भर्खरै :

सक्वको म राजदास– ११७ / साँखुमा बिजुली उत्पादन गर्ने सपना

सन् १९७० मा म तत्कालीन सोभियत सङ्घको राजधानी मस्कोमा रुसी भाषा अध्ययन गर्दै थिएँ । मैले भालेन्टिनासँग भेटेको केही महिनापछि उनले मलाई मन पराएकी थिइन् । मसँगै मनमनै बिहे गर्ने र नेपाल आउने सोचिसकेकी थिइन् ।
यसअघि भनेजस्तै उनको सबैभन्दा पहिलो इच्छा नेपाल आएपछि साँखु गाउँमा एउटा पुस्तकालय स्थापना गर्ने थियो । पुस्तकालयमा पुस्तक र पत्रिकाबाहेक बालबालिकालाई ज्ञानबद्र्धक बालकथाका फिल्महरू पनि देखाउने उनको रहर थियो । त्यसैले हामी फर्किनु अघि नै उनले धेरै पुस्तकहरू किनेर नेपाल पठाउन सुरु गरिन् । नेपाल फर्किने बेलामा एउटा सानो सिनेमा स्कोप, स्लाइड प्रोजेक्टर र थुप्रै स्लाइडहरू किनेर ल्याइन् सोभियत सङ्घको साहित्यिक, सांस्कृतिक र राजनीतिक घटनाहरूको स्लाइडहरू देखाउन । नभन्दै हामी नेपाल फर्केपछि केही महिना कोठामा टोलका बालबच्चाहरूलाई दिनहुँ बोलाएर साँझतिर सोभियत सङ्घका विभिन्न ठूलठूला सहरहरू मस्को, लेनिनग्राडको सांस्कृतिक, धार्मिक, कला, साहित्य विषय झल्कने थुप्रै स्लाइडहरू उनले देखाइन् ।

बरुत्सवानाका राष्ट्रपति कुवेत मासिरेलाई भालेन्टिना र मैले पकाएका नेपाली/रुसी खाना भोजन गराउँदै आफ्नो कार्यस्थलमा (सन् १९८४)


टोलभरका केटाकेटीहरू कोठाभरि घन्टौँ बसेर मस्को, लेनिनग्राड सहरका फोटोहरू र म्युजियममा राखिएका पेन्टिङ्ग, चर्च र दरबारहरूको रङ्गिन चित्रहरू स्लाइड प्रोजेक्टरबाट देखाउन थालिन् ।
उनले रुसी भाषामा बयान गरेका सबै कुराहरू मैले केटाकेटीहरूलाई आफ्नै नेपालभाषामा उल्था गरेर सुनाइदिन्थेँ । स्लाइड शोको बीचबीचमा भालेन्टिनाले केटाकेटीहरूलाई आफूले ल्याएको रुसी चक्लेट र मिठाइहरू पनि बाँडी दिन्थिन् । दिउँसो हामी काठमाडौँ गएर आफ्नो लागि जागीर खोज्न जान्थ्यौँ । बेलुकी घर फर्केपछि घरमा स्लाइड शो हुनेगथ्र्यो । हामी साँखुमै हुँदा दिउँसो भालेन्टिना हाम्रो घरको सामु रहेको इनारसँगै बसेर इलेक्ट्रिक वासिङ्ग मेसिनमा हाम्रो लुगा धुन बस्छिन् । सन् १९७६ मा साँखुमा बिजुली बत्ती आइसकेको थियो । तर, कसैले पनि साँखुमा विद्युतीय लुगा धुने मेसिन ल्याएको थिएन । त्यसकारण, भालेन्टिनाले वासिङ्ग मेसिनमा लुगा धुन बस्दा हाम्रो टोलका मात्र होइन साँखुभरका केटाकेटी र आइमाईहरू मेसिनमा लुगा धोएको हेर्न आउँथे ।
मेसिनमा धोइसकेका लुगाहरू भालेन्टिनाले हाम्रो घरसँगैको इनारको पर्खालमा निचोरेर राख्ने गर्थिन् । इनारको डीलमा साबुनले धोएको लुगा राखेको देखेपछि टोलका बुढाबुढीहरू भालेन्टिनालाई खानेपानी लिन इनारमा साबुनले छुवाउन हुँदैन भनेर कराउँथे र गाली गर्थे ।
भालेन्टिनालाई यस्तो कुरा थाहा नभएको कारण उनलाई किन गाली गरेको भनेर उनी मलाई सोध्ने गर्थिन् ।
म भन्थेँ, साबुनमा जनावरको बोसो हुने भएकोले यो पदार्थ धार्मिक हिसाबले अपवित्र मानिन्छ । त्यसकारण साबुनले धोएको लुगा इनारमा राख्नुहुन्न । तर, यस्तो कुरा उनी मान्दैनन् । उनको व्यवहारले गर्दा मेरो घरमा बुबा मुमालाई अप्ठेरो हुनेगथ्र्यो । यो कुरा बुझेरै म छिटोभन्दा छिटो कतै कुनै जागीर पाएर काठमाडौँ जान चाहन्थे ।
सोभियत सङ्घमा पढ्दै गर्दा भालेन्टिना मलाई भन्थिन्, “तिम्रो गाउँमा नदी नाला छन् कि छैनन् ।” म भन्थेँ, नदी त छ एउटा (शाली नदी) र स–साना दुई तीन वटा साँखुभन्दा माथि पनि नदीहरू छन् । उनी भन्थिन्, गाउँघर विकास गर्न नदीको धेरै महत्व हुन्छ । एक त खेतबारी सिँचाइ गर्न पानी चाहिन्छ । नदीको बहाव राम्रो छ भने बिजुली पनि निकाल्नुपर्छ । त्यसकारण, हामी साँखु फर्केपछि धेरैचोटि साँखुको माथि लप्सेफेदी हुँदै बाहुन पाटी, नाङ्गले भारे र मेलम्चीको मुनिसम्म घुम्न जान्थ्यौँ र नदी नालाको पानी हेथ्र्यौँ । तर, म इलेक्ट्रिकल इन्जिनियरिङ्गको विद्यार्थी नभएको हुनाले विद्युत् उत्पादनबारे मलाई खास ज्ञान थिएन । यद्यपि, मैले छ महिना इलेक्ट्रिकल इन्जिनियरिङ्गको विषय पनि पढेको थिएँ इन्जिनियरिङ्ग कोर्समा । भालेन्टिनाले पनि इलेक्ट्रिकल इन्जिनिरिङ्ग कोर्स पढेकी थिइन् ।
मलाई भन्दा उनलाई नदी नालाबाट जलविद्युत् उत्पादन गर्ने विषयमा बढी ज्ञान थियो । उनी भन्थिन्, शाली नदीको माथि एउटा सानो विद्युत् उत्पादन गर्न युनिट राख्न सकिन्छ । उनी यस विषयमा लगातार लाग्न थालिन् । काठमाडौँको विद्युत् विभागमा सोभियत सङ्घबाट पढेर फर्केका धेरै इलेक्ट्रिकल इन्जिनियर साथीहरू थिए । इन्जिनियर हर्षमान श्रेष्ठ, विजय उप्रेती, एलेना उप्रेतीसँग हाम्रो नजिकको मित्रता थियो । साँखुमा एउटा सानो जलविद्युत् राख्ने विषयमा भालेन्टिना उनीहरूसँग बरोबर कुरा गर्थिन् । तर, हामीलाई जलविद्युत् उत्पादन गर्नुभन्दा पनि आफूलाई जागिर पाउनु पहिलो समस्या थियो । त्यसकारण, मैले साँखुमा विद्युत् उत्पादन गर्ने कुरामा त्यति ध्यान दिन सकिनँ र त्यस कुरालाई मैले मनमा पनि राखिनँ ।
तर, कहिले कसले हो थाहा भएन त्यसबेला भालेन्टिनाले रुचाएको ठाउँमा साँखुभन्दा दुई किलो मिटर जति माथि लप्सीफेदीमा साँच्चिकै एउटा सानो जलविद्युत् उत्पादन केन्द्र राखिसकेको रहेछ । अहिलेसम्म त्यहाँ स्थानीय गाउँ घरको लागि जलविद्युत् उत्पादन हुँदै छ ।
भालेन्टिनाले जलविद्युत् साँखुमा मात्र होइन नेपालमा बृहत्रूपमा उत्पादन गर्नुपर्छ भन्ने तर्क गर्थिन् । विद्युत् शक्तिको अभावमा कुनै पनि देश विकास हुनसक्दैन भन्ने कुरा सोभियत सङ्घमा उनीहरूलाई बच्चैदेखि सिकाउँदो रहेछ । सोभियत सङ्घमा सन् १९१७ मा महान् अक्टोबर समाजवादी क्रान्ति सफलतापूर्वक सम्पन्न भएपछि उक्त क्रान्तिका महान व्यक्तित्व भ्लादिमीर लेनिनले आफ्नो भाषणमा भन्थे, समाजवादी क्रान्ति त भयो तर देशमा समाजवाद स्थापना गर्न सबभन्दा पहिले शिक्षा र देशमा विद्युुतीकरण हुनुपर्छ । विद्युतीकरणविना समाजवाद स्थापना हुनसक्दैन । तत्कालीन सोभियत सङ्घमा भ्लादिमीर लेनिनबारे र यही कुरा सोभियत सङ्घको प्रत्येक स्कूल या प्रत्येक शिक्षण संस्थामा पढाइन्थ्यो । यसकारण, सोभियत सङ्घ स्थापना भएपछि देशमा धेरै ठूलो जलविद्युत् आयोजना निर्माण गरियो र लेनिनको सन्देश सोभियत सङ्घभरि प्रचारप्रसार गरियो ।
“सोभियत रुसमा देशव्यापी विद्युतीकरण भयो । सोभियत सङ्घ निर्माण हुनुपूर्व रुस एक कृषिप्रधान देश थियो । विज्ञान तथा प्रविधि र उद्योगीकरणमा युरोप र पश्चिम देशहरूभन्दा धेरै पछि परेको थियो । त्यसमाथि प्रथम विश्व युद्धले रुसको अर्थतन्त्रलाई तहसनहस तुल्याएको थियो । यसले गर्दा रुसमा जार शासकहरूलाई सत्ताच्युत गरे पनि देशमा ठूलो आर्थिक मन्दी र देशभित्रका राजनीतिक पार्टीहरूबीच झै–झगडा भइरहेको थियो ।
जनतालाई गाँस, बास, कपास र शान्ति दिलाई समाजवाद स्थापना गर्न सङ्घर्ष गरी हिँडेका लेनिनले अन्ततः सन् १९१७, नोभेम्बर ७ मा महान् अक्टोबर क्रान्ति सफलतापूर्वक सम्पन्न गरे । आफ्नो राजनीतिक लक्ष्य पूरा भएपछि भ्लादिमीर लेनिनले देशलाई समाजवादको बाटोमा लान सबभन्दा पहिले जनतालाई शिक्षित बनाउनुपर्ने, गरिबीबाट उन्मुक्ति दिलाउनुपर्ने र गरिब किसानहरूको पिछडिएको अवस्थाबाट देशलाई एक शक्तिशाली औद्योगिक राष्ट्र बनाउन देशका युवा विद्यार्थीलाई सन्देश दिए ।
त्यसकारण, लेनिनको योजनाअनुसार देशमा सम्पूर्ण जनतालाई निःशुल्क शिक्षा प्रदान गर्ने र देशमा छिटोभन्दा छिटो विद्युत् शक्ति उत्पादन गर्नुपर्ने कुरा भालेन्टिनाले मलाई भन्ने गर्थिन् । हो, नेपाल विकास गर्न सबभन्दा पहिले प्रचुर मात्रामा पाइने जलश्रोत उपयोग गरी विद्युत् शक्ति उत्पादन गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *