए भनिन्छ । लेनिनले काउत्स्कीको यो पुस्तकको जवाफ लेखेका छन् । त्रोत्स्कीको सैद्धान्तिक पुस्तक ‘इन डिफेन्स अफ टेरोरिज्म’ पनि त्यसैको जवाफ हो ।
प्राध्यापक लास्कीको निकै गम्भीर पुस्तक ‘कम्युनिज्म’ होम युनिभर्सिटी लाइबे्ररीले प्रकाशन गरेको छ । त्यसले सिद्धान्त र व्यवहारको आलोचना गरेको छ । मलाई भनेअनुसार त्यो पुस्तकको बेलायती कम्युनिस्ट पार्टीले निकै खरो जवाफ दिएको छ । तर, मैले त्यो जवाफ भने पढ्न पाएको छैन ।
यी पुस्तकले जिज्ञासुहरूलाई बोल्शेविकहरूको खास विचार र सिद्धान्त के हो भन्ने कुरा बुझ्न सक्ने बनाउनेछ । अर्को दुई वटा विवादास्पद पुस्तकको पनि उल्लेख गर्नु उपयुक्त हुन्छ ः त्रोत्स्कीको ‘ह्वेर इज ब्रिटेन गोइङ ?’ र नोर्मन एन्जेलको ‘मस्ट ब्रिटेन फोलो द मस्को रोड ?’ (निओल डोग्लास) । अर्को पुस्तक आरडब्ल्यु पोस्टगेटको ‘द बोल्शेविक थ्योरी’ मा सोभियत व्यवस्थाको सिद्धान्तबारे प्रस्ट, सुन्दर र कहीं कतै आलोचनात्मक टिप्पणी लेखिएको छ । तर, सन् १९२० मा प्रकाशित भएयता त्यसको नयाँ संस्करण प्रकाशित भएको छैन भने त्यो पुस्तकका कतिपय प्रसङ्ग अप्रसाङ्गिक भइसकेको छ ।
यी त भए सैद्धान्तिक कृतिहरू । तर, रुसी क्रान्तिको महान्् कथा र त्यो क्रान्तिलाई आकार दिन भित्र भूमिका खेल्ने शक्ति र त्यसले ल्याएका परिवर्तनको कुरा थाहा पाउन चिसो सिद्धान्तको कुराले पनि नपुग्ला । विश्व इतिहासमा अक्टोबर क्रान्ति निःसन्देह एउटा महान्् घटना थियो । पहिलो फ्रान्सेली क्रान्तियताको त्यो सबभन्दा महान् घटना थियो । रुसी क्रान्तिको कथा मानवीय र घटनाक्रमको कोणबाट कुनै दन्त्यकथाभन्दा पनि बढी मन तान्ने खालको छ । एक जना अमेरिकी र एक जना बेलायतीले आफूले प्रत्यक्ष देखेको आधारमा रुसी क्रान्तिबारे लेखेका दुई पुस्तक प्रभावशाली खालका छन् । बेलायती एम फिलिप्स प्राइस रुसमा ‘म्यानचेस्टर गार्जियन’ का संवाददाता थिए । उनले लेखेको ‘माइ रिमिनिसेन्सस अफ द रसियन रिभोल्युसन’ (जर्ज एलन एन्ड अनविन) मा उनले अक्टोबर क्रान्तिका हरेक दिनका कुराको आफूले देखे भोगेको आधारमा वर्णन गरेका छन् । मार्चमा भएको क्रान्तिदेखिकै उनले वर्णन गर्न थालेका छन् । मार्चमा करेन्स्की नेतृत्वको सरकार बनेको थियो । कसरी शताब्दियौँ पुरानो जार शासन समाप्त भई मस्कोमा रातो सूर्योदय भएको थियो, कसरी लेनिन आए र कसरी उनले आफूलाई केही महिनापछि त्यो विशाल भूभागको शासक बनाउने सोभियत (संसद्) को खिस्सी उडाएका थिए, कसरी केरेन्स्की दयनीय अवस्थामा खोच्याउँदै निकै कमजोर ढङ्गले प्रतिकार गर्दै थिए, सोभियतहरूको विजयसँगै अन्ततः कसरी बोल्शेविकहरूले सत्ता कब्जा गरेका थिए भन्ने घटनाको उनले वर्णन गरेका छन् । सोभियत सत्ता स्थापनापछि महिनौँसम्म रुसमा भित्री र बाह्य शक्तिबीच भएको सङ्घर्षको कुरा पनि हामीलाई उनले किताबमा बताएका छन् । बोल्शेविकहरूको प्रभाव बलियो भइसकेको थिएन । त्यत्तिबेला सबै आशा गुम्ने अवस्थामा थियो ।
दोस्रो पुस्तक, ‘टेन डेज ड्याट सुक द वल्र्ड’ अमेरिकी पत्रकार जोन रिडले लेखेका थिए । अक्टोबर क्रान्तिका सुरुका दस दिनको विषयमा त्यो पुस्तकमा अझ विस्तृतरूपमा लेखिएको छ । त्यो पुस्तक पढ्दा निकै त्रास र पीडाका साथ पढे पनि संसारमा त्यस्तो चमत्कार पनि सफल हुनसक्ने कुरा अनुभव गराउँछ । त्यसका साथै, त्यो पुस्तकमा एक समूह मानिसको प्रशंसा गरिएको छ जो ठूलठूला जोखिमसामु कति पनि खुट्टा लरखराउँदैनन् । युद्ध र विद्रोहको बीचमा उनीहरूले क्रूर मृत्यु र सङ्कटको लगातार सामना गरिरहे । चारैतिरको अराजकताबीच उनीहरू समाजवादी व्यवस्था विकासको निम्ति लागिपरे । क्रान्तिको चौथो दिन, सडकमा गोली चलिरहेको थियो । उनीहरूले मजदुरलाई दिनको आठ घण्टामात्र काम गर्ने व्यवस्थाको निम्ति लडिरहेका थिए । उनीहरू जनताले पनि पढ्न पाउने व्यवस्थाको निम्ति लडिरहेका थिए । एक साताभित्रै उनीहरूले अल्पसङ्ख्यक जनताका समस्या पनि सम्बोधन गरे । भारतमा जस्तै रुसमा पनि अल्पसङ्ख्यकहरू गरिब थिए । उनीहरूले घोषणा गरेः
क) रुसी जनताबीच समानता र सार्वभौमिकता ।
ख) रुसी जनताको आत्मनिर्भरताको अधिकार । उनीहरू अलग भएर स्वतन्त्र देश पनि बनाउन अधिकारसम्पन्न छन् ।
ग) कुनै पनि र सबै राष्ट्रिय र राष्ट्रिय–धार्मिक सुविधा र असुविधाको उन्मूलन ।
घ) रुसी भूमिमा बसेका सबै राष्ट्रिय अल्पसङ्ख्यक र जातजातिको स्वतन्त्र विकास ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *