भर्खरै :

के विद्यालय पढ्ने विद्यार्थी देशभक्त हुनसक्दैन ?

शुक्रबार काठमाडौँमा एमसीसी सम्झौताविरूद्ध नेपाल मजदुर किसान पार्टीले आयोजना गरेको विरोध सभामा सहभागी विद्यालयमा पढ्ने विद्यार्थीहरूको विषयमा शिलापत्र अनलाइनले लेखेको समाचार कति पनि चित्त बुझेन । त्यसो त नेमकिपाले विगतमा गरेका प्रदर्शनहरूमा पनि यस्तै खालका बद्ख्वाईँ आउने गरेका थिए । नेमकिपाप्रति पूर्वाग्रह राख्ने सञ्चारमाध्यम र पत्रकारहरूलाई कार्यक्रमको मुख्य सन्देशलाई भन्दा सधैँ के खोट छ भनी कोट्याई कोट्याई खोज्ने बानी परेको छ । अनि केही निहुँ पाउँ कनिका बिकाउँ गर्छन् । विषयान्तर गरी मूल विषयलाई ओझेल पार्न खोज्ने त्यस्तो पत्रकारहरूको पत्रकारितालाई के भन्नु र खोइ ¤ त्यस्ता पत्रकारहरूले क्यामराअघि बोल्न अलमलिने मान्छेलाई अन्तर्वार्ता लिएर ‘केही नबुझेका मान्छेलाई जुलुस ल्याए’ भनी समाचार प्रकाशित गर्न खप्पिस हुन्छन् ।
नेपालको सार्वभौमिकता र स्वतन्त्रतामाथि नै हमला हुने एमसीसी सम्झौताको विरोधमा आयोजित कार्यक्रममा सहभागी बन्ने हरेक देशभक्तको अधिकार र कर्तव्यको विषय हो । विद्यालयमा पढ्ने विद्यार्थीहरूले पुस्तक र कक्षाकोठामा देशको इतिहास, भूगोल र देशभक्तिका पाठ पढेका हुन्छन् । उनीहरूले पनि देशको समसामयिक अवस्थाबारे विभिन्न विषयमा पढ्नु र छलफल गर्नु स्वाभाविक हो । हिजोआज सामाजिक सञ्जालमा विद्यार्थीहरूको पहुँचले पनि कम उमेरका विद्यार्थीहरू पनि धेरै विषयका जानकार हुन्छन् । त्यसकारण, आज देशभर चर्चा भएको एमसीसी सम्झौताबारे राजधानीको कुनै विद्यालयमा पढ्ने विद्यार्थीलाई थाहा नहुने कुरै छैन । कुनै विद्यार्थीलाई त्यसबारे थाहा नभए बरू आश्चर्यको विषय हो । त्यस्ता विद्यार्थी पढ्ने विद्यालयका शिक्षकहरूलाई आप्mना शिष्यहरूलाई देशको विषयमा पनि सचेत बनाउन अनुरोध गर्नुपर्छ ।
एमसीसीबारे नेपालका एकसेएक बुद्धिजीवी, नेता र पत्रकारहरू पनि प्रस्ट बोल्न सक्दैनन् भने विद्यालयमा पढ्ने विद्यार्थी त के, शिक्षक र प्रश्न सोध्ने पत्रकारलाई पनि सबै कुरा व्यवस्थित बोल्न नआउला । तर, उत्तर दिने विद्यार्थीहरूले ‘एमसीसीको विरोध गर्न आएको’ सम्म त भन्न सके । उसले के बोल्यो भन्दा पनि उसले देशको लागि एमसीसी सम्झौता हितकारी छैन भनी बुझ्नु भविष्यको लागि देशको लागि काम गर्ने भावनाको जग हो । विद्यार्थी जीवनमा भएका कति घटना मानिसले जीवनभर सम्झन्छन् । उसको जीवनमा त्यसले कहीँ न कहीँ भूमिका खेलिरहेको हुन्छ ।
त्यसकारण सञ्चारमाध्यमको यस्तो पूर्वाग्रही समाचारभित्रको अन्तरनिहीत मनसायलाई बुझ्न जरूरी छ । देश रक्षाको निम्ति के एक जना विद्यालय पढ्ने विद्यार्थीको भूमिका हुन सक्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *