“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
आजबाट नयाँ वर्ष सन् २०२२ सुरु भयो । तर, नयाँ वर्षसँगै संसारमा नयाँ उत्साह भने सम्प्रेषण हुन सकेको छैन । संसारका अधिकांश देशका सरकारले नयाँ वर्ष मनाउने नाममा कोभिड–१९ को महामारी नभुल्न आफ्ना नागरिकलाई सचेत बनाएका छन् । नोभेम्बर महिनाबाट देखिएको ओमिक्रोन भेरियन्ट संसारभर तेज गतिमा फैलिरहेको अवस्थामा सावधान रहन विश्व स्वास्थ्य सङ्गठनले पनि सजग बनाएको छ । यसले अझै पनि संसार तत्काल कोभिड महामारीबाट मुक्त भइनहाल्ने सङ्कट देखाएको छ । वैज्ञानिकहरू तुलनात्मकरूपमा निकै छोटो समयावधिमा कोभिडको खोप आविष्कार गर्न सफल भएकोले महामारीविरुद्ध लडाइँमा मानिसले शक्तिशाली हतियार पाए । तर, मानिस–मानिसबीचको विभेदको खाडलको कारण हतियार भएर पनि मानिसले कोभिड–१९ भाइरसलाई पराजित गर्न सकेको छैन । यसको निम्ति विशेषतः संसारका धनी र पुँजीवादी देशहरू दोषी छन् । यो कुनै गाली वा राजनीतिक आरोपमात्र होइन ।
कोभिडको खोप आविष्कार हुने बित्तिकै ती देशहरूले सिङ्गो मानव जातिको जीवन रक्षा गर्न खोपका समतामूलक वितरणबारे सोचेनन् । उनीहरूले आफूलाई चाहिनेभन्दा धेरै गुणा बढी खोप भण्डारण गर्दा समयमै खोप संसारभर पुग्न पाएन । समयमा खोप लगाउन नपाउँदा संसारका विभिन्न देशमा कोभिड–१९ का नयाँ भेरियन्टहरू देखापरे । डेल्टा भेरियन्टको कारण नेपाल र भारतले गएको वर्ष सन् २०२१ को अप्रिल–मे–जूनमा ठूलो विपत्ति भोग्नुप¥यो । मानिसहरूले समयमा अक्सिजन नपाएर ज्यान गुमाउनुप¥यो । अस्पतालमा शय्या अपुग भएपछि खुला आकाशमुनि विरामीको उपचार गर्न चिकित्सकहरू बाध्य भए । मसानघाटहरू चौबीसै घण्टा उज्यालो देखिए । धनी देशहरूले आफूसँग भएका खोप भण्डारमा नथन्काई वितरण गरेको भए त्यो अवस्था आउने थिएन । विडम्बना ! गरिब र विकासशील देशहरूमा फैलिएको महामारीलाई धनी देशको पर्खालले पनि रोक्न सकेन ।
अझै पनि विकासशील देशहरूमा मनग्य खोपको आपूर्ति हुन सकेको छैन । अफ्रिकाका धेरै देशमा खोप लगाउने मानिसको दर अझै दस प्रतिशत पुग्न सकेको छैन । त्यसकारण ओमिक्रोन भेरियन्ट देखाप¥यो र आज संसार त्यसबाट प्रताडित छ । कोभिड महामारी प्राकृतिक कारणले फैलिएको भए पनि संसारको विभेदपूर्ण व्यवस्थाको कारण भाइरस कृत्रिमरूपमा फैलिरहेको छ । आशा गरौँ, नयाँ वर्ष सन् २०२२ मा संसारभर खोपको व्यापक र समतामूलक वितरण हुनेछ । सबै मानिसले खोप लगाउन पाउनेछन् । संसारमा फेरि पनि महामारीको भय बोकेर हिँड्ने दिनको अन्त्य हुनेछ ।
सन् २०२१ मा संरा अमेरिकी राष्ट्रपति पदमा जो बाइडेनको आरोहणसँगै ट्रम्पको शासन समाप्त भयो । तर, बाइडेनको उदयले संसार अझ ध्रुवीकरणकै दिशामा गएको अनुभव गरियो । ट्रम्पको आक्रामकता र बाइडेनको मिजासिलोपनाबीच परिणाममा धेरै ठूलो अन्तर आउने देखिएन । प्रजातन्त्रको नाममा बाइडेनले संसारलाई ध्रुवीकरण गरी फेरि पनि अर्को शीतयुद्धतिर धकेल्ने सम्भावना बढेको छ ।
सन् २०२१ मा संसारभर देखिएको अस्वाभाविक मौसम र प्राकृतिक विपत्तिले जलवायु सङ्कटको प्रभाव मानिसले प्रत्यक्ष अनुभव गरे । स्कटल्यान्डको ग्लासगोमा सम्पन्न जलवायु सम्मेलनमा मानिसले भोग्नुपरेका जलवायु सङ्कटबारे चिन्ता व्यक्त गरिए पनि संसारका धनी र पुँजीवादी देशहरूले आफ्नो औद्योगिक उत्पादनबाट हुने गरेको कार्बन उत्सर्जनमा कटौती गर्न कुनै अग्रसरता देखाएनन् । तथापि, मानिस आफैले जलवायु सङ्कटको प्रभाव भोग्दै गर्दा यो विकराल विपत्तिबारे जनचासो र चिन्ता भने अवश्य बढेको छ । आगामी वर्षमा जलवायु परिवर्तनको मुद्दालाई अझ गम्भीरतापूर्वक लिएर दीर्घकालीन समाधानको खोजीमा अघि बढ्न जरुरी छ ।
नयाँ वर्ष अझै पनि चुनौतीपूर्ण छ । तर, भविष्य सधैँ आशाको गर्भाधान गरेर आएको हुन्छ । आशा गरौँ, सन् २०२२ संसार अझ सकारात्मक दिशामा अघि बढ्नेछ ।
Leave a Reply